‘ब्याजदर मात्र होइन, लगानीको वातावरण र पुँजी परिचालन मुख्य चुनौती’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि प्रतिनिधि सभा अन्तरगत अर्थ समितिलाई सुझाव दिँदै अर्थतन्त्रको वर्तमान चुनौती ब्याजदर मात्र नभई लगानीको माग र पुँजी परिचालन रहेकोले त्यसलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउनु पर्ने सुझाव दिएको छ ।  सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा महासंघको सुझाव पेश गर्दै महासंघका  अध्यक्ष  अन्जन श्रेष्ठले सो धारणा राखेका हुन् । उनले अर्थतन्त्रका बाह्य आर्थिक सूचकहरू सबल रहेपनि आन्तरिक अर्थतन्त्र अझै शिथिल रहेको तर्फ ध्यानाकर्षण गराउँदै मौद्रिक नीतिले निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिए । हाल विदेशी मुद्रा सञ्चिती ३८.३ प्रतिशतले बढेर १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको, शोधनान्तर स्थिति ८६३ अर्ब रुपैयाँले बचतमा भए पनि कर्जाको मागमा संकुचन देखिएको र बैंकिङ प्रणालीमा १४ खर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य रकम (तरलता) थुप्रिएको तर निजी क्षेत्रको कर्जा प्रवाह ७.३ प्रतिशतबाट घटेर ५.७ प्रतिशतमा खुम्चिएको अध्यक्ष श्रेष्ठले बताए । ‘अहिलेको मुख्य समस्या ब्याजदरको कमी होइन, बरु बैंकहरूको कर्जा प्रवाह गर्ने क्षमता सीमित हुनु हो । धेरै बैंकहरूको कोर क्यापिटल अनुपात न्यून सीमामा पुगेकाले राष्ट्र बैंकले पुँजी पर्याप्तता र प्रोभिजनिङ व्यवस्थामा लचकता अपनाउनु पर्दछ,’ उनले भने । महासंघले निष्क्रिय सम्पत्ति व्यवस्थापन, चालु पुँजी कर्जा, कर्जा पुनर्संरचना र वर्गीकरण, उत्पादनमूलक क्षेत्रलाई सहुलियत र डिजिटल बैंकिङ र भुक्तानीका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेको छ ।

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनुभव श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।  साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले एनवाईईएफलाई केवल व्यवसायिक नेटवर्किङमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर र अपनत्व महसुस गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। श्रेष्ठले आफ्नो व्यक्तिगत तथा व्यावसायिक यात्रामा एनवाईईएफले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अब संस्थालाई नेपालको युवा उद्यमशीलताको भविष्य निर्माण गर्ने अग्रणी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए ।  उनका अनुसार उद्यमशीलता केवल व्यवसाय सञ्चालनको माध्यम मात्र नभई रोजगारी सिर्जना, नवप्रवर्तन प्रवद्र्धन, सामाजिक समस्या समाधान र दीर्घकालीन आर्थिक समृद्धिको प्रमुख आधार हो । उनले पछिल्ला वर्षहरूमा व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीका बाबजुद नेपाली उद्यमीहरूले देखाएको धैर्यता र दृढताको प्रशंसा गर्दै आर्थिक संक्रमणका बेला नयाँ सोच, नवप्रवर्तन र दूरदर्शी नेतृत्वको आवश्यकता अझ बढी हुने बताए ।  साथै युवा उद्यमीहरूलाई परिवर्तनका संवाहक र नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नवप्रवर्तन, रोजगारी सिर्जना र निजी क्षेत्रको विस्तारमार्फत नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।  उनले युवा उद्यमीमैत्री वातावरण निर्माणका लागि नीति निर्माता र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे । त्यसैगरी, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली युवाको सिर्जनशीलता, प्रविधिमैत्री सोच, विश्वव्यापी दृष्टिकोण र जोखिम उठाउने क्षमता नेपालको आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण पूँजी भएको बताए ।  उनले एनवाईईएफसँग उद्यमशीलता, नवप्रवर्तन, वित्तीय पहुँच, मार्गदर्शन र व्यवसायिक सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । साधारण सभामा उद्यमशीलता विकास, स्टार्टअप प्रवद्र्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष अनुभव श्रेष्ठ, प्रथम उपाध्यक्ष सन्दीप शर्मा, द्वितीय उपाध्यक्ष सौरभ श्रेष्ठ तथा निवर्तमान अध्यक्ष अप्पा शेर्पासहित सायन प्रजापति, सन्तोष पाण्डे, आश्लेषा कार्की, छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान सदस्य रहेका छन् । नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा युवा उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तनको विकास, जिम्मेवार व्यवसायिक नेतृत्वको विस्तार तथा देशभरका युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्ने लक्ष्यका साथ सक्रिय रूपमा काम गर्ने जनाएको छ ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, नेपाली सेनाबाट परीक्षण उत्पादन

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ । उद्योग सञ्चालनको प्रारम्भिक चरणअन्तर्गत नेपाली सेनामार्फत परीक्षण उत्पादनको काम भइरहेको सरकारको भनाइ छ । सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार सरकारको निर्णयसँगै अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत निकासा भइसकेको छ । सरकारले २०८३ असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसयता उद्योगको उत्पादन क्षमता परीक्षण गर्ने कार्य अघि बढाइएको र सञ्चालनको आधार तयार पारिएको सचिव राउतले बताए । त्यसैगरी, बन्द तथा रुग्ण अवस्थामा रहेका सात सरकारी उद्योगको सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (ड्यु डिलिजेन्स) भइरहेको उनले जानकारी दिए। उक्त प्रतिवेदन आएपछि ती उद्योग सञ्चालन गर्ने मोडालिटी सरकारले तय गर्ने उनको भनाइ छ । यसैबीच, मन्त्रिपरिषद्ले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका चुनढुङ्गा तथा रातो माटो खानीको म्याद सकिएको लाइसेन्स नवीकरण गर्ने निर्णयसमेत गरिसकेको सचिव राउतले बताए । यस निर्णयले उद्योग सञ्चालनलाई सहज बनाउने विश्वास गरिएको छ । सरकारले बन्द उद्योगहरू पुनर्जीवित गर्दै स्वदेशी उत्पादन र रोजगारी विस्तार गर्ने लक्ष्यका साथ आवश्यक नीतिगत तथा प्रशासनिक प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।