विश्व हिन्दु इकोनोमिक फोरम- २०२७ मार्फत नेपालमा विदेशी लगानी भित्राउने तयारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र विश्व हिन्दू आर्थिक मञ्च (डब्लुएचईएफ) बीच नेपालमा सन् २०२७ मा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व हिन्दु इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष सुरज वैद्यले बुधबार महासंघमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे । समझदारीअनुसार नेपाललाई विश्वस्तरीय लगानी, नवप्रवर्तन तथा उद्यमशीलताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने, सातै प्रदेशका लगानीयोग्य सार्वजनिक–निजी परियोजनाको पहिचान तथा प्रवर्द्धन गर्ने, वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने तथा आर्थिक कूटनीतिलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले यस सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय लगानी, व्यापार तथा व्यावसायिक साझेदारीको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सन् २०२७ मा नेपालमा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन र आगामी लगानी सम्मेलनको सफलताका लागि यो सहकार्य महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै सम्मेलनअघि नेपालभित्र तथा विदेशमा संयुक्त प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी ठोस लगानी प्रतिबद्धता जुटाइने बताए । ‘नेपालसँग प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा रणनीतिक भौगोलिक अवस्थिति जस्ता विशिष्ट सम्भावनाहरू रहेका छन् । ती सम्भावनालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ । यस समझारीले नेपालका ती सम्भावनाहरूबाट लाभ लिन सहयोग पुग्ने मेरा विश्वास छ,’ अध्यक्ष श्रेष्ठले भने । विश्व हिन्दु इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले सम्मेलनले वैदेशिक लगानी आकर्षित गर्न, युवा उद्यमशीलताको प्रवर्द्धन गर्न तथा नेपालको आर्थिक विकासलाई नयाँ गति दिन सहयोग पुग्ने बताए । त्यस्तै, विश्व हिन्दु इकोनोमिक फोरमका संरक्षक स्वामी विज्ञान आनन्दले नेपाल अथाह सम्भावना भएको मुलुक भएको उल्लेख गर्दै सम्मेलनका माध्यमबाट नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाहरूको खोजी गर्न सकिने बताए । त्यसैगरी, महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले यस फोरमका माध्यमबाट देशभरका उद्योगी–व्यवसायी, प्रदेश तथा जिल्ला तहका सदस्य संस्थालाई परिचालन गर्ने, लगानीयोग्य परियोजनाको पहिचानमा सहकार्य गर्ने, सरकार र निजी क्षेत्रबीच संवाद तथा नीतिगत सहजीकरणमा भूमिका निर्वाह गर्ने धारणा राखे । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जिल्लानगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, विश्व हिन्दु इकोनोमिक फोरम नेपालका अध्यक्ष प्रदीपमान वैद्य लगायतले यस अन्तर्राष्ट्रिय सञ्जाल मार्फत विश्वका लगानीकर्ता, उद्योगी, व्यवसायी तथा नीति निर्मातालाई नेपालमा ल्याउन सकिने र यसबाट नेपालमा बाह्य लगानी प्रर्वद्धन गर्नमा सहयोग पुग्ने बताएका थिए । समझदारीपत्रअनुसार फोरममार्फत पर्यटन तथा आतिथ्य, आध्यात्मिक तथा वेलनेस पर्यटन, पूर्वाधार तथा यातायात, शिक्षा तथा सीप विकास, कृषि तथा जडीबुटी प्रशोधन, ऊर्जा, सूचना प्रविधि तथा खानी तथा खनिजजस्ता प्राथमिकताका क्षेत्रमा लगानी प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।
वाइवाइ चाउचाउ र रियो बेच्ने सीजी फुड्सको आम्दानी ११.३५ अर्ब, लाभांश १ सय प्रतिशत
काठमाडौं । चौधरी समूहअन्तर्गत सञ्चालित सी.जी. फुड्स (नेपाल) लिमिटेडको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा घटेको छ । कम्पनीले उक्त वर्ष ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.७२ प्रतिशत अर्थात् ३१ करोड ८० लाख रुपैयाँ कम हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण देखिएको छ । कम्पनीले आव २०७९/८० मा १२ अर्ब ५१ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा ७ अर्ब ७७ करोड रुपैयाँ, आव २०७६/७७ मा ८ अर्ब १० करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ, आव २०७४/७५ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँ, आव २०७३/७४ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ, आव २०७२/७१ मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ, आव २०७१/७२ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । चौधरी समूह अन्तर्गतको सबैभन्दा पुरानो औद्योगिक एकाइमध्ये एक मानिने सीजी फुड्सले इन्स्ट्यान्ट चाउचाउ, पेय पदार्थ, एक्स्ट्रुडेड स्न्याक्स लगायतका एफएमसीजी उत्पादन निर्माण तथा बिक्री गर्दै आएको छ । कम्पनीले सन् १९८४ मा काठमाडौंस्थित आफ्नो पहिलो उद्योगमार्फत व्यावसायिक उत्पादन सुरु गरेको थियो । उक्त उद्योग थाइल्याण्डको थाई प्रिजर्भ्ड फुड फ्याक्ट्रीसँगको प्राविधिक सहकार्यमा सञ्चालनमा ल्याइएको थियो । सीजी फुड्सले ‘वाइवाइ’ जस्तो चर्चित नुडल्स ब्रान्डसँगै ‘रियो’ र ‘क्विक्स’ लगायतका ब्रान्डमार्फत आफ्ना उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ । तीमध्ये ‘वाइवाइ’ कम्पनीको प्रमुख र पहिचान बोकेको ब्रान्ड हो । पछिल्ला वर्षहरूमा पिरो स्वादका नुडल्स उत्पादन गर्ने नयाँ ब्रान्डहरूको प्रभाव बढ्दै गए पनि ‘वाइवाइ’ को बजार पहिचान र उपभोक्ता स्वीकृति बलियो रहेको कम्पनीको दाबी छ । कम्पनीको सेयर स्वामित्व संरचनाअनुसार निर्वाण चौधरीको करिब ७६ प्रतिशत हिस्सा छ । त्यसैगरी, अपोलो इन्भेस्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको करिब ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीका अनुसार मुख्य कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय कमोडिटी बजारको उतारचढाव, आपूर्ति-मागको अवस्था, भूराजनीतिक घटनाक्रम तथा विदेशी विनिमय दरमा हुने परिवर्तनका कारण अस्थिर रहने भएकाले नाफा मार्जिनमा प्रत्यक्ष प्रभाव परेको छ । यही कारणले कम्पनीको नाफा मार्जिन गत आर्थिक वर्ष ६.६ प्रतिशतमा झरेको छ, जबकि अघिल्लो वर्ष यो १२.१ प्रतिशत थियो । यद्यपि, चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन सुधार भएर ११.२ प्रतिशत पुगेको जनाएको छ । कम्पनीका अनुसार यो सुधारमा निर्यात बिक्रीको हिस्सा बढ्नु र गहुँको पिठोको मूल्य केही घट्नुले सहयोग पुगेको हो । सीजी फुड्सले पछिल्ला वर्षहरूमा उच्च अनुपातमा लाभांश वितरण गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्ष खुद नाफाको करिब ९२ प्रतिशत लाभांश वितरण गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो अनुपात १०० प्रतिशत पुगेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९९ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।
अनियमित विद्युत आपूर्तिले उद्योगलाई करोडौंको क्षति, समाधान गर्न उद्योगीको माग
काठमाडौं । मोरङ उद्योग व्यापार संघले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, पटक–पटकको ट्रिपिङ र अनियमित विद्युत आपूर्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले वर्षायाममा समेत उद्योगहरूले विद्युत समस्याबाट मुक्ति नपाएको भन्दै तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा कुनै पूर्वसूचना बिना दैनिक रूपमा हुने ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण उद्योग सञ्चालनमा गम्भीर असर परेको उल्लेख गरेको छ । विद्युत आपूर्तिमा सुधार भएको दाबी गरिए पनि उद्योगहरूले दैनिक घण्टौंसम्म अनिश्चितता भोग्नुपरेको संघको भनाइ छ । संघका अनुसार अनियमित विद्युत आपूर्तिका कारण उद्योगमा जडान गरिएका करोडौं रुपैयाँ मूल्यका मेसिन, पार्टपुर्जा, विद्युतीय प्यानल तथा सफ्टवेयर प्रणालीमा क्षति पुगिरहेको छ । यसले उद्योगीहरूलाई मर्मतसम्भारमा ठूलो आर्थिक भार थपिएको जनाएको छ । प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगमा उत्पादन प्रक्रियाकै बीचमा विद्युत अवरुद्ध हुँदा मेसिनभित्र कच्चा पदार्थ जम्ने, डढ्ने र उत्पादन नै नष्ट हुने अवस्था सिर्जना भएको संघले जनाएको छ । यस्तै, विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्योगमा कार्यरत हजारौं श्रमिक कामविहीन बस्नुपर्ने, तर उद्योगले तलब तथा सञ्चालन खर्च भने व्यहोर्नुपर्ने बाध्यता रहेको संघले उल्लेख गरेको छ । उत्पादनमा ढिलाइ हुँदा बजारमा सामान अभाव हुने, मागअनुसार आपूर्ति गर्न नसक्दा उद्योगको विश्वसनीयता घट्ने र आयातित वस्तुले बजार ओगट्ने जोखिम बढेको संघको भनाइ छ । देशको अर्थतन्त्रको मेरुदण्ड मानिने औद्योगिक क्षेत्रलाई बिना योजना र पूर्वसूचना अन्धकारमा राखिनु दुःखद भएको उल्लेख गर्दै संघले नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग अघोषित लोडसेडिङ र ट्रिपिङको समस्या तत्काल अन्त्य गर्न माग गरेको छ । साथै, प्राविधिक कारणले विद्युत आपूर्ति बन्द गर्नुपर्ने अवस्था आएमा उद्योग तथा संघलाई अनिवार्य रूपमा पूर्वसूचना उपलब्ध गराउन र स्वदेशी उद्योगको संरक्षणका लागि संवेदनशील भएर काम गर्न पनि संघले आग्रह गरेको छ ।