प्यजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ आयोजना

काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको प्यजो मोटरसाइकल्स नेपालले काठमाडौंस्थित ‘ला टेरास’ मा ‘सोइरे फ्राँसेज – अ नाइट अफ फ्रेन्च एलिगेन्स’ शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम आयोजना गरेको छ ।  फ्रान्सको समृद्ध सांस्कृतिक विरासत र प्रेरणादायी भावनालाई सम्मान गर्दै आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजित उक्त विशेष साँझमा प्यजोका विशिष्ट ग्राहक, व्यावसायिक साझेदार तथा फ्रान्सेली संस्कृतिप्रेमी अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो । विशेषगरी सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सेली टोलीले प्रदर्शन गरेको समर्पण, दृढता, उत्कृष्टता र एकताको भावनाबाट प्रेरित यस कार्यक्रमले खेलको नतिजाभन्दा माथि उठेर फ्रान्सेली खेल संस्कृतिको अदम्य भावना र विरासतलाई सम्मान गरेको थियो, जुन मूल्यहरू प्यजो ब्रान्डको दीर्घकालीन पहिचानसँग समेत मेल खान्छन् ।  कार्यक्रममा सहभागी अतिथिहरूले विभिन्न फ्रेन्च परिकार, पेरिसबाट प्रेरित आकर्षक सजावट र आत्मीय वातावरणमा नेटवर्किङको अनुभव लिएका थिए । यस अवसरमा प्यजो मोटरसाइकल्स नेपालका प्रतिनिधिहरूले गुणस्तरीय गतिशीलता (मोबिलिटी) समाधानका साथै ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको जीवनशैली अनुभव प्रदान गर्ने र प्यजोको विश्वव्यापी मूल्य तथा परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  फ्रान्सेली संस्कृति, मित्रता र उत्कृष्टताको साझा भावनाप्रति सम्मान व्यक्त गर्दै टोस्टसँगै समापन भएको यस कार्यक्रमले प्यजो मोटरसाइकल्सले आफ्ना ग्राहकसँग कायम राख्दै आएको प्रिमियम सम्बन्धलाई थप मजबुत बनाएको छ ।

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन, विदेशमा प्रतिकेजी एक लाखसम्ममा बिक्री

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो । उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिए ।  इलाम नगरपालिका–४ जस्बिरे गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने हरियोपत्ती र उद्योगको ६० रोपनी तथा भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने हरियोपत्ती प्रशोधन भइरहेको उनले बताए । ‘वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन भइरहेको थियो । यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पुर्‍याउने तयारी छ’, सञ्चालक सुब्बाले भने, ‘दुई वर्षअघि भएको आगलागीमा रु आठ करोड बराबरको क्षति बेहोरेर फेरि शून्यबाट यात्रा सुरु गरेका हौँ ।’ एक दशकअघि १४ लाखको लगानीबाट सुरु गरिएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले आठ करोडको लगानीमा विस्तार भएको छ । उद्योगको सबैभन्दा ठूलो विशेषता ‘स्पेशल टी’ हो । वार्षिक सात हजार केजी उत्पादन हुने यो चियामध्ये करिब दुई हजार केजी सुइरोबाट मात्र तयार गरिन्छ । उद्योगले प्रतिकेजी १५ हजारमा बिक्री गर्ने यही चिया विदेशी बजारमा एक लाखसम्ममा पुग्ने उद्योगका अर्का सञ्चालक शरद सुब्बाले बताए । ‘नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्यान्ड्स, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले बजार बनाएको छ ।’ शरदले भने, ‘विदेशमा पुगेपछि हामीले १५ हजार रुपैयाँ प्रतिकेजी बेचेको चिया एक लाखसम्ममा बिक्री भएको छ ।’ उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको भूमिका छ । ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद सुब्बाले चियाको गुणस्तर सम्हालिरहेका छन् भने अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जिम्मेवारी पाएका छन् । २०४२ मा स्वर्गीय भैरव रिसालले सुरु गराएको चियाखेती विस्तारको अभियान आज फैलिरहेको हो । रिसालले यहाँ आउँदा आलुखेती मात्र होइन, चिया रोप्न पनि सिकाएका थिए । त्यतिखेर चियाखेतीबारे ज्ञान आर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन । तर, अहिले उनका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको हो । सूर्यका चार भाइ छोरा छन् । त्यसमध्येका जेठो र माइलो शरद र गृष्मले १० वर्षअघि जम्मा १४ लाख लगानीमा उद्योग सुरु गरेका थिए । गृष्मले उद्योगको बजार व्यवस्थापन गर्छन् । शरद नेपालकै ‘बेस्ट टी मेकर’ हुन् । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरदले बनाउँछन् ।  साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । कान्छा छोरा विकल्प अस्ट्रेलियामा मार्केटिङ अध्ययनरत छन् । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएका हुन् । उनको काम विदेशी पाहुनालाई चियाका बारेमा जानकारी दिनु हो । यहाँ सुनकेसरी, रेड पान्डा, कोठीडाँडा ब्यूटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । एक वर्षमा ‘स्पेशल टी’ मात्र सात हजार केजी उत्पादन हुन्छ । रासस

जास्मिन पेन्ट्सको आम्दानी साढे ८७ करोड, १० करोडको आईपीओ ल्याउँदै

काठमाडौं । जास्मिन पेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ८७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ ।  कम्पनीका अनुसार यो आम्दानी वार्षिक आधारमा करिब ४० प्रतिशतले बढेको हो । साथै पछिल्ला छ वर्षयताकै उच्च सञ्चालन आम्दानी भएको कम्पनीको दाबी छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ८३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २३.३३ प्रतिशत अर्थात १५ करोड ८० लाख रुपैयाँ बढी हो । अघिल्लो आव २०८०/८१ मा कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  यसअघि कम्पनीले आव २०७९/८० मा ६२ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ७४ करोड ६० लाख रुपैयाँ, आव २०७७/७८ मा ६५ करोड ५० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो ।  देशभर विस्तार हुँदै गएको रिटेलर तथा वितरक (डिलर) सञ्जालका कारण कम्पनीले निरन्तर व्यापार वृद्धि हासिल गरेको जनाएको छ । पछिल्ला चार आर्थिक वर्षमा कुल बिक्रीमध्ये शीर्ष १० डिलरको हिस्सा करिब १३ देखि १५ प्रतिशत मात्रै रहेको छ ।  यद्यपि सञ्चालन नाफा मार्जिन भने केही खुम्चिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २१ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आर्थिक वर्षको ९ महिनामा १७ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । सन् १९९४ मा स्थापना भएको जास्मिन पेन्ट्सले चितवनको भरतपुरस्थित उद्योगबाट वार्षिक १८ हजार ३४१ मेट्रिक टन उत्पादन क्षमता रहेको प्लान्टबाट इन्टेरियर, एक्स्टेरियर, मेटल तथा वुड तथा वाटरप्रुफ पेन्ट उत्पादन गर्दै आएको छ । अप्रिल २०२६ सम्म कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्ने तयारी गरेको छ । यसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको कम्पनीले जनाएको छ । जास्मिन पेन्ट्समा मुख्य रूपमा अर्याल परिवारको लगानी रहेको छ । कम्पनीमा मधुसुधन अर्यालको ३४ प्रतिशत, लक्ष्मणप्रसाद अर्यालको २५ प्रतिशत, अनुराधा शर्मा अर्यालको १५ प्रतिशत, सौगत अर्यालको १३ प्रतिशत तथा सङ्गीता अर्यालको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्षको जिम्मेवारी सङ्गीता अर्यालले सम्हालिरहेकी छन् ।  कम्पनीका अनुसार मूल्य प्राप्तिमा सुधार, ऋणभारमा कमी, अनुकूल ब्याजदर तथा लाभांश वितरणपछि पनि सकारात्मक नगद प्रवाह कायम रहेकाले वित्तीय अवस्था थप सुदृढ बनेको छ  ।  लगातारको नाफा र राइट्स सेयर निष्कासनले कम्पनीको पुँजी आधार मजबुत भएको तथा प्रस्तावित आईपीओपछि पुँजी संरचना अझ सुदृढ हुने कम्पनीको विश्वास छ ।  यद्यपि उच्च मौज्दात र उठ्न बाँकी रकमका कारण कार्यशील पुँजीको आवश्यकता अझै उच्च रहे पनि अघिल्लो वर्षको तुलनामा यसमा सुधार आएको कम्पनीले जनाएको छ ।