हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, नेपाली सेनाबाट परीक्षण उत्पादन

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ । उद्योग सञ्चालनको प्रारम्भिक चरणअन्तर्गत नेपाली सेनामार्फत परीक्षण उत्पादनको काम भइरहेको सरकारको भनाइ छ ।

सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

उनका अनुसार सरकारको निर्णयसँगै अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत निकासा भइसकेको छ ।

सरकारले २०८३ असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसयता उद्योगको उत्पादन क्षमता परीक्षण गर्ने कार्य अघि बढाइएको र सञ्चालनको आधार तयार पारिएको सचिव राउतले बताए ।

त्यसैगरी, बन्द तथा रुग्ण अवस्थामा रहेका सात सरकारी उद्योगको सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (ड्यु डिलिजेन्स) भइरहेको उनले जानकारी दिए। उक्त प्रतिवेदन आएपछि ती उद्योग सञ्चालन गर्ने मोडालिटी सरकारले तय गर्ने उनको भनाइ छ ।

यसैबीच, मन्त्रिपरिषद्ले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका चुनढुङ्गा तथा रातो माटो खानीको म्याद सकिएको लाइसेन्स नवीकरण गर्ने निर्णयसमेत गरिसकेको सचिव राउतले बताए । यस निर्णयले उद्योग सञ्चालनलाई सहज बनाउने विश्वास गरिएको छ ।

सरकारले बन्द उद्योगहरू पुनर्जीवित गर्दै स्वदेशी उत्पादन र रोजगारी विस्तार गर्ने लक्ष्यका साथ आवश्यक नीतिगत तथा प्रशासनिक प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

Share News