अटो उद्योगलाई प्रतिस्पर्धी बनाउन नीतिगत स्थिरतामा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ आयोजना गरेको छ ।

‘सीईओ फोरम : इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा’ शीर्षकमा आयोजित कार्यक्रममा युवा व्यवसायी, उद्योगी तथा नीतिविज्ञहरूले अटोमोबाइल क्षेत्रको विकास, नीतिगत सुधार र लगानी वातावरणका विषयमा छलफल गरेका हुन् ।

फोरममा सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा) र सिमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ (बीवाईडी) प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए ।

कार्यक्रमको सुरुवातमा सीएनआईवाइईएफकी नेटवर्क एन्ड कम्युनिकेशन सभापति साइनी खेतानले कार्यक्रमको उद्देश्य र रूपरेखाबारे जानकारी दिएकी थिइन् ।

छलफलका क्रममा नेपालको अटोमोबाइल उद्योगले भोगिरहेका नीतिगत तथा कानुनी चुनौती, औद्योगिक विकासका अवरोध, प्रविधिको प्रयोग, बजारको बदलिँदो प्रवृत्ति र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूले धारणा राखेका थिए ।

खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि तथा सेवा क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र लगानीमैत्री वातावरणका विषयमा प्यानलिस्टसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमको समापनमा सहजकर्ता साकेत संघाईले प्यानलिस्टहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । सीएनआईवाइईएफले यस्ता संवादमार्फत उद्योग–व्यवसायसँग सम्बन्धित नीतिगत बहसलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

Share News