पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको निर्णयानुसार बुधबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । निगमका अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँले, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले र एल.पी. ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।
कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर (प्यान) र प्रमाणपत्र सेवाग्राहीले सोझै डाउनलोड गरी प्रिन्ट गर्ने व्यवस्था सञ्चालनमा ल्याइएको छ । कार्यालयका सूचना अधिकारी रामप्रसाद ज्ञवालीले आज सार्वजनिक सूचना जारी गरेर कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्ने समझदारीपत्रमा हस्ताक्षर भए बमोजिम ‘केमिस’ प्रणाली सोमबारदेखि लाइभ भइसकेको बताए । उनले कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र कार्यालयको केमिस प्रणालीमार्फत सेवाग्राहीले सोझै डाउनलोड गरी प्रिन्ट गर्न सक्ने बताए । दुवै कार्यालयबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्नेसम्बन्धी समझदारी पत्रमा विसं २०८३ वैशाख ३१ गते हस्ताक्षर भएको थियो ।
भाडा नतिर्ने उद्योगको लाइन काटियो
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । मन्त्री यादवले लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् । उक्त निर्देशनपछि हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै केहि उद्योगहरुले भाडा तिर्न बाँकी राखेका थिए । केही दिन अगाडि करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सुचनानै प्रकशित गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन् । बाँकी उद्योगको बिजुली काटियो मन्त्री यादवले तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएसँगै लिमिटेडले कडा कदम चालेको छ । सुरुमै झन्डै २ सय बढी उघोगको लाइन काटिएको थियो।ति उधोगहरुके धमाधम भाडा तिरेपछि लाइन जोडिएको छ । अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए । मन्त्री यादवले उक्त उधोगहरुको बक्यौता पूर्ण रुपमा चुक्ता नहुदा सम्म लाइन नाजोड़ने स्पष्ट निर्देशन दिएको लिमिटेडले बताएको छ । बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.को करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा.लि.को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ । हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ ।