इसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीपकाे सम्झौता

काठमाडाैं । इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको छ । बुधबार पोखरामा एक कार्यक्रमकाबीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे । सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रवर्धनमा सघाउनेछ । बुधबार भएको कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरी प्रशाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु¥याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताए । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।

२१ सय माउन्टेन गाइडले पहिलो पटक सरकारी लाइसेन्स पाउने

काठमाडौं । पर्वतीय पथ प्रदर्शक क्षेत्रमा लामो समयदेखि कार्यरत माउन्टेन गाइडलाई सरकारले पहिलो पटक लाइसेन्स वितरण गर्ने भएको छ । यसअघि नै विभिन्न निकायबाट लाइसेन्स लिएका पर्यटक गाइडलाई पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ को लाइसेन्स वितरण शुरु गर्न लागेकोे हो । लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेर अन्य निकायबाट लाइसेन्स पाएका २१ सयबढी गाइडले पहिलो पटक सरकारले दिएको इजाजत (लाइसेन्स) लिन पाउँने भएका हुन । नेपाल पर्वतारोहण संघ (एनएमए) बाट रातो किताब लिएका तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट तह चार को माउन्टेन गाइडको प्रमाणपत्र पाएकाले सरकारी लाइसेन्सका लागि अनलाइन आबेदन दिन सक्नेछन् । विभागले यसअघि प्रमाणपत्र पाएका गाइडलाई लाइसेन्स लिनका लागि चैत १ गतेबाट अनलाईन फर्म खुला गरेको हो । पहिलो पटक जारी गर्न लागेको उक्त इजाजतको अबधि पाँच वर्षको रहनेछ । यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट तह चार को माउन्टेन गाइड प्रमाणपत्र लिने ११ जना र नेपाल पर्वतारोहण संघबाट रातो किताब पाएका दुई हजार ९४ जना गरी २१ सय पाँच जनाले पहिलो पटक लाइसेन्स प्राप्त गर्नेछन् । गत वर्षबाट मात्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले सीप परिक्षण गरी तह चारको माउन्टेन गाइण प्रमाणपत्र दिन शुरु गरेको हो । सीप परिक्षणबाट ११ जनाले तह चारको प्रमाणपत्र पाएका हुन् ।

दुई हिमाल आरोहणको अनुमति, आरोहीको भिसामा सहजीकरण

काठमाडौं । गत वर्ष कोरोनाका कारण रोकिएको बसन्त यामको हिमाल आरोहण यस वर्ष शुरु भएको छ । हिमाल आरोहणको अनुमति पाएको पर्यटन विभागले आरोहणको मुख्य सिजनका रुपमा मानिने बसन्त ऋतुका लागि दुई हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ । विभागले यस सिजनका लागि गोरखा जिल्लामा पर्ने ८ हजार १६३ मिटर उचाईमा रहेको मनास्लु र सोलुखुम्बुमा पर्ने ७ हजार ८६४ मिटर उचाईमा रहेको नुप्से हिमाल आरोहणका लागि ५ आरोहीलाई आरोहण अनुमति दिईएको जनाएको छ । विभाग अन्तरगतको पर्वतारोहण शाखाका अनुसार मनास्लु आरोहणका लागि एक जना र नुप्से आरोहणका लागि एक समूहका ४ आरोहीलाई आरोहण अनुमति दिईएको छ । दुई हिमाल आरोहणको अनुमति जारी गरेको विभागले सगरमाथा लगायत अन्य हिमाल आरोहणको अनुमति जारी प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । सगरमाथा आरोहणका लागि बहराइका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोली आएसगैँ अन्य आरोहीहरु आउने अपेक्षा गरिएको विभागका अधिकारीहरु बताउँछन् । आरोहीको भिसामा सहजीकरण विभागले हिमाल आरोहणका लागि आउने विदेशी आरोहीलाई भिषामा सहजीकरण गर्ने गरेको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्य बताउँछिन् । उनका अनुसार आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएका छन् । नेपाली दुतावास नभएका देशका आरोहीहरुले भिसा सहजीकरणका लागि विभागमा निवेदन दिने गरेका छन् । कोरोनाका कारण देखाउँदै सरकारले विदेशी पर्यटकलाई नेपाल प्रवेशमा विभिन्न प्रावधान राखेका कारण पर्यटकीय गतिविधि पूरानै रुपमा सञ्चालन हुन सकेका छैनन् । पर्यटन व्यवसायीहरुले हिमाल आरोहणको सिजन सुरु भएको भन्दै क्वारेन्टिन बस्नुपर्ने लगायतका प्रावधानहरु खुकुलो बनाउँन आग्रह गर्दै आएका छन् । व्यवसायीको आग्रह अनुसार सरकारले विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सहजीकरण गर्ने जनाएको छ । मन्त्रालयले विदेशी पर्यटकका लागि नेपाल प्रवेशमा अनअराइभल भिसाको व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको जनाएको छ । सरकारले चार अंग्रेजी सिजनलाई तीन भागमा विभाजन गरेर हिमाल आरोहणको शुल्क लिदै आएको छ । जसमा स्प्रिन्ङ सिजनमा (बसन्त ऋतु) सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, अटममा त्यस्को ५० प्रतिशत अर्थात ५ हजार ५ सय र विन्टर र समरमा अटम सिनको आधा अर्थात २७ सय ५० डलर तोकिएको छ । आरोहीले विन्टर र समर सिजनमा सगरमाथा आरोहणका लागि २७ सय ५० अमेरिकी डलर राजश्व बुझाउनु पर्ने हुन्छ । सरकारले गत वर्षबाट बाह्रै महिना हिमाल आरोहणका लागि खुला गरेको थियो । तर कोरोना महामारीका कारण बन्द भएको हिमाल आरोहण विस्तारै सुरु हुन थालेको छ ।