पहुँच हुनेले मात्रै पुनरकर्जा पाएको पर्यटन व्यवसायीको आरोप, भन्छन्ः सरकारले हाम्रा कूरा सुनेन

काठमाडाैं । पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्वाध रुपमा सूचारु गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुका सबै छातासंगठनहरुले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सेफ्टि पोर्टेकलको आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् । देशमा सभा, विरोध, जुलुस लगायतका कार्यक्रमहरु दैनिक रुपमा भइरहदा कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा जोखिम हुने कुरालाई नमान्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले देशमा दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम हुँदैन भने विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिए पनि कोभिड संक्रमणको जोखिम नहुने बताए । पिसिआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्वाध घुम्न दिनुपर्ने उनले बताए । यस्तै पिसिआर नेगेटिभ आएका पर्यटकलाई पाँच दिनको क्वारेन्टाइन हटाउन र ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेर आउनुपर्ने लागायतका मापदण्डलाई खारेज गर्न माग गरे । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीहरुले पटकपटक आफ्ना मागहरु सरकारसँग राख्दा समेत सरकारले सुनुवाई नगरेको बताए । उनीहरुले ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुलाई अनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान हटाइनुपर्ने, अनलाइन र अराइभल भिषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भिषाको व्यवस्था पूर्ववत रुपमा सूचारु हुनुपर्ने, विमानस्थलमा कोभिड जाँच मेसिन राखेर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने, कोभिड विरुद्धको खोप अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरुलाई पनि उपलब्ध गराउनुपर्ने माग गरे । पर्यटन व्यवसायीहरुले कोभिडबाट सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रका पर्यटन व्यवसायीहरुले अहिले सम्म पुनरकर्जा कोषको सुविधा लिन नपाएको गुनासो समेत गरेका छन् । सरकारले राहतको रुपमा कोष निर्माण गरेपनि पहुँच हुनेहरुले मात्रै सुविधा पाएको तर साना पर्यटन व्यवसायीहरुले अहिलेसम्म कुनै सुविधा पाउन नसकेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

प्रदेश शहीदको स्मृतिमा पार्क निर्माण, एक करोड १३ लाख लागतमा सकियाे पहिलाे चरणकाे काम

कार्णाली । कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर ४ मा प्रदेश प्राप्तिको आन्दोलनका शहीदको स्मृतिमा पार्क निर्माण गरेको छ । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो । छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व यस क्षेत्रमा भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एक जनाले ज्यान गुमाएका थिए । सुर्खेत वीरेन्द्रनगरका टीकाराम गौतम, गोपालसिं रजवार, याम वीसी र जुम्लाका हरिबहादुर कुँवरलाई प्रदेश आन्दोलनका शहीदका रूपमा कर्णाली प्रदेशले सम्झने गरेको छ । यी चार शहीदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको हो । अभियान निर्माण सेवाले एक करोड १३ लाख ५१ हजार रुपैयाँ लागतमा पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ । दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ । वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताए । पार्क निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेको घुइँचो लागेको बताए । “शहीदहरुको सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौं, पार्क बनेसँगै घुमफिर गर्न आउनेको सङ्ख्या धेरै छ”, उनले भने, “पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटो/सेल्फी खिच्न र टिकटक बनाउनेको थामिनसक्नु भीड छ ।” पार्क निर्माण भए पनि संरक्षण कसले गर्ने भन्ने अन्योल पनि कायमै छ । वन उपभोक्ता समितिले तत्काल पार्क हस्तान्तरण गर्न वन तथा वातावरण निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गरेको छ तर निर्देशनालयले भने वन समूहको कार्ययोजनामै पार्क स्वीकृति भएकाले सामुदायिक वनले सुरक्षा एवं संरक्षणको जिम्मा लिनुपर्ने बताएको छ । रासस

गोदावरीमा जिपलाइन सञ्चालनमा, टिकट काटेमा बीमाको सुविधा पाइने (भिडियोसहित)

फाइल फोटो ललितपुर । ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनभित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वनभित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरु जाने गरेका छन् । जिपलाइन खेल्नका लागि फोटो भिडियो सहित प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएपनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले बताए । जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि श्रेष्ठले बताए । तरपनि टिकट काटेर खेल खेलेमा बीमा लगायतका सुविधा दिइएको छ । जिपलाइन खेल्न आउने पर्यटकहरु पनि साहसिक खेल खेल्न पाउँदा निकै खुशी देखिएका छन् । उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाउने ठाउँ नभएका बेला जिपलाइन सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने उनीहरुको भनाई छ । नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आव्हान गरेपछि बोलकबोल मार्फत ठाउँ लिइएको सञ्चालक श्रेष्ठले बताए । सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नविगारिकन साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जिपलाइन सञ्चालनमा ल्याइएको पनि बताए । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्