
काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणमा सगरमाथा आधार शिविरमा सरकारी डाक्टर जाने भएका छन् । पर्यटन विभागले वसन्त यामको आरोहणमा पहिलो पटक सगरमाथा आधार शिविरमा सरकारी डाक्टर पठाउने तयारी गरेको हो ।
पर्यटन विभागको आग्रह अनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले पहिलो पटक दुई जना सरकारी डाक्टरलाई आधार शिविरमा पठाउने गरी विभागमा खटाइसकेको छ । आरोहणको सिजनमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म सरकारी डाक्टर पठाउन लागिएको पर्यटन विभाग अन्तरगतको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्य बताउँछिन् । उनका अनुसार दुई सरकारी डाक्टरसगैँ अर्का एक जना डाक्टर गरी तीन जना डाक्टर करिब तीन महिना आधार शिविरमा (चैत २० गतेदेखि जेठ १५ गतेसम्म) रहनेछन् ।
विभिन्न हिमाल आरोहणमा सहभागी विदेशी तथा स्वदेशी आरोहीहरुले हिमाल आरोहणमा सरकारले महङ्गो शुल्क लिएपनि पर्याप्त स्वास्थ्य सेवा नपाएको गुनासो गर्दै आएका थिए । आरोहीको गुनासोअनुसार पहिलो पटक सगरमाथा आधार शिविरसम्म सरकारी डाक्टरको उपस्थिति गराउने कामको सुरुवात भएको निर्देशक आचार्य बताउँछन् ।
पर्यटन विभागले आरोहण दलका लागि पठाएको लियाजन अफिसर समेत आधार शिविरमा नपुगी चर्काे शुल्क लिने गरेको भन्दै आरोहीहरुले गुनासो गर्दै आएका छन् । आरोहीको गुनासोका आधारमा विभागले यस सिजनको आरोहणमा लियाजन अफिसरलाई अनिवार्य रुपमा आधार शिविरमा पुग्नैपर्ने निर्देशन दिसकेको छ ।