भिसा सकिएका अमेरिकी नागरिक आफ्नो देश फर्किन मानेनन्

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् । भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएकोभन्दा बढी समय बस्न नपाउने कानुन छ । बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ । अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिमाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानुनी प्रक्रिया छ । नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघिनै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन् । विसं २०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ गते सकिएको थियो । त्यसपछि नेपाल बस्ने उनलाई कानुनी अनुमति छैन । होटल सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताइन् । ‘केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ’, उनले भनिन्, ‘कसरी पठाउने भन्ने अलमलमा परेका छौँ । गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ ।’ एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन् । खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन् । स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शङ्का गरेका छन् । कतिपय विदेशी नागरिक आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैँले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैधरूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फिर्ती प्रक्रिया अघि बढाउने बताए ।

लकडाउनको समयमा समस्यामा परेका होटललाई विद्युत महसुल छुट दिइने

काठमाडौं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने विद्युत महसुल छुट दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले सरकारले लकडाउनको विद्युत शुल्क मिनाह गरेको बताएका हुन् । लकडाउन अवधिको विद्युत शुल्क शतप्रतिशत मिनाह गर्ने निर्णय भएको छ, होटल उद्योगको रुपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिएको हो,’ उनल भने । गत २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म शतप्रतिशत छुट र भदौदेखि माघ मसान्तसम्म ५० प्रतिशत शुल्कमा छुट दिने निर्णय गरेको छ। नियमित नवीकरण र कर विवरण पेश गरेका होटलहरूले मात्रै यो राहत पाउने उनले बताए । उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

अन्तरराष्ट्रिय पर्यटन प्रवर्धनमा पर्यटन बोर्ड: साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्जमा सहभागि हुने

काठमाडाैं।  नेपाल पर्यटन बोर्ड कोभिड–१९ का कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा जुटेको छ । कोभिडपछि पहिलो अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ । यही मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)सहित विभिन्न २५ कम्पनी सहभागी हुनेछन् । पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले जानकारी दिए । ‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ, तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ’, उनले भने । साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रममा सहभागिता जनाइने सिइओ रग्मीले बताए । पछिल्लो पटक सरकारले नेपाल–भारत यातायात सञ्चालन गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौताअनुरुप नेपाल–भारत दुवै देशबाट दैनिक दुई हवाई उडानसमेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ । पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीयस्थलका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको बोर्डका सिइओ डा रेग्मीले जानकारी दिए । भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा व्यक्तित्वको सहभागिता रहने गर्दछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेञ्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको सङ्क्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अन्तरराष्ट्रिय मञ्चमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरे पनि भौतिकरुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो । नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागिता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीले सहभागिता जनाएका थिए । यस वर्ष कोरानाका कारण सहभागी हुन जाने कम्पनीको सङ्ख्या केही घटे पनि कोभिडको खोप आइसकेको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेजमार्फत आकर्षित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । सोअनुसार सहभागी कम्पनीले विभिन्न खालका प्याकेजसमेत तयार पारेका छन् ।