पर्यटकको आवागमनलाई व्यवस्थित गर्न नयाँ मापदण्ड जारी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ‘पर्यटकको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ । यसअघि मन्त्रालयबाट जारी भएको पुरानो मापदण्ड खारेज गर्दै मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो । उक्त मापदण्ड मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि जारी लागु हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार नेपाल आउनुअघि ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोट वा कोरोना विरुद्धको खोप लगाएको प्रमाण आवश्यक पर्नेछ । उक्त प्रमाणका आधारमा हवाई मार्गबाट नेपाल प्रवेश गरेका विदेशी पर्यटकले सम्बन्धित एजेन्सी वा संस्थाको समन्वयमा आफ्नै खर्चमा पीसीआर परीक्षण गराई नतिजा नआएसम्म होटेल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्म स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ । यसैगरी, पर्यटकलाई नेपाल आउन समन्वय र सहयोग गर्ने संस्था वा एजेन्सीले सम्बद्ध पर्यटकलाई पदयात्रा, पर्वतारोहण वा अन्य पर्यटकीय गतिविधिमा सरिक गराउनुअघि पालना गर्नुपर्ने मापदण्डको बारेमा पूर्ण जानकारी गराउनुपर्ने, आफ्नो समन्वयमा आएका पर्यटक नेपालमा रहुञ्जेल निजको गतिविधिको निगरानी लगायत उपचारको सम्पूर्ण जिम्मा सम्बन्धीत निकायको हुनेछ । मन्त्रालयले भारतीय पर्यटकको हकमा भने विशेष व्यवस्था गरिएको जनाएको छ । हवाई मार्गबाट नेपाल आउने भारतीय पर्यटकले नेपाल इन्डिया ट्राभल बुबल एग्रिमेन्ट अनुरूपको व्यवस्था गरिने, स्थल मार्गबाट आउनेले दफा ७ को खण्ड क बमोजिमका कागजात नेपाल भारत सीमाको अध्यागमन बिन्दुमा पेस गर्नुपर्ने र सरकारले स्वीकृत गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

४५ आरोहीले लिए वसन्त ऋतुको हिमाल आरोहण अनुमति

काठमाडौं । वसन्त ऋतुको हिमाल आरोहणको सिजन सुरु भएसगैँ आरोहण अनुमति लिनेको संख्यामा बृद्धि हुन थालेको छ । आरोहण सिजनमध्येकै उत्कृष्ठ सिजन मानिएको वसन्त ऋतुका लागि ५ हिमालमा ४५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार बुधबारसम्म ५ हिमाल आरोहणका लागि ४५ आरोहीले अनुमति लिएका हुन् । विभागले जारी गरेको आरोहण अनुमति अनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि ४० आरोहीले अनुमति लिइसकेका छन् । तीन समूहमा अनुमति दिईएको अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना महिला र २५ जना पुरुष रहेका छन् । कोरोना महामारिपछि सुरु भएको वसन्त यामको हिमाल आरोहणका लागि आरोहीको रोजाईमा अन्नपूर्ण हिमाल परेको छ । विभागले यस यामका लागि गत ९ मार्चमा पहिलो आरोहण अनुमति जारी गरेको थियो । पहिलो आरोहण अनुमति स्वरुप माउण्ट नुप्त्से आरोहणका लागि एक जना आरोहीले अनुमति लिएका थिए । नुप्त्से र मनास्लुका आरोहणका लािग एक/एक जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारको समूह नेपाल आएपनि विभागबाट अनुमति लिइसकेका छैनन् । तीन हिमाल आरोहणको अनुमति दिदा विभागले ८८ लाख २३ हजार राजश्व संकलन गरेको छ ।

सर्वोच्चको आदेश उल्लंघन गरी रातारात माउन्टेन गाइडलाई लाइसेन्स बाड्दै पर्यटन विभाग

काठमाडौं । अदालतको आदेशलाई वेवास्ता गर्दै पर्यटन विभागले माउन्टेन गाइडलाई परिचयपत्र (लाइसेन्स) वितरण गरेको पाइएको छ । चैत ९ गते अर्थात सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहित पर्यटन विभागलाई रातो किताबको आधारमा माउन्टेन गाइडलाई प्रमाणपत्र वितरण नगर्न सर्वाेच्चले आन्तरिक आदेश जारी गरेको थियो । सर्वाेच्चको आदेश विपरित मंगलबारदेखि विभागले माउन्टेन गाइडलाई परिचयपत्र वितरण शुरु गरेको छ । विभागले कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पहिलो परिचयपत्र दिएको सरकारी लाइसेन्स वितरण शुरु गरेको हो । मंगलबार पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले शेर्पालाई लाइसेन्स हस्तान्तरण गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाको इजलासले नेपाल पर्वतारोहण संघ (एनएमए) को रातो किताबलाई आधार बनाएर परिचयपत्र वितरण नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वाेच्च अदालतले चैत ९ गते नै रातो कितावलाई आधार बनाएर परिचयपत्र वितरण नगर्न अन्तरिम आदेश जारी गरेकोमा विभागले चैत १० गतेबाट लाइसेन्स वितरण सुरु गरेको हो । सर्वाेच्च अदालतबाट नजिकै भृकुटिमण्डपमा रहेको पर्यटन विभागमा अदालतबाट आदेश भएको तीन दिनसम्म पनि जानकारी नआएको पाइएको छ । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ सर्वाेच्च अदालतको अन्तरिम आदेशको विषयमा कुनै जानकारी नभएको बताउँछन् । ‘अन्तरिम आदेशको विषयमा कुनै जानकारी आएको छैन, जानकारी नआएसम्म हामीलाई थाहा हुने कुरा पनि भएन, मंगलबारबाट गाइडको निवेदनका आधारमा लाइसेन्स वितरण सुरु गरेका हौं’, महानिर्देशक तामाङले भने । उनका अनुसार मंगलबार ४ बजेसम्म विभागमा कुनै जानकारी आएको छैन । विभागले ८८ जना माउन्टेन गाइडलाई लाइसेन्स वितरणको गरिसकेको तामाङले जानकारी दिए । पर्यटन विभागले फागुन २६ गते सूचना जारी गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र एनएमएले वितरण गरेको रातो किताबका आधारमा माउन्टेन गाइडलाई लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरिएको जनाएको थियो । उक्त सूचनाको विरुद्धमा माउन्टेन गाइडहरुले अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सो विषयमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन दुबै पक्षलाई आदेश दिएको छ । यस्तै, चैत १८ गते छलफलका लागि पक्ष र विपक्षलाई सर्वोच्चमा बोलाएको छ । नेपाल पर्वतीय पथ प्रदर्शकको परिचय पत्र उपलब्ध गराउने निर्णयको विरुद्धमा ४३ जनाको प्रतिनिधित्व गर्दै अधिवक्ता प्रविण खरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वाेच्च अदालका सूचना अधिकारी देबेन्द्र ढकाल सोमबार जारी भएको आदेश मंगलबार ढिला गरि तामेलीमा चढेको बताउँछन् । ‘मंगलबार ढिलो गरी आदेश तामेलिमा चढेको रहेछ । आदेश तयार गरेर तामेलदारले बुझिसकेका छन्, पत्र बुझेपनि प्रतिबेदन बुझाइसकेको छैन’, उनले भने ।