एनएमबि बैंकका ग्राहकलाई द होराइजन होटल र आगन्तुक रिसोर्टमा सहुलियत

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी भएको छ । उक्त समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सम्झौतापत्रमा एनएमबिका रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका हुन् । अत्याधुनिक बैंकिङ्ग सुबिधाका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले ग्राहकलाई यो छुटको व्यवस्था गरेको छ ।

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

काठमाडाैं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि सुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम सुरु गरेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि चिडियाखानामा अवलोकनकर्ताको आवतजावत नौ महिना (मार्चदेखि डिसेम्बर) सम्म पूर्ण रुपमा बन्द गरिएको थियो । हालसम्म पनि पहिलेको तुलनामा अवलोकनकर्ताको सङ्ख्या न्यून रहेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिइन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सवका अवसरमा यही फागुन १९ गतेदेखि सो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हाल चिडियाखानामा रहेका तीनमध्ये एक गैँडाको एक महिनासम्म आफ्नो निजी तर्फबाट र एक वर्षको नेपाल सरकारका तर्फबाट आहारा, स्याहार र औषधोपचार खर्चको जिम्मेवारीसमेत लिएका थिए । यसैगरी वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चिडियाखानामा रहेको एक मात्र हात्तीको आहारा, स्याहार र स्वास्थ्योपचारमा लाग्ने वार्षिक खर्चको जिम्मेवारी लिएका छन् । कार्यक्रमअन्तर्गत चिडियाखानाले शुरुआती चरणमा तत्काल हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामस, रेडपाण्डालगायत एक दर्जन वन्यजन्तुको वर्ष दिनको आहारा, स्याहार र स्वास्थ्यउपचारमा लाग्ने खर्चको विवरणसमेत सार्वजनिक गरिएको थियो । सो विवरणअनुसार बाघ, हात्ती र गैंँडाको वार्षिक खर्च जनही १५ लाख, हिप्पोपोटामसको वार्षिक खर्च १२ लाख, चिम्पाञ्जीको १० लाख, भालुको पाँच लाख, घडियाल गोहीको तीन लाख ५० हजार, रेड पाण्डाको दुई लाख ५० हजार, डाँफेको ७५ हजार, सारसको ७५ हजार वार्षिक खर्च रहेको छ । यसैगरी नरङ्स हस्पिटालिटी प्रालिले सारसको, कन्टिनेन्टल ट्रेडिङका अदिती घिमिरेले रेड पाण्डाको, काष्टमण्डप इभेन्टस्ले सारसको, लक्ष्मी बैंकले लाटोकोसेरोको, मेघा बैंकले डाँफेको अविभावकत्व ग्रहण गरेका छन् । अन्य विभिन्न सङ्घसंस्था र व्यक्तिले चिडियाखानाका जीवजन्तुको अविभावकत्व ग्रहण गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी चालिसेले बताइन् । चालू आर्थिक वर्षमा गत डिसेम्बर १० देखि मात्र चिडियाखाना अवलोकर्ताका लागि खुला गरिएको र फेब्रअरीसम्ममा करोड आम्दानी भएको चिडियाखानाको तथ्याङ्क छ । कोभिड–१९ अघिको समयमा अवलोकनबाटै वार्षिक झण्डै १४ करोड आम्दानी गर्ने चिडियाखानाको वार्षिक खर्च करीब ११ करोड रहेको छ । कोभिड–१९ अघि चिडियाखानामा बिदाको दिन दैनिक १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने गरेकामा हाल बिदाको दिन दैनिक पाँच हजारको हाराहारीमा अवलोकनकर्ता आउने गरेको उनले बताइन् । चिडियाखाना प्रवेश गर्न सर्वसाधारणका लागि १५०, बालबालिका र ज्येष्ठ नागरिकका लागि ९० र दक्षिण एशियाली मुलुकका नागरिकका लागि ३५० शुल्क तोकिएको छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो भने चिडियाखाना २०५२ सालदेखि कोषले व्यवस्थापन गर्दै आएको छ । करीब छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न ११० प्रजातिका एक हजार १६० वन्यजन्तु रहेका छन् । रासस

सीजी उन्नति कल्चरल भिलेज: कला, साहित्य र सँस्कृतिको नयाँ मुकाम

चितवन । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, सँस्कृति, साहित्य, वेशभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको जनाएकाे छ । सीजी उन्नती कल्चरल भिलेज प्राकृतिक सुन्दरताकाबीच अवस्थित छ । चारैतिर हरियाली छ । यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन् । चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी रहेका छन् । थारू जातिका दैनिकी झल्किने वस्तु छन् । यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्विर कुँदिएको छ । भिलेजमा के–के छन् ? चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेजमा आर्टस् एण्ड क्राफ्ट, कल्चर, गेष्ट स्पेस र एक्पिरियन्स लगायतका कम्पोनेन्टहरू रहेका छन् । आर्टस् एण्ड क्राफ्ट अन्तर्गत सम्पदा (आर्ट ग्यालरी), रँगमञ्च (एमपीथियटर) बाटिका (गार्डेन अफ आर्टस्), निशर्ग सयर (नेचर वकवेज), क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट, दि एटिलियर (क्रियटिभ स्टुडियो) रहेका छन् । यस्तै कल्चर अन्तर्गत थारू गाउँ, बाहरी (लाइभ किचन), बडाघर (डाइनिङ) डबली, गदला मोद (बार) र गेष्ट स्पेस अन्तर्गत कला घर (आर्ट होटल) बोधि कुञ्ज (आर्ट रेसिडेन्सी) देहारी (थारू घर), आथित्य (मल्टिपर्पोज ब्लक) रहेका छन् । एक्पिरियन्स अन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, यथ्निक कुजिन, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन् । सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ । यसअन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ । थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । अरू संरचनाको नाउँ पनि यसैगरी राखिएको छ । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिनेछ । करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ । कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन् । अर्गानिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ । यहाँको थारू रेस्टुरामा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनुकाे साथै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइनेछ । भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभासमारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुनेछन् । भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ । यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ । भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन् । त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनहरूलाई बजारसम्म पहुँच पु¥याउने योजना छ । नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन् । थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गर्नेछ । नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन् । घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ । नेपालका सबै कलाकार एवम् साहित्यकार आएर यहाँ आफ्नो कला एवम् साहित्य सिर्जना गर्न सकून् भन्ने भिलेजको लक्ष्य हो । भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउनेछ । स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ । स्थानीयलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहनेछन् ।