काठमाडाैं । इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको छ ।
बुधबार पोखरामा एक कार्यक्रमकाबीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे । सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्ने छन् भने फोनपेले इसेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रवर्धनमा सघाउनेछ ।
बुधबार भएको कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरी प्रशाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु¥याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको समेत बताए ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ ।
हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् ।