सगरमाथा आरोहण विदेशी राजकुमारदेखि खेलाडीसम्म, यसरी हुँदैछ यस वर्षको हिमाल आरोहण

<p>काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष रोकिएको नेपालको हिमाल आरोहणमा यस वर्ष उत्साह थपिएको छ । नेपाल सरकारले पर्यटन गतिविधि खुला गरेसगैँ कोरोनाको सन्त्रासकै बीच हिमाल आरोहणमा विदेशी सहित स्वदेशी आरोहीको आर्कषण बढ्न थालेको हो । आरोहीको माग अनुसार पर्यटन विभागले विभिन्न १० हिमाल आरोहण गर्न ४ सय २० आरोहीलाई अनुमति दिइसकेको छ । विभागले [&hellip;]</p>

काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष रोकिएको नेपालको हिमाल आरोहणमा यस वर्ष उत्साह थपिएको छ । नेपाल सरकारले पर्यटन गतिविधि खुला गरेसगैँ कोरोनाको सन्त्रासकै बीच हिमाल आरोहणमा विदेशी सहित स्वदेशी आरोहीको आर्कषण बढ्न थालेको हो ।

आरोहीको माग अनुसार पर्यटन विभागले विभिन्न १० हिमाल आरोहण गर्न ४ सय २० आरोहीलाई अनुमति दिइसकेको छ । विभागले अनुमति दिएका १० हिमाल मध्येमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि रहेका छन् । गत शुक्रबार साझँसम्म सगरमाथा आरोहण गर्न २६ समूहका २ सय ४४ जना आरोहीले अनुमति लिएको विभाग अन्तरगतको पर्वतारोहण शाखाले जनाएको छ ।

विभागले भर्खर अनुमति जारी गरेको भन्दै अनुमति लिने आरोहीको संख्यामा बृद्धि हुने अनुमान गरिएको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्य बताउँछिन ।

‘पर्यटन गतिविधि खुला भएपनि अनुमति जारी हुँदैन कि भन्ने थियो, तर हाम्रो अपेक्षा भन्दा धेरै आरोहीले अनुमति लिइसक्नुभएको छ, गत वर्ष रोकिएको हिमाल आरोहण यस वर्ष पूरानै गतिमा फर्किन अनुमान छ’, उनले भनिन् ।

विभागको तथ्यांक अनुसार यस वर्षको आरोहणमा विदेशी आरोहीको आर्कषण बढ्दै गएको छ । गत वर्षसम्म नेपालीसगैँ विदेशी आरोहीले पर्यटन विभागबाट विभिन्न हिमाल आरोहण गर्न अनुमति लिने गरेकोमा यस वर्ष नेपाली आरोहीको आर्कषण कम देखिएको छ ।

सगरमाथा आरोहणमा राजकुमारदेखि खेलाडीसम्म

यस वर्षको हिमाल आरोहण अन्तरगत विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न बहराइनका राजकुमारदेखि खेलाडीसम्मले विभागबाट अनुमति लिएका छन् ।

यस वर्षको आरोहणमा विदेशी भीभीआईपी आरोहीले गर्दा अन्य आरोहीको समेत आर्कषण थपिएका विभागका अधिकारीहरु बताउँछन् ।
कोरोना महामारीकै बीच गत भदौमा मनास्लु र लोबुचे हिमालको सफल आरोहण गरेका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफाको समूह सगरमाथा आरोहणको तयारीमा जुटेको छ ।

गत भदौँमा दुई हिमाल आरोहण गरेर फर्किएका १६ जनाको समूह सगरमागा आरोहण गर्न आधार शिविरमा पुगिसकेका छन् ।

राजकुमार सहित यस वर्षको आरोहणमा अमेरिकन चर्चित गायक माइक पोस्नर, कतार ओलम्पिक कमिटीकी वरिष्ठ महिला अधिकृत (अन्तराष्ट्रिय खेलाडी) शेख आस्मा अल थानी तथा अमेरिकाका पूर्व फुटबल खेलाडी मार्क प्याटिसनले आरोहण अनुमति लिइसकेका छन् ।

सुरक्षित रहन विभागको आग्रह

कोरोना सन्त्रासकै बीच विभिन्न हिमाल आरोहणका लागि अनुमति पाएका आरोहीलाई स्वास्थ्य सुरक्षा अपनाउन विभागले आग्रह गरेको छ । विभागले सुरक्षित रुपमा आरोहण गर्न गाइड नफेर्न, एकै होटलमा लामो समयसम्म बस्नु परेमा रुम चेन्ज नगर्न, समूहमा भन्दा एक्लै हिड्न आग्रह गरेको छ ।

पहिलो पटक सगरमाथा आधार शिविरमै सरकारी डाक्टर

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणमा सगरमाथा आधार शिविरमा सरकारी डाक्टर पुगेका छन् । पर्यटन विभागले वसन्त यामको आरोहणमा पहिलो पटक सगरमाथा आधार शिविरमा सरकारी डाक्टर पठाएको हो । दुई सरकारी डाक्टर प्रकाश खरेल र सुरज श्रेष्ठ गत अप्रिल २ तारिखमा आधार शिविरमा पुगिसकेका छन् ।

विभागले आरोहणको सिजनमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म सरकारी डाक्टर पठाएको हो । दुई सरकारी डाक्टरसगैँ अर्का एक जना नीजी क्षेत्रबाट गएका डाक्टर गरी तीन जना डाक्टर करिब तीन महिना आधार शिविरमा (चैत २० गतेदेखि जेठ १५ गतेसम्म) रहनेछन् ।

विभिन्न हिमाल आरोहणमा सहभागी विदेशी तथा स्वदेशी आरोहीहरुले हिमाल आरोहणमा सरकारले महङ्गो शुल्क लिएपनि पर्याप्त स्वास्थ्य सेवा नपाएको गुनासो गर्दै आएका थिए । आरोहीको गुनासो अनुसार पहिलो पटक सगरमाथा आधार शिविरसम्म सरकारी डाक्टरको उपस्थिति गराउने कामको सुरुवात गरिएको विभाग अन्तरगतको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्य बताउँछिन् ।

पर्यटन विभागले आरोहण दलका लागि पठाएको लियाजन अफिसर समेत आधार शिविरमा नपुगी चर्काे शुल्क लिने गरेको भन्दै आरोहीहरुले गुनासो गर्दै आएका छन् । आरोहीको गुनासोका आधारमा विभागले यस सिजनको आरोहणमा लियाजन अफिसरलाई अनिवार्य रुपमा आधार शिविरमा पुग्नैपर्ने निर्देशन दिइसकेको छ ।

Share News