सर्वाेच्चको आदेशपछि माउन्टेन गाइडलाई लाइसेन्स दिन रोक
काठमाडौं । पर्यटन विभागले माउन्टेन गाइडलाई वितरण गरेको परिचयपत्र (लाइसेन्स) अनिश्चीत समयका लागि स्थगीत गरेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को रातो किताबको आधारमा माउन्टेन गाइडलाई प्रमाणपत्र वितरण नगर्न सर्वाेच्चले आन्तरिक आदेश जारी गरेपछि विभागले स्थगीत गरेको हो । चैत ९ गतेसंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहित पर्यटन विभागलाई रातो किताबको आधारमा माउन्टेन गाइडलाई प्रमाणपत्र वितरण नगर्न सर्वाेच्चले आन्तरिक आदेश जारी गरेको थियो । सर्वाेच्चले आदेश दिएको ६ दिनपछि विभागले सोमबार एक सूचना जारी गर्दै लाइसेन्स वितरणको कार्य स्थगीत भएको जनाएको हो । सर्वाेच्चको आदेश विपरित चैत १० गतेदेखि विभागले माउन्टेन गाइडलाई परिचयपत्र वितरण शुरु गरेको छ । विभागले कीर्तिमानी आरोही कामिरिता शेर्पालाई पहिलो परिचयपत्र दिएको सरकारी लाइसेन्स वितरण शुरु गरेको हो । चैत १० गते अर्थात पहिलो दिन ८८ जनालाई लाइसेन्स वितरण गरको विभागले ५ दिनको अबधिमा १ सय १० भन्दा बढी गाइडलाई लाइसेन्स वितरण गरिसकेको छ । सर्वाेच्च अदालतबाट नजिकै भृकुटिमण्डपमा रहेको पर्यटन विभागमा अदालतबाट आदेश भएको ७ दिनपछि सोमबार बिहान मात्र जानकारी आएको विभागले जनाएको छ । ‘आज बिहान हामीलाई सर्वोच्चबाट जानकारी आएको छ, आधिकारिक रुपमा जानकारी आएपछि हामीले वितरणको कार्य स्थगीत गरेका हौँ’, विभाग स्रोतले भन्यो । सर्वोच्चले सो विषयमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन दुबै पक्षलाई आदेश दिएको छ । यस्तै, चैत १८ गते छलफलका लागि पक्ष र विपक्षलाई सर्वोच्चमा बोलाएको छ । नेपाल पर्वतीय पथ प्रदर्शकको परिचय पत्र उपलब्ध गराउने निर्णयको विरुद्धमा ४३ जनाको प्रतिनिधित्व गर्दै अधिवक्ता प्रविण खरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
वायु प्रदुषणका कारण ५० प्रतिशतभन्दा बढी आन्तरिक उडानमा समस्या
काठमाडौं । शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका लगायत देशभर प्रदूषणको तह बढेपछि प्रभावित भएको उडान अझै सहज हुन सकेको छैन् । अन्तराष्ट्रिय उडान सुचारु भएपनि आन्तरिक उडान अझैँ प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार अन्य दिनको तुलनामा गत शुक्रबार यता ५० प्रतिशतभन्दा बढी आन्तरिक उडान प्रभावित भएको छ । अन्य दिनमा दैनिक ३ सय उडान तथा अवतरण हुने गरेकोमा वायु प्रदुषणका कारण १५० सम्म उडान भएका छन् । शुक्रबार सामान्य प्रभावित भएको अन्तरिक उडान शनिबार र आईतबार धेरै प्रभावित भएका थिए । कार्यालयको तथ्यांक अनुसार अन्तरिक उडानका विभिन्न गन्तव्यमा शुक्रबार २७६ उडान तथा अवतरण भएकोमा शनिबार १४९ र आईतबार १६९ मात्र उडान भएका छन् । शुक्रबारदेखि सोमबार दिउँसोसम्म बुद्ध एयरका ६५, सौर्य एयरलाइन्सका २०, श्री एयरलाइन्सका २२, यति एयरलाइन्सका ४७ र अन्य वायु सेवाका ३५ उडान प्रभावित भएका हुन् ।
अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु गरेको हो । विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले दुई करोड ५० लाखमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण सुरु गरेको बताए । ‘पदमार्ग, पुल र पोर्टर सेल्टर (आश्रयस्थल) बनाउन लागिएको हो’, उनले भने, ‘आवश्यकताका आधारमा डिजाइनअनुसार ठेकेदारले तोकिएको परिणाममा पूर्वाधार बनाउने सम्झौता भएको छ ।’ आगामी आर्थिक वर्ष २०७८/७९ मा पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ । विभिन्न ठाउँमा ढुङ्गाको सिँढी चिनेर, सोलिङ गरेर, माटो, पहाड काटेर, रेलिङ राखेर दुई मिटर फराकिलो पाँच किलोमिटरभन्दा बढी पदमार्ग बनाउने लक्ष्य छ । हुमखोला, फुतफुते झरना, भुसकेत र दुला भन्ने ठाउँमा भरिया तथा पर्यटक बस्न मिल्ने आश्रयस्थल बनाउन लागिएको छ । यसैगरी दुई ठाउँमा पुल निर्माण गर्ने योजना छ । पन्ध्र किलोमिटर दू्रीको विभिन्न ठाउँमा पदमार्ग बनाउने गरी ठेकेदारले काम गरिरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलोपटक पाइला टेकेका थिए । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरुले विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्रीखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । पहिलो चरणमा मानिस मात्र हिँड्न मिल्ने पदमार्ग बनाइएको छ । अक्करे पहाड काटेर मानिस हिँड्ने बाटो बनाएको छ । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ । गाउँपालिकाले पदमार्गको नक्शा तयार पारेको छ । आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण हो । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ । समुद्री सतहबाट चार हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ । रासस