
फाइल फोटो
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले आविष्कार केन्द्रलाई अक्सिजनको खाली सिलिण्डर उपलब्ध गराउने भएको छ । संघले हिमाल आरोहणमा प्रयोग हुने ६० वटा साना अक्सिजनकाे खाली सिलिण्डर सापटी स्वरुप उपलब्ध गराउन लागेको हो ।
संघका महासचिव कुलहादुर गुरुङ आविष्कार केन्द्रबाट पछि फिर्ता ल्याउन मिल्ने गरी असहज परिस्थितिमा सहयोग गरिएको बताउँछन् । उनले मंगलबार सामाजिक सञ्जाजलमा एक स्ट्टाटस राख्दै आविष्कार केन्द्रलाई सहयोग गरिएको जनाएका थिए ।
‘कोरोना महामारीका कारण देखिएको असहज परिस्थितिलाई थोरै भएपनि नियन्त्रण गर्न तथा मावन जीवन जोगाउन नेपाल पर्वतारोहण संघले राष्ट्रिय आविष्कार केन्द्रलाई अक्सिजनको खाली सिलिण्डर (प्रयोगमा ल्याउन मिल्ने भए ६० वटा भन्दा बढी हुने) सापटी दिने निर्णय गरियो’, उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन, ‘एक्सपिडिसन अप्रेडरहरु साथीहरु सम्भव भएसम्म आफूसँग भएका खाली अक्सिजन सिलिण्डर सहयोग गरौँ ।’
सोमबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले सामाजिक सञ्जाल मार्फत पर्वतारोहणमा प्रयोग हुने अक्सिजनका खाली सिलिण्डर सापटी दिन आग्रह गरेका थिए । उनले उक्त अक्सिजन सिलिण्डरमा ४ किलो अक्सिजन भर्न मिल्ने भन्दै २ बारमा अक्सिजन दिँदा ६ घण्टा जति पुग्ने भन्दै आविष्कार केन्द्रलाई बिक्री गर्न तथा सापटी दिन आग्रह गरेका थिए ।
‘हिमाल चढ्ने र ट्रेकिंग गर्ने कम्पनीहरु संग खाली अक्सिजन सिलिन्डर छ कि ? हिमाल चढ्नेहरुले प्रयोग गर्ने खाली अक्सिजन सिलिन्डरहरु कसै संग छन भने सम्पर्क गर्नु होला । सगरमाथा सफा गर्ने टोलीहरुले जम्मा गरेका खाली सिलिन्डरहरु कहि कसैले जम्मा गरेर राख्नु भएको छ भने सम्पर्क राख्नु होला । ति खाली सिलिन्डरहरु राष्ट्रिय आविष्कार केन्द्रलाई बिक्रि अथवा सापटी दिए पनि हुन्छ । हामीले ति सिलिन्डरहरुमा अक्सिजन भरेर कोरोना बिरामीहरुलाई उपलब्ध गराउने छौं । नेपालमा अक्सिजनको खाली सिलिन्डरहरु को अत्यन्तै अभाव भएकोले यो अनुरोध गरिएको हो,’ उनी सामाजिक सञ्जालमा लेख्छन् ।
पुनको आग्रह अनुसार एनएमएले उक्त खाली सिलिण्डर सापटीमा दिने निर्णय गरेको जनाईएको छ ।