काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रचार तथा प्रसारकामा ८५ करोड रुपैयाँ बढी खर्च भएको पाइएको छ । महालेखा कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार भ्रमण वर्षको प्रचारप्रसारदेखि सचिवालय सञ्चालन गर्न ८५ करोड ४ लाख बढी खर्च भएको देखिएकाे हाे ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै एक वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी योजना कोरोना महामारीका कारण स्थगित भएको थियो । करोडौँ खर्च गरेर सुरु गरिएको सो कार्यक्रम स्थगित हुँदा खर्च भएको रकम अनुत्पादन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष बनाएर २० लाख विदेशी पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको थियो । तर, विश्वव्यापी रुपमा कोरोना महामारी फैलिँदा अहिले पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ ।
२०७६ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणलाई ध्यानमा राख्दै बैशाख १ गतेदेखि सचिवालय विघटन गरेको थियो ।
प्रतिवेदन अनुसार भ्रमण वर्ष अभियान सञ्चालनको लागि सचिवालयले ३५ करोड २८ लाख ७२ हजार खर्च गरेको उल्लेख गरिएको छ । उक्त रकम खर्चगरि सञ्चालित कार्यक्रमले भविष्यमा पर्यटन प्रवद्र्धनमा उप्रत्यक्ष योगदान पुग्ने जनाएतापनि तत्कालको खर्च उपलब्धिमूलक देखिएन ।
यस्तै, कार्यक्रम सञ्चालन गर्न सचिवालयले ३० करोड ६३ लाख १० हजार बढी खर्च भएको छ । जसमध्ये स्वदेशमा कार्यक्रम सञ्चालन गर्न २६ करोड ६६ लाख ७७ हजार र विदेशमा कार्यक्रम सञ्चालन गर्न ३ करोड ९६ लाख ३३ हजार खर्च भएको थियो ।
विदेशी पर्यटक नेपाल भित्र्याउने अभियान अन्तरगत विदेशीमा प्रसार कम गरी स्वदेश केन्द्रित प्रचार हुँदा उद्देश्यअनुरुप कार्यक्रम सञ्चालन नभएको औल्याएको हो । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अन्तरगत नेपाल पर्यटन बोर्ड स्थापना भई पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यहरु हुँदै आएको छ । बोर्डको स्थायी संरचनाबाट सो अभियान सञ्चाललन नगरी छुट्टै अस्थायी संरचना खडा गरी कार्यक्रम सञ्चालन गर्नु उपयुक्त देखिएन ।
केशरमहल मर्मतमा ५६ लाख खर्च
भ्रमण वर्ष सचिवालयले ठमेलस्थित केशर महलको मर्मत सम्भारमा ५६ लाख बढी खर्च गरेको छ । प्रतिवेदन अनुसार भूकम्पबाट क्षेति पुगेको सो भ्रमण मर्मत सम्भार गर्न ५६ लाख २९ हजार बढी खर्च भएको हो । राष्ट्रिय पुुनर्निर्माण प्राधिकरणबाट रेक्ट्रो फिट गर्नुपर्ने भन्दै २०७६ को फागुन १ गतेदेखि नक्सालमा भाडामा सारिएको थियो ।
निजी घरको मर्मत सम्भार गर्दा मात्र ९ लाख ५० हजार खर्च भएको छ । नक्सालको भवनमा सचिवालय सरेको २ महिनापछि सचिवालय नै विघटन भएको थियो ।
यस्तैगरी, नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को दफा ९ मा २० लाख रुपैयाँभन्दा बढीको खरिद गर्दा राष्ट्रिय बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने उल्लेख छ । तर सचिवालयले बिना बोलपत्र ठूलो रकम बराबरको सामग्री सोझै खरिद गरेको पाइएको छ ।
सचिवालयले विभिन्न कार्यक्रम गर्दा १२ करोड ८५ लाख ४० हजार र भ्रमण वर्षको उद्घाटनका लागि ४ करोड १३ लाख ७४ हजारको खरिद गरेको पाइएको छ । ४ करोड बराबरको खरिदमा १५ दिनको बोलपत्र आह्वान गरेर साना प्याकेज बनाएर सोझै खरिद गरेको पाइएको छ ।
बोलपत्रको माध्यमबाट खरिद नगरी पटक/पटक सोझै खरिद गरेकाले खरिद कार्य प्रतिस्पर्धी र मितव्ययी नभएको उल्लेख गरिएको छ ।
यस्तै सचिवालयले कर्णाली नदीमा र्याप्टिन सञ्चालन, पर्यटन प्रबद्र्धनका विभिन्न दृश्य, भिडियोहरु, शिवशक्ति सर्किट, नमस्ते सेन्टर निर्माण र टुरिजम इन्भेष्टमेन्ट समिट लगायतका दृश्य सामग्री, अध्ययन प्रतिवेदन तथा निर्माण तयार गर्न १ करोड ४९ लाख ६ हजा खर्च गरेको छ ।
पर्यटन मन्त्रालयको बेरुजु साढे ४४ करोड
महालेखाको ५८ औं प्रतिवेदनले पर्यटन मन्त्रालय र मातहतका १२ वटा निकायमा ४४ करोड ५८ लाख बेरुजु देखाएको छ । जसमा १ करोड १४ लाख म्याद नाघेको पेस्की देखिएको छ । त्यस्तै मन्त्रालयका संगठित संस्था र समिति गरी १४ वटा निकायमा ९७ करोड ५४ लाख बेरुजु देखिएको छ ।