काठमाडौं । हाल देशका १९ वटा विमानस्थल बन्द अवस्थामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विभिन्न जिल्लामा निर्माण गरिएका १९ वटा विमानस्थल अहिले बन्द अवस्थामा रहेका छन् ।
यीमध्ये केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानसमेत हुन सकेका छैनन् । विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन् ।
अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन् । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौंको लगानी खेर गएको छ ।
ठूला नेताको दबाब र निर्वाचन एजेन्डाका रूपमा विमानस्थल निर्माण भएका कारण पनि यस्तो अवस्था आएको जानकारहरु बताउँछन् । सरकार परिवर्तनसँगै कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहँुदा सरकारको करोडौँ लगानी डुबेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा न्यूनतम हिमाली क्षेत्रमा ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च हुन्छ ।
कालोपत्रे भएकै विमानस्थल बन्द
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले २०६९ मा ९ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्रे गरेको थियो । तर, विमानस्थल हाल प्रयोगविहीन भएको छ । कालोपत्रे गरेको केही दिनमै परीक्षण उडान भएपनि हालसम्म नियमित उडान नभएको प्राधिरकणले जनाएको छ ।
६ सय मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्रे गरिएसँगै बढाएर नौ सय मिटर बनाएको छ । बरु कालोपत्रे हुनु अघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो ।
गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरेतापनि नियमित उडान सुरु हुन सकेको छैन । तीन हजार तीन सय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजबाट उडान सुरू गरिएको थियो ।
यस्तै, २०७५ जेठ २१ गते परीक्षण उडान भएको इलाम नगरपालिका–९, गोलाखर्कस्थित फाल्गुनन्द विमानस्थलको धावनमार्गमा कालोपत्रेको गरिएको थियो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको सो विमानस्थलमो तारा एयरले परीक्षण उडान गरेयता नियमित उडान हुन सकेको छैन । करिब २८ करोड लगानीमा निर्माण गरिएको सो विमानस्थल हाल गौचरणमा परिणत भएको छ ।
पुरानो विमानस्थल गौचरणमा परिणत
२०१६ बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल गौचरनमा परिणत भएको छ । विमानस्थल निर्माण भएको १९ वर्षपछि २०३५ बाट उडान बन्द भएको विमानस्थल पुनःसंचालन हुन सकेको छैन ।
त्यस्तै, २०१७ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल २०६७ मंसिरदेखि २०६९ मंसिरसम्म दुई वर्ष उडान बन्द भएको थियो । बन्द भएको विमानस्थलमा २०६९ को मंसिरबाट पुनः सञ्चालनमा ल्याइए पनि त्यसले पूर्णता पाउन सकेन । सातामा तीन वटा उडान भर्ने योजनाअनुसार पुनः सञ्चालनमा आएको विमानस्थल अहिले बन्द छ ।
कुन–कुन विमानस्थल बन्द ?
उडानविहीन भएका १९ विमानस्थलमध्ये सन् १९८६ मा सञ्चालनमा आएको दार्चुला विमानस्थल, सन् १९७३ सालमा सञ्चालनमा ल्याईएको बाग्लुङ विमानस्थल, सन् १९७३ सालमा सञ्चालनमा ल्याईएको रुकुम चौरजहाजी विमानस्थ हाल बन्द रहेका छन् ।
२०७५ जेठ २१ गते परीक्षण उडान भएको इलाम नगरपालिका–९, गोलाखर्कस्थित फाल्गुनन्द विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको ढोरपाटन विमानस्थल, २०७६ पुस ७ गते परीक्षण उडान गरिएको सिजी चण्डेश्वरी विमानस्थल र विस २०७५ जेठ २५ गते परीक्षण उडान गरिएको गुल्मी रेसुङगा विमानस्थल सञ्चालन हुन सकेको छैन ।
यस्तैगरी, सन् १९७६ बाट सञ्चालनमा आएको जिरी विमानस्थल, सन् २००३ बाट सञ्चालनमा आएको खन्गेलडाँडा विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको महेन्द्रनगर विमानस्थलमा पनि अहिले बन्द छन् ।
यसैगरि, सन् १९८१ बाट सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल, सन् २०१४ बाट सञ्चालनमा आएको मसिनेचौर (डोल्पा) विमानस्थल, सन् १९६० बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल, सन् १९६६ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल, सन् १९८४ बाट सञ्चालनमा आएको टीकापुर विमानस्थलमा पनि अहिले उडान हुन सकेको छैन । स्याङबोचे विमानस्थल, लाङटाङ विमानस्थल र रोल्पा विमानस्थलमा पनि प्रयोगविहीन भएका छन् ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालभर ठूला साना गरि ५४ वटा विमानस्थल रहेका छन् । जसमा ३४ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ भने तीन विमानस्थल निर्माणको चरणमा रहेका छन् ।
१२ विमानस्थल मापदण्ड विपरीत
देशभर रहेका विभिन्न १२ वटा विमानस्थल मापदण्ड विपरीत निर्माण भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदन अनुसार हाल सञ्चालनमा रहेका १२ वटा विमानस्थल मापदण्ड अनुसार निर्माण नभएको पाइएको जनाएको हो ।
उक्त प्रतिवेदन अनुसार हवाई नीति, २०६३ अनुसार निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दुरी कम्तीमा हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्रि मधेशमा ४० नटिकल माइलको हुनुपर्नेमा सञ्चालनमा नरहेका १२ वटा विमानस्थल सो मापदण्ड अनुसार निर्माण भएको उल्लेख गरिएको छ ।