काठमाडौं । सरकारले गठन गरेको छानविन समितिले निषेधाज्ञाको समयमा विभिन्न वायुसेवा कम्पनीले चार्टर उडानमा महंगो भाडा लिएको निष्कर्ष निकालेको छ । कोरोना संक्रमणको जोखिमलाई आंकलन गर्दै सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाको समयमा विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा महंगो भाडा लिएका थिए ।
संकटको समयमा वायुसेवा कम्पनीले लुटधन्दा चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानविन गर्न एक समिति गठन गरेको थियो ।
मन्त्रालयको निर्देशनका आधारमा गत असार ७ गते नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
उक्त समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई बुझाएको प्रतिवेदनमाअनुसार केही एयरलाइन्सले चार्टर्ड उडानका दौरान तोकिएको भन्दा बढी भाडा लिएको उल्लेख छ ।
समितिलाई हवाई भाडा महंगो भएको सम्बन्धमा २५ वटा उजुरी परेको जनाईएको छ । सो उजुरीमध्ये सबैभन्दा धेरै कतार एयरवेजले गरेको चार्टर उडानको विषयमा उजुरी परेको थियो । २५ उजुरीमध्ये कतार एयरवेजको १६, टर्किस एयरलाइन्सको ७, हिमालय एयरलाइन्सको २ वटा उजुरी परेको थियो ।
जसमध्ये निर्धारितभन्दा बढी भाडा लिएको भन्दै कतार एयरवेजको चार्टर उडानको टिकटका सम्बन्धमा ९ वटा, टर्किस एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकटका सम्बन्धमा २/२ वटा उजुरी परेका थिए ।
सो समितिले निर्धारण गरेभन्दा बढी भाडा असुल गरेको भन्दै ३ वायुसेवा कम्पनीलाई भाडाको सम्बन्धमा थप अध्ययन गरेर कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिस गर्नुपर्ने उल्लेख गरेको छ ।
गत वर्षको बन्दाबन्दीको समयमा समेत वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको मिलोमोतोमा चर्को शुल्क लिएको भन्दै चौततर्फी विरोध भएपछि अध्ययन गर्न समिति गठन गरिएको थियोे । भाडाको विषयमा सो समितिले अध्ययन गरेतापनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन ।