मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति, रेस्क्यू र चार्टर्ड केन्द्रीत उडान गर्ने
काठमाडौं । निजी लगानीमा सञ्चालित मुस्ताङ हेलिकप्टर कम्पनीले उडान अनुमति पाएको छ । बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट उडान अनुमति पाएको हो । मुस्ताङ हेलिकप्टरले उडान अनुमति पाएसगैँ ११ वटा हेलिकप्टर कम्पनीले नेपाली आकाशमा उडान गर्नेछन् । कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ । कम्पनीसँग एयरबस हेलिकप्टर रहेको छ । यो कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड–१९ बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो सिलिङजस्ता काममा केन्द्रित हुने जनाईएको छ । मुस्ताङ हेलिकोप्टरले शुक्रबारदेखि उडान सुरु गर्ने भएको छ । सुरुवाती चरणमा एक हेलिकप्टरबाट उडान सुर गरेको कम्पनीले थप एक हेलिकप्टर आयातको क्रममा रहेको जनाएको छ । कम्पनीले स्पेनबाट डिसेम्बरभित्रै दोस्रो हेलिकोप्टर आइसक्ने जनाएको छ । सिनामंगल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय स्थापना गरिसकेको कम्पनीमा क्याप्टेन, इन्जिनियर सहित ३८ जना जनशक्ति रहेका छन् ।
निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने, अन्य गन्तव्यमा कति ?
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने भएका छन् । नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए । बन्दाबन्दीपछि सुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो । भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । निगमका एक विभागीय निर्देशकका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । नेपालमा पर्यटकीय सिजन सुरु भएको छ । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन् । एयर अरेबियाले हरेक दिन काठमाडौँ गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ । यस्तै फ्लाई दुबईले काठमाडौँका लागि सातामा १० उडान गर्नेछ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको छ उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको छ उडान सञ्चालनको अनुमति पाएको छ । त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कूल सात उडानको अनुमति पाएको छ । जजिरा एयरवेजले काठमाडौँका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाडौँ उडान गर्नेछ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौँ आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ । नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेशनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिका छ । उक्त एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार उडान गर्नेछ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । त्यस्तै हङकङका लागि हरेक मङ्गलबार उडान हुनेछ । त्यसैगरी कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौँ गन्तव्यमा उडान भर्नेछ । टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाडौँमा उडान गर्नेछ । सिङ्गापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलङ्कन एयरलाइन्सले मङ्गलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ । यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो । अब क्यानले छिट्टै विन्टर उडानको तालिका बनाउनेछ । अहिले तीन नेपालीसहित १२ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
चार महिनापछि खुल्यो मनकामना मन्दिर
गाेरखा । नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए । मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । ‘आज बिहान नियमितरूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भने, ‘पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।’ मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताए । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए । मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका व्यवस्थासमेत गरिएको उनको भनाइ छ । यता मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । यसैबीच कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । रासस