डोल्पामा सधैं हवाई टिकटकै सास्ती

जाजरकोट । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौंतर्फ लागिन् । दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पुर्याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपर्याे । दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएएपछि नेपालगञ्ज पठाएकामा डाँगीले खुसी व्यक्त गरे । गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका लागि चार दिन बस्नुपर्याे । डाँगीले भने, ‘चार दिनपछि मात्र टिकट पाइयो, छिनछिनमा बादल लाग्नुका साथै हिउँ पर्दा उडान अवरुद्ध हुँदा समस्या भयो । चिसो अत्यधिक छ । अनलाइनबाटै टिकट पाउन सके सहज हुन्थ्यो ।’ बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन् । टिकटका लागि उनीहरु राति जाग्राम बस्छन् । ‘उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन’, समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भने, ‘हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन । सक्दो मिलाउने प्रयासमा हुन्छौँ ।’ शाहीका अनुसार समिटको एउटा जहाजले मात्र डोल्पाका लागि उडान भर्छ । डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठूलै युद्ध जितेझैँ हुने यात्रु बताउँछन् । डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगञ्ज र जुफाल विमानस्थलमा यात्रुको चाप देख्दा आफू अचम्ममा परेको बताए । उनले भने, ‘सडकमार्ग राम्रो भएको भए सायद हवाईमार्गमा यति धेरै चाप हुने थिएन होला । विमानस्थलको अवस्थासमेत राम्रो छैन ।’ डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक हवाईमार्गबाटै नेपालगञ्ज झर्ने भएकाले यात्रुको चाप बढी हुने गर्दछ । नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा नौ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगञ्ज आउँदा पाँच हजार बढी भाडा तिर्नु पर्छ । जति महङ्गो भए पनि भनेको बेला टिकट नपाउँदा यात्रुले समस्या भोग्दै आएका छन् । पत्रकार महासङ्घ डोल्पाका सचिव लेखबहादुर बुढा भन्छन्, ‘टिकट हातमा परे पनि ढुक्क हुने अवस्था छैन, सिकिस्त बिरामी आए उनीहरुलाई नै पठाउनुपर्छ ।’ डोल्पामा निजी क्षेत्रका दुई हवाई कम्पनीले उडान भर्दै आएका छन् । समिट र तारा एयरले मात्र डोल्पामा एक/एक उडान भर्दा यात्रुको चाप बढेको हो । नेपाल एयरलाइन्सले डोल्पामा उडान नभरेको झण्डै दुई वर्ष हुन थालेको छ । यात्रुको चाप हेरेर उडान सङ्ख्या थप्नुपर्ने माग डोल्पावासीको छ । डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थल छ, तर त्यो सञ्चालनमा आउन सकेको छैन । सडक स्तरोन्नतिको ढिलाइले हवाईमार्ग रोजाइ जाजरकोट–डोल्पा सडकखण्डको ११८ किलोमिटर लम्बाइमध्ये १७ किलोमिटर सडकको स्तरोन्नतिको काम दुई वर्षदेखि सुरु भए पनि अझै पूरा भएको छैन । सडकखण्डको बीचमा रहेका झण्डै १३ पुलमध्ये जाजरकोट खण्डको अधिकांश पुल निर्माणको चरणमा भए पनि डोल्पा खण्डमा निर्माण पूरा नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । सडक डिभिजन चौरजहारीले सडक र पुल निर्माणको जिम्मा लिएको छ । जाजरकोट खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्नका लागि आठबीसकोट नगरपालिकाका प्रमुख गोखरबहादुर केसीले लिएको ठेक्काको काम दुई वर्ष बित्दा पनि पूरा भएको छैन । रिम्नाबाट तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का अन्तिम चरणमा पुगेको डिभिजन प्रमुख ध्रुव झाले बताए । यी खण्डमा अघिल्लो वर्ष नै निर्माण पूरा गर्ने भनिएका पुल यस वर्ष पनि निर्माण हुने अवस्था छैन । रासस

बुद्धको रणनीतिक योजनाः ५ वर्षमा १० जहाजबाट दुर्गमका क्षेत्रमा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्धले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको हो । तयारी स्वरुप बुद्धले अबको ५ वर्षमा १० वटा ट्वीनअटर जहाज थप गरी दुर्गमका क्षेत्रमा उडान भर्ने जनाएको छ । बुद्धले सन् २०२३ को सुरुवातदेखि नयाँ जहाजबाट हवाईसेवा सुचारु गर्ने भएको छ । सुरुवाती चरणमा ४ वटा ट्वीनअटर विमान थपेर उडान भर्दै क्रमश सन् २०२४ देखि २०२६ सम्म प्रत्येक वर्ष २/२ वटा जहाज थप गर्ने जनाएको हो । दुर्गमका क्षेत्रमा ट्वीनअटर विमानबाट उडान गर्न बुद्धले नयाँ जहाजको खरिद तयारीका लागि जहाज निर्माता कम्पनीसँग छलफल सुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता गरेका छन् । कम्पनीले दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाउने कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार सन् २०२३ को सुरुवातबाटै ४ वटा जहाजले उडान विस्तार गरेसागै सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ । मुख्य सहरमा उडान भरिरहेको बुद्ध एयरले पछिल्लो वर्ष प्रादेशिक उडानमा बढी ध्यान दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा उडान गर्ने जनाएका छन् । २२ को मार्चमा ३ थान एटिआर जहाज थप्दै कम्पनीले सन् २०२२ मा तीन थान एटिआर जहाज थप गर्ने तयारी थालेको छ । सन् २०२२ को मार्च महिनाभित्रमा कम्पनीले एटीआर–७२ ५०० मोडलका ३ थान जहाज थप गर्ने तयारी थालेको जनाएको छ । हाल बुद्ध एयरसँग १५ वटा जहाज रहेका छन् । हाल कम्पनीसँग सबैभन्दा बढी एटीआर–७२ ५०० मोडलका १० वटा, एटीआर ७२– ३०० मोडलका ३ वटा र बीचक्राफ्ट १९०० डी विमान २ वटा गरी १५ वटा विमान छन् ।

बागलुङ विमानस्थलकाे कालोपत्र अन्तिम चरणमा, छिटै उडान सुरु हुने

फाइल फाेटाे बलेवा । धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् । नेपाल एयरलायन्सले बलेवामा उडान गर्नका लागि प्रस्ताव गरेकाले काम सकिँदा बित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरुसँग पनि कुराकानी भइरहेको छ’, उनले भने, ‘हामी बनेको पूर्वाधारको यथेष्ट उपयोग गर्छौं, त्यसका लागि पहल भइरहेको छ ।’ नेकपा एमालेका नेता लीलबहादुर थापाले बलेवा विमानस्थल पुनर्निर्माणको काम तत्काल सम्पन्न गरी उडान सञ्चालनको तयारी थाल्न नियामक निकायको ध्यानाकर्षण गराएक छन् । मङ्गलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर बागलुङका पूर्वजिल्ला सभापतिसमेत रहेका थापाले महानिर्देशक राजकुमार क्षेत्रीलाई विमानस्थल पुनर्निर्माण काम तत्काल सम्पन्न गरी नियमित उडानको तयारी थाल्न ध्यानाकर्षण गराएक हुन् । नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा बलेवा विमानस्थल बागलुङको भविष्यसँग जोडिएको विषय भएकाले पुनर्निमार्णपछि यसको सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेता थापाले महानिर्देशकसँगै प्राधिकरणमा कार्यरत अन्य विज्ञ कर्मचारीसँग छलफल गरेक थिए । छलफलमा विज्ञहरूले बलेवा विमानस्थल निर्माणाधीन कालीगण्डकी करिडोरको केन्द्रमा पर्ने भएकाले यसलाई नियमित उडान सञ्चालनको अलावा, एभिएसन स्पोर्टसका रुपमा अघि बढाउन सके धौलागिरि क्षेत्रकै मुहार फेरिने धारणा राखेका थिए । विसं २०७७ फागुन मसान्तसम्म एक वर्षमा सक्नेगरी काम सुरु भएको विमानस्थल कालोपत्रको काम कोरोना महामारीका कारण प्रभावित हुँदा दुई वर्षमा सकिँदै छ । आउँदो चैतसम्म विमानस्थल कालोपत्रको काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार आवश्यक पूर्वाधारको काम सकिएकाले कालोपत्रको काम मात्रै २० दिनमा सकिन्छ । तापक्रमले साथ दिएमा पुस मसान्तभित्रै विमानस्थल कालोपत्र हुने निर्माण कम्पनी काष्टमण्डप एन्ड उमा जेभीले जनाएको छ । रासस