२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको जानकारी दिए । योसहित अब साविकबमोजिम भारतका तीनवटै गन्तव्य नयाँदिल्ली, मुम्बई र बैंलोरमा निगमको नियमित उडान हुनेछ । सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैङ्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन । अध्यक्ष अधिकारीका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा साताको दुई दिन हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ । त्यसैगरी बैङ्लोर गन्तव्यमा पनि डिसेम्बर १८ तारिखदेखि साताको दुई दिन हरेक शनिबार र मङ्गलबार उडान हुनेछ । दुवै गन्तव्यका लागि छिट्टै टिकटको बुकिङ पनि खुला गरिनेछ । काठमाडौं–बैङ्लोर–काठमाडौं उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आउने गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडान तथा उडान सङ्ख्या बढ्ने भएकाले अब नेपाल आउने भारतीय नागरिक बढ्ने अनुमान गरिएको छ । नेपाल एयरलाइन्सको बैङ्लोरकी स्टेसन म्यानेजर रीतादेवी राईले भारतबाट नेपाल आउन चाहने धेरैभन्दा धेरै धार्मिक यात्रु प्रतीक्षारत रहेको बताइन् । उनले एक दुई दिनभित्रै अग्रिम बुकिङ खुलाइने जानकारी दिइन् । बैङ्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेकाले यो गन्तव्यको व्यापार पनि राम्रो हुने म्यानेजर राईको भनाइ छ । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा सात उडान थप्ने भएको छ । कोभिड महामारीपछि उडान स्थगित भएको केही समयपछि एयर बबल सम्झौताअनुसार सुरुमा साताको दुई तथा हाल दैनिक एक उडान गर्दै आएको नेपाल एयरलाइन्सले अब दैनिक दुई उडान भर्ने तयारी गरेको एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले अब दैनिक दुई उडान गर्ने गरी हाल भइरहेका सातामा सात उडानलाई १४ बनाउन लागिएको जानकारी दिए । एयरलाइन्सको व्यापारिक हिसाबले नयाँ दिल्ली महत्वपूर्ण मानिन्छ । यो गन्तव्यमा दुइतर्फी यात्रुको चाप रहन्छ । दुबईमा पनि उडान थपिँदै नेपाल एयरलाइन्सले दुबई गन्तव्यमा पनि उडान थप्ने भएको छ । दुबईमा पनि सातामा सात उडान भइरहेकामा अब थप दुई उडान थपेर सातामा नौ उडान सञ्चालन गरिनेछ । यो गन्तव्यमा डिसेम्बर ५ तारिखदेखि दुई उडान थप गरिने एयरलाइन्सले जनाएको छ । साउदी अरेबियामा पनि छिट्टै उडान नेपाल एयरलाइन्स नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अध्यक्ष अधिकारीका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्नेगरी तयारी भइरहेको छ । जिएसए छनोट भई त्यहाँको सिभिल एभिएसनबाट उडान अनुमति लिने प्रक्रिया करिब अन्तिम चरणमा रहेकाले ढिलोमा महिना दिनभित्रै उडान सञ्चालन गरिने अध्यक्ष अधिकारीले बताए । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन् । रासस

ग्राउण्डेड चिनियाँ जहाज पुनः सञ्चालनको तयारी, मर्मतमै १७ कराेड खर्च हुने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरेको चिनियाँ जहाज पुनः सञ्चालनको तयारी थालेकाे छ । निगमका तत्कालीन अध्यक्ष सुशिल घिमिरेको अध्यक्षतामा २०७७ साउन १५ गते बसेको निगम सञ्चालक समितिले चिनियाँ जहाज सञ्चालनमा १९ बुँदे कठिनाई रहेको भन्दै ग्राउन्डेड गरिएको जहाज निगममा नयाँ नेतृत्व आएसँगै पुनःसञ्चालनको तयारी भएको हो । ग‍‍‍‍त कात्तिक ८ गते मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि निगममा कार्यकारी अध्यक्षको रुपमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । निगमका पूर्वकर्मचारी समेत रहेका अधिकारी कार्यकारी भूमिकामा आएसँगै १६ महिनादेखि थन्काइएको चिनियाँ जहाज सञ्चालनको तयारी थालेका हुन । तत्काल अर्काे विकल्प नहुँदा सम्मका लागि चिनियाँ जहाज सञ्चालन गर्नुपर्न भन्दै कार्यकारी अध्यक्षले ठूलो रकम खर्च गरेर जहाजको मर्मत गर्न लागेको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार ७ वर्षमा १० अर्ब बढी खर्च गरेको सो विमान पुनः सञ्चालन गर्दा झनै नोक्सानी पर्ने देखिएको छ । कार्यकारी अध्यक्षले आफूले जहाज सञ्चालनको तयारी थालेको देखाउन नोक्सानमा गएको निगमलाई झनै ठूलो नोक्सानीमा धक्कल्ने अनुमान गरिएकोे निगमका कर्मचारीहरुले आरोप लगाएका छन् । २०७७ को साउन १५ गतेबाट ग्राउन्डेड गरिएको ६ थान चिनियाँ जहाज विगत १६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको पार्किङमा थन्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा राखिएको ६ थान चिनियाँ जहाजबाट निगमलाई १६ महिनाको अबधिमा २० करोड रुपैयाँ शुल्क थपिएको छ । विमानस्थलको पार्किङमा राखिएको शुल्क र इन्स्युरेन्स (बीमा) बापत निगलाई उक्त रकम थपिएको हो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ५६ सिट क्षमताको दुईवटा एमए ६० र १७ सिट क्षमताको चारवटा वाई १२ जहाज गरी ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । जसमा तीन अर्ब १४ करोड ऋण तिर्नैै बाँकी छ । निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नु बाँकी नै रहेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार तालुकदार मन्त्रालयको रुपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग राय माग गरेको थियो । निगमले जहाज बिक्रीका लागि अर्थ मन्त्रालयसँग अनुमति माग गरेतापनि अर्थले २०७७ को चैतको १३ गते बिक्री तथा भाडामा लगाउने गरी २ विकल्प दिएको थियो । अर्थ मन्त्रालयले जहाज व्यवस्थापनका लागि दिएको विकल्प विपरित निगम व्यवस्थापनले पुनः जहाज सञ्चालनको तयारी थालेको हो ।

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

फाइल फाेटाे सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पु¥याइएको हो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ । पुनः आज सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिए । लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताए । खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न सङ्घीय सांसद् रङ्गमती शाही लिमी पुगेका थिए ।