हवाई इन्धनको मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले बढाए हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै भाडादर बढाएको छ । यसअघि गत कात्तिक १७ गते प्रति उडान साढे ४ सय रुपैयाँसम्म भाडा बढाएका वायुसेवा सञ्चालकले ११ दिनको अवधिमा पुनः भाडा बढाएका हुन । वायुसेवा सञ्चालकले आईतबार सार्वजनिक गरेको नयाँ हवाई भाडादर अनुसार प्रति उडान २२० रुपैयाँसम्म भाडा बढाएका छन् । बढाएको भाडा अनुसार अब काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरै ४ हजार ४६० रुपैयाँ पुगेको छ । आईतबार सो रुरटमा २२० रुपैयाँ भाडा बढेको हो । सघंले जारी गरेको सूची अनुसार काठमाडौं– सुर्खेतमा १८५, भ्रदपुरमा १५०, विराटनगरमा १२०, जनकपुरमा ६५, भरतपुरमा ५५ रुपैयाँ मूल्य बढाएका छन् । यस्तै, पोखरा–विराटनगरमा १८०, काठमाडौं–माउन्टेन उडानमा १७० रुपैयाँ र विराटनगर माउन्टेन उडानमा १६० रुपैयाँ भाडा बढाएका छन् । [pdf id=301983]

विमानस्थलमा हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न पनि पाएनौं-विजय श्रेष्ठ

विजय श्रेष्ठ, हिमालय एयरलाइन्सका बरिष्ठ उपाध्यक्ष हिमालय एयरलाइन्स नेपालको यती वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी र तिब्बतको सिभिल एभियसन डभेलपमेन्ट एन्ड इन्भेष्टमेन्टको संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स कम्पनी हो । यसमा यती समूहको ५१ प्रतिशत र ४९ प्रतिशत तिब्बत एयरलाइन्सको लगानी रहेको छ । एयरलाइन्ससँग हाल एयरबस ३२० सिरिजका चार थान जहाज छन् । प्रस्तुत छ कम्पनीका बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठसँग विगत ७ वर्षमा यस कम्पनीको आरोहअवरोह, वर्तमान अवस्था र भविष्यको योजनाबारेमा समुन्द्रा घिमिरेले गरेको विकास वहस । सन् २०१४ देखि शुरु भएको हिमालयन एयरलाइन्सको व्यवसायिक यात्राको समिक्षा कसरी गर्नुहुन्छ ? हामीले सन् २०१४ सालमा हाम्रो बिजनेशलाई नेपालमा व्यवसायिक रुपमा सुरु गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रियाहरु सक्ने काम गर्यौं । नेपाल सरकारबाट अनुमति लिएपछि हामीले सन् २०१५ को जुन महिनामा जहाज ल्याएर उडानको तयारी (फ्लाइट अपरेशन) गर्ने योजना थियो । तर अप्रिलमा गएको महाभूकम्पले गर्दा हामीले सम्पूर्ण तयारी केही समय रोक्नुपर्यो । जहाज खरिद, कर्मचारीको व्यवस्थापनदेखि भौतिक पूर्वाधारका सम्पूर्ण कामलाई हामीले पोस्टपोण्ड गर्नुपर्ने भयो । त्यसले गर्दा हाम्रो कामलाई एक वर्ष रोक्नुपर्याे । भूकम्पका कारण हामीले सन् २०१६ मा मात्र सबै काम सक्यौं । हामीले एक वर्ष यतिकै खेर फाल्नुपर्यो । उक्त एक वर्षसम्म आम्दानीको बाटो खोल्न सकेनौं, आम्दानीको मुहान नै बन्द भयो । एक वर्षसम्म हाम्रो लगानी मात्र भयो, प्रतिफल केही भएन । हाम्रो सुरुवाती चरण नै दुःखद हुन गयो । तयारीको हिसाबले हामीले सबै इनर्जी, पावर लगाएर तयारी गरेका थियौं, तर सर्भिस लन्च गर्न नपाउँदा सवा एक वर्ष यत्तिकै गयो । व्यवसायिक रुपमा हेर्दा अहिले नाफा वा नोक्सान कस्तो अवस्थामा छौं ? वास्तवमा भन्ने हो भने सन् २०१६ सालदेखि हामीले व्यवसाय सुरु गरेका हौं । हाम्रो सेवाको सुरुवातसँगै हामीले जहाज थप गर्यौं । जहाजको संख्या सँगसँगै हामीले उडान रुट (गन्तव्य) विस्तार, जनशक्तिको व्यवस्थापन गरेका थियौं । सुरुको अवस्थामा हामीलाई केही समस्या भयो । नयाँ क्षेत्र । भर्खरै जन्मेको बच्चालाई देखिने समस्या जस्तै हामीलाई पनि केही समस्या देखिएको थियो । अहिलेसम्म हामीले सुरुवातमा भूकम्पदेखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अवस्थामा आइपुग्दा हामी नाफामा जान सकेका छैनौं । हामी झण्डै १० अर्ब नेपाली रुपैयाँ बराबर हामी नोक्सानमा छौं । तर अहिलेको नोक्सानलाई हामीले अनपेक्षित रुपमा लिएका छैनौं । हाम्रो बिजनेश प्लान लामो छ । सानातिना नोक्सानमा डराएर हुँदैन भन्ने हिसाबले योजना अनुसार काम गरेका छौं । हामीलाई विश्वास छ, हामी केही समयपछि नाफामा जान्छौं । अहिलेको अवस्था (कोभिड महामारी) मा हामीले उद्धार, मेडिकल कार्गाेदेखि चार्टड उडान गर्यौं । महामारीको अवस्थामा हामीले सरकारलाई सहयोग गर्नेदेखि (राहत कोषमा १ करोड जम्मा गर्नेदेखि निःशुल्क मेडिकल उडानसम्म) नियमित उडान सुचारु नै राखेका थियौं । कोभिडको महामारीमा हामीले सबै कर्मचारीलाई सुरक्षित साथ काममा खटाएका थियौं । कोही कर्मचारीलाई केही भएन । हामीले हाम्रा सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा तलब तथा भत्ता उपलब्ध गराएका थियौं । कर्मचारीको कार्यक्षमताका आधारमा केही कर्मचारीलाई पुरस्कृत समेत गर्न सक्यौं, यही नै ठूलो उपलब्धि हो । कोरोनाका कारण जनता घरभित्र बसिरहेको अवस्थामा हामी निडरका साथ निरन्तर जनताको सेवामा खटियौं । यही नै हाम्रो उपलब्धी भयो । हामीले सरकारलाई बुझाउनुपर्ने रकम (ठूला करदाता, नेपाल नागरिक उडड्यन प्राधिकरण, विमानस्थल कार्यालयदेखि नेपाल वायुसेवा निगमलाई) नियमित रुपमा बुझाएका छौं । हामी नाफामा जान अझै केही समय लाग्छ । हाम्रो क्षमता विस्तारदेखि (जहाज थप) उडान गन्तव्य विस्तार लगायतका बाँकी धेरै काम गर्नुपर्छ । कोभिडले गर्दा योजना अनुसार जहाज ल्याउन सकिएको छैन । हामीले हाल ४ वटा जहाजबाट उडान गरिरहेका छौं । सन् २०२१ को सुरुवाती चरणमा नै हामीले नयाँ जहाज ल्याउनका लागि सरकारबाट अनुमति पाएका थियौं । सरकारले जहाज खरिदका लागि एक वर्षको समय दिएको थियो । तर कोरोना महामारीका कारण हामीले जहाज ल्याउन सकेनौं । अब पुनः जहाज खरिदका लागि अनुमति लिएर नयाँ प्रक्रिया सुरु गर्नुपर्छ । अन्य वायुसेवा कम्पनीहरुले भएका जहाज विस्थापन गरिरहेका छन् । तर हामीले थप जहाज खरिद गरेर उडान सुरु गर्ने तयारी गरेका छौं । कोभिडले रोकेको जहाज खरिद प्रक्रिया हामीले पुनः सुरु गरेका छौं, सम्भवत अर्काे वर्षभित्र जहाज आइसक्छ । हामी क्रमश क्षमता विस्तार गर्ने योजनामा छौं । जहाज थपसँगै कर्मचारी, ग्राउण्ड ह्याडलीङ, गन्तव्य विस्तारका सबै कामहरु हुन्छन् । प्यान्डामिक (कोभिड) को अवस्था सकिएपछि हामीले जहाज थपसँगै नयाँ÷नयाँ गन्तव्यमा उडान विस्तार गर्छौं । चीनका विभिन्न १० गन्तव्यमा उडान विस्तार गर्ने हाम्रो तयारी छ । चीन सरकारले नाका खुला गर्नासाथ हामी ५ गन्तव्यमा उडान विस्तारको तयारीमा छौं । नाका खुला हुनासाथ उडान सुरु गर्न हामीले सबै व्यवस्था मिलाइसकेका छौं । चीनसँगै हामी अन्य गन्तव्यमा उडान विस्तारको तयारीमा छौं । हाल अन्य देशको तुलनामा घुमफिरका लागि चीनका पर्यटकहरु धेरै बाहिरिने गरेका छन् । चीनका १० गन्तव्यमा नियमित उडान गरेर हामीले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने छौं । हाम्रो गन्तव्य विस्तारसँगै नेपालको पर्यटन क्षेत्रमा धेरै सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं । हामीले उडान सुरु गरेदेखि क्षमता विस्तार गरिरहेका छौं । नेपाली कोपाइलटको क्षमता विस्तार गरेर हामीले क्याप्टेन बनाएका छौं । सुरुवाती चरणमा हाम्रा सबै पाइलट विदेशी थिए । अहिले १ तिहाई नेपाली क्याप्टेन हामीले बनाइसकेका छौं । अब केही समयमा नै हामीले सबै विदेशी पाइलटलाई हटाएर सबै नेपाली क्यापटेन बनाउछौं । सोही तयारी अनुसार केही पाइटलहरु तालिमका लागि विदेश गएका छन् । नेपाली दक्ष जनशक्तिलाई टप म्यानेजमेन्टमा राख्ने हाम्रो योजना छ । नाफामा जानलाई कति समय लाग्छ, केही अनुमान छ ? हामी आफ्नो कुरामा स्पष्ट छौं । चीन र नेपालीकोे संयुक्त लगानीमा सञ्चालित एयरलाइन्स कम्पनी हो । दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउने, देशको अर्थतन्त्रलाई जोगाउँने, पर्यटन क्षेत्रलाई पुस गर्नेदेखि एभिएसन क्षेत्रमा काम गर्ने हाम्रो योजना हो । योजना अनुसार हामीले यी चार क्षेत्रमा काम गर्न सक्यौं भने हामी नाफामा जान्छौ । हामीले अहिले नाफाभन्दा पनि सेवामा जोड दिएका छौं । हामी तत्काल नाफाभन्दा पछि कम्पनीलाई ग्रो गर्न लागेका छौं । केही समय अघि सेल्फ ग्राउण्ड ह्याण्डलिङको विषय चर्चामा थियो । समस्या समाधान भयो ? हामीलाई नेपाल सरकारले सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएको हो । सरकारले दिएको अनुमति अनुसार हामीले काम गर्न पाएनौं । यात्रीहरु विमानस्थलमा चेकिङ गर्ने प्रक्रिया, विमानस्थलमा बस्ने व्यवस्था विमानस्थलले नै गर्छ । त्यसपछि ती यात्रुलाई जहाजसम्म पुर्याएर बसाउने, जहाजको बेसिक सफाइ गर्ने कामलाई हामीले सेल्फ ग्राउण्ड ह्याण्डलिङ भन्छौं । यस्तै, कमर्शियल ग्राउण्ड ह्याण्डलिङ भनेको जहाजको भित्र बाहिर सफाइ गर्ने, पुस गर्नेदेखि उडानका लागि तयारी गर्ने काम हो । हाम्रो आश्रयस्थल भनेको नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । होम बेस भएको विमानस्थलमा हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न सरकारले दिएको अनुमतिको समेत प्रयोग गर्न पाएनौं । अनुमति अनुसार काम गर्न नपाउँदा हामीले प्रतिउडान ३ हजार डलर नेपाल वायुसेवा निगमलाई बुझाउने गरेका छौं । हामीले हाम्रो यात्रुलाई नमस्कार गर्न नपाउने ? व्यवसायिक रुपमा सरकारले दिएको अनुमतिको उपयोग गर्न पाउनुपर्छ जस्तो लाग्छ । सरकारको अनुमति पाएर पनि हामीले सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम गर्न पाएनौं । महङ्गो शुल्क लिने तर राम्रो सेवा नभएको भन्दै धेरै गुनासो आउने गरेको छ । निगमले लिएको पैसा अनुसार काम गरेन । लोकल बजारमा भूकम्प र विश्व बजारमा कोभिड–१९ झेल्नुपर्याे । तपाईंहरुलाई गलत समयमा व्यवयास सुरु गरिएछ भन्ने अनुभूति हुन्छ ? यो कोइन्सीडेन्ट मात्र हो । भैपरी आउने कुरा कसैलाई थाहा हुँदैन् । भूकम्प सन् २०१५ मा नगएको भए अरु कुनै समयमा त जान्थ्यो होला नी । अब अहिले कोभिड महामारी आएको छ । कोभिड नभएपनि अन्य कुनै महामारी आउथ्यो होला नी, हैन र । २००० सालदेखि एभिएसन क्षेत्रमा क्रमशः विभिन्न समस्या आएका छन् । यो चक्र प्रणाली अनुसार आइरहन्छन् । हाम्रो जीवनमा जसरी विभिन्न खालका समस्या आउँछन्, त्यसरी नै व्यवसायमा पनि आउँछ नै । नियम एकै हो, हामीले समाधान गर्ने हो, भागेर सुख नै छैन नि । यस्ता खालका समस्याहरु आउँछन्, ढिलो चाडो मात्र हो । विदेशी कम्पनीको संयुक्त लगानीमा कम्पनी सञ्चालन गरिएको छ । जोइन्ट भेन्चरमा काम गर्दा एयरलाइन्सलाई सञ्चालन कस्तो हुँदोरहेछ ? विदेशी जोइन्ट भेन्चरका केही फाइदाहरु पक्कै छन् । हामीले फाइदा नै लिएका छौं । हामीले एयरबस २२० (न्यारोवडी) नेपाल ल्याउँदा आवश्यक जनशक्ति केही थिएन । हामीलाई पाइलट, कोपाइलट, एयरहोस्टेज, इन्जिनियरदेखि दक्ष कामदारको आवश्यक थियो । तर हामीले खोजेजस्तो दक्ष जनशक्ति नेपालमा उपलब्ध भएन । विदेशी कम्पनीसँगको साझेदारी अझ भनौं एभियसन क्षेत्रकै कम्पनीसँगको संयुक्त लगानी थियो । चीनमा आन्तरिक उडान गरिरहेको कम्पनीसँगको संयुक्त लगानी हुँदा हामीले आवश्यक पर्ने उपकरणदेखि सबै म्यानपावर चीनबाटै पायौं । बाहिर देख्दा जति सजिलो छ नी, तर अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनी सञ्चालन गर्न धेरै अप्ठ्यारो छ । धेरै अप्ठ्यारोका बीच पनि हामीलाई विदेशी कम्पनीको लगानी र सहयोगका कारण काम गर्न सहज भयो । एउटै क्षेत्रको जोइन्ट भेन्चर भएर हामीलाई धेरै सहज भएको छ । हामीले धेरै सहयोग लिएका छौं । सरकारले हिमालय एयरलाइन्सलाई अलि धेरै माया गरेको छ भनिन्छ नि ? सरकारले हिमालयलाई मात्र हैन, नेपालमा उडान गर्ने सबै एभियसन (वायुसेवा कम्पनीलाई) माया गरेको छ । नेपालको सरकार सँधैभरि असल सरकारको रुपमा रहेको छ । सरकारले सबै वायुसेवा कम्पनीलाई हेर्ने नजर पोजेटिभ छ, यो पक्का नै हो । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली लगानीका कम्पनी नभई नेपालमा उडान गर्ने सम्पूर्ण विदेशी कम्पनीलाई हेर्ने नजर एकै छ । सरकारले सहयोग नगर्ने हो भनै २९÷३० वटा विदेशी वायुुसेवा कम्पनीले नेपालमा उडान गर्ने थिएनन् होला । अर्काे कुरा सरकारलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि एभियसनकै मुख्य भूमिका छ भन्ने कुरा थाहा छ । सोही कारण सरकारले एभियसनलाई पोजेटिभ दृष्टिकोणबाट हुर्नुपर्छ । अर्काे कुरा जोइन्ट भेञ्चरको लगानी भएका कम्पनीमा सटेन कुरामा सरकारको पोलिसी राम्रो भएपनि केही कुरामा समस्या छ । हामी नोक्सानमा गएको कम्पनी हो । करिब तीन वर्ष अगाडी हामीलाई पुँजीको आवश्यक परेको थियो । हामीले सरकारसँग विदेशी पेरेन्ट कम्पनीबाट लोन ल्याउनका लागि अनुमति मागेका थियौं । त्यतिबेला हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई बक्यौता रकम स्वरुप ठूलो रकम भुक्तानी गर्नुपर्ने थियो । सरकारलाई विभिन्न शीर्षकमा गरी ५० करोडभन्दा बढी रकम हामीले भुक्तानी गर्न सकेका थिएनौं । हामीलाई जोइन्ट भेञ्चर सुरु गर्ने समयमा विदेशी लोन, डाइरेक्ट इन्भेष्टमेन्टका रुपमा आउँथ्यो । तर पछि हामीले काम गर्दा गर्दै विदेशी कम्पनीले डाइरेक्ट लोन ल्याउन नपाउने, अझ भनौं पेरेन्ट कम्पनीबाट त लोन दिनै नपाउने नियम ल्यायो । हामी नोक्सानीमा गएका कम्पनीलाई स्वदेश तथा विदेशी कुनै पनि कम्पनीले लोन दिँदैनन् । लोन ल्याउन नपाउने सम्बन्धित कम्पनीबाट लोन ल्याउन नपाउने व्यवस्था हुँदा हामीलाई धेरै अप्ठ्यारो पर्यो । त्यसपछि मैले सरकारसँग सरकारी ऋण भुक्तानी गर्न भएपनि विदेशी कम्पनीबाट लोन ल्याउने व्यवस्था मिलाईदिनुस् भनेर निवेदन गरे । सरकारले सो निवेदन स्वीकृत गरेन । हामीलाई धेरै अप्ठ्यारो हुँदा सरकारले सहयोग गरेको छैन, नियम अनुसार अनुमति पाएको कामको त हामीले प्रतिफल पाउन सकेका छैनौं, कसरी माया गर्याे सरकारले हिमालय एयरलाइन्सलाई ? सरकारलाई राजश्व तिर्न, कम्पनीलाई जोगाई राख्ने र दुई देशबीचको सम्बन्ध हामीले जोगाएका छौं नी । हामीलाई सरकारले ऋण ल्याउन नदिएको बेला फरेन इन्भेष्टमेन्टका लागी आग्रह गरिरहेको थियो । विदेशी कम्पनीलाई आउ भन्ने अनि आवश्यक पर्दा सहयोग नगर्ने सरकारको पुरानै नियम हो । लामो समयदेखि नेपाली आकाश ईयुको कालोसूचीमा छ । कालोसूचीबाट हटाउन पाएको भए, नेपालको एभियसनसँगै पर्यटन क्षेत्रलाई ठूलो राहत हुन्थ्यो ? नेपाली आकाश सन् २०१३ देखि यूरोपियन युनियन (ईयु) को कालोसूचीमा छ । आइकाओ र ईयुले नेपाली आकाशलाई सँगै कालोसूचीमा राखेपनि करिब तीन वर्ष अगाडी आइकाओले कालोसूचीबाट हटाइसकेको छ । आइकाओको कालोसूचीबाट नेपाली आकाश हट्नुको केही मुख्य कारण हामी पनि हो । हिमालय एयरलाइन्सको सेफ्टी स्टाण्डर्डलाई आधार बनाएर नै कालोसूचीको सूचीबाट हटाउन धेरै सहयोग पुगको छ । आइकाओ, नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीहरु हाम्रो सेफ्टी स्टाण्डर्डको अनुगमन गर्न आउनु भएको थियो । क्यानका हाकिमहरुको अगाडी नै आइकाओको प्रातिनिधिले हिमालय एशिया प्यासिफिकको दाजोमा (राम्रो एयरलाइन्समा पर्छ) राम्रो छ भनेर भनेका थिए । नेपाल अझै ईयुको कालोसूचीमा नै रहेको छ । यसका पछाडी केही मुख्य कारणहरु छन्, ती पुरा भएपछि हट्छ । ईयुले औंल्याएको एउटा मुख्य कुरा हो नेपाल नागरिक उडड्यन प्राधिकरण ट्क्याएर सेवा प्रदायक र नियामक निकाय छुट्टा छुट्टै बनाउनुपर्ने । ईयुले औंल्याए अनुसार क्यानलाई दुई भागमा विभाजन गर्न पर्यटन मन्त्रालयले नयाँ विद्येयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको छ । संसद्ले सो विधेयक पारित गरेर क्यान दुई भागमा विभाजन भएपछि ईयुले कालोसूचीबाट हटाउने मुख्य सम्भावना देखिएको छ । ईयुको कालोसूचीबाट नेपाली आकाश हटेसँगै नेपालमा युरोपियन पर्यटन धेरै भित्रने अनुमान गरिएको छ । विश्वमा युरोपियन नागरिकको संख्यासँगै बसाई र खर्च पनि धेरै गर्छन् भन्ने अनुमान छ । कालोसूचीबाट नेपाल हटेसँगै युरोपका नागरिकलाई नेपाल आउन सहज हुन्छ । नेपाली एयरलाइन्सले युरोपमा सिधा उडान गर्न सक्छन्, नभए पनि अरु एयरलाइन्सहरु सिधै नेपाल आउन सक्छन् । सिधा उडान सुचारु भएसँगै पर्यटकीय गतिविधि पनि बढ्ने अनुमान गर्न सकिन्छ । कम्पनी यहि मोडलमा सञ्चालन हुन्छ, कि पब्लिक कम्पनीमा जान्छ ? हामी जोइन्ट भेन्चर कम्पनी हौं । हाम्रो तत्कालीन योजना पब्लिकमा जाने छैन । हाम्रो सम्झौता अनुसार कम्पनी यहि मोडलमा सञ्चालन हुन्छ । हामी लगानी थप्छौं । कम्पनीलाई अगाडी बढाउन लगानीको आवश्यक त पर्छ नै, तर कति थपिन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । कोभिडले विश्वकै अर्थतन्त्र धरासायी बनेको समयमा हिमालयले चार्टर्ड उडान गरेर कर्मचारीलाई बोनस दियो भन्ने हल्ला छ नि, के यो सत्य हो ? हो, हामी कोभिडको समयमा यतिकै बसेनौं । हामीले माग अनुसार स्वास्थ्य मापदण्डको पालना गर्दै चार्टर्ड, उद्धार, मेडिकल कार्गाे लगायतका उडानहरु सुचारु नै राखेका थियौं । हामी कर्मचारी केन्द्रीत कम्पनी हो । नेपालका कमै संस्थामा सातामा २ दिन छुट्टी हुन्छ । तर हामीले हप्तामा २ दिन छुट्टी दिने गरेका छौं । हामीले कर्मचारीको क्षमता र दक्षता अनुसार २ दिन बिदासँगै समय समयमा उनीहरुलाई अपग्रेड गर्दै लगेका छौं । कर्मचारीलाई हामीले बोनस हैन, कोभिडको समयमा पनि नियमित रुपमा सेवा सुविधा दिन सक्यौं । हामीले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न बोनस होइन इन्सेन्टिभ दिन्छौं, त्यही दिएका हौं । यो हामीले आवश्यकता अनुसार दिने गरेका छौं, नियमित प्रक्रिया हो, कोभिडको समयमा मात्र दिएका हैनौं । अन्त्यमा कम्पनीको नयाँ जहाज थपसँगै नयाँ योजना के के छन् ? हामीले सन् २०२२ भित्र थप एउटा जहाज ल्याउने तयारी थालेका छौं । हामीले चीन सरकारले नाका खुला गरेपछि १० वटा गन्तव्यसम्म उडान विस्तार गर्ने तयारीमा छौं । ५ गन्तव्यमा हामीलाई कोभिड सुरु हुनुभन्दा अगाडी नै अनुमति पाएका हौं, नाका खुला हुनासाथ थप प्रक्रिया अगाडी बढाउछौं ।

असारमै सक्नुपर्ने पोखरा विमानस्थलको काम ८७ प्रतिशत मात्रै, अर्थमन्त्रीले भनेः छिटो सक्नुस्

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिएका छन् । निर्माणाधीन विमानस्थलको शनिवार निरीक्षण गर्ने क्रममा मन्त्री शर्माले भने ‘काम छिटो सकेर उडान सञ्चालन गर्नको लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाई हुँदैन, निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुप¥यो,उनले थपे ‘सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ कि वा बजेट व्यवस्था गर्नुपर्नेछ कि तपाईहरुले भन्नुस् । त्यसको व्यवस्थापन सरकारले गर्छ तर काम चाँडो सक्नुपर्छ ।’ आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्नता म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणको क्रममा विभिन्न समस्याहरु पनि देखिएका छन् । ल्याण्डिङ्ग एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्नेछ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाई भइरहेको आयोजनाको गुनासो छ । त्यसको लागि बल्ल वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको छ । यस्तै आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ कि.मि. उत्तरमा रहेको ल्याण्डफिल साईड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान संचालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ । ‘आइकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले पाएको छ । करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबिच सम्झौता भएको हो । चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा तिन वटा अन्तर्राष्ट्रिय र आठ वटा आन्तरिक विमानहरु पार्किङ्ग गर्न सकिने बनाइएको छ । विमानस्थल निर्माणको लागि वि.सं. २०३२ सालमै ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३८९९ रोपनी रहेको छ । निरीक्षणको क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान संचालन गर्न संघीय सरकारका अर्थमन्त्रीसँग माग गरेका छन् ।