पर्यटन बोर्डको सीईओ रेग्मी भन्छन्: कर्मचारीको दुर्व्यवहारको विरोध गर्दा बदनाम गराए

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई भन्सारका कर्मचारीमाथि दुर्व्यवाहार गरेको भन्दै ५ हजार जरिवाना गरिएको छ । भाइटिकाको दिन लण्डनबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारका कर्मचारीलाई दुर्व्यवाहार गरेको भन्दै भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना गरेकाे हाे । रेग्मीलाई बेलायतबाट फर्कने क्रममा ६ बोतल मादक पदार्थ (रक्सी) ल्याएको विषयमा भन्सारका कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ । कर्मचारीको दुव्यवहारको विरोध गर्दा बदनाम गराए, रेग्मी भन्सारका कर्मचारले गरेकाे दुर्व्यवाहारको विरोध गर्दा आप्नो बदनाम गराइएको बोर्डका सीईओ डा. रेग्मीले बताए । ‘मैले पिटेको हैन्, काम नगरेका कर्मचारी युनियनले आप्नो गल्ती र दुर्व्यवाहार लुकाउन मेरो बदनाम गरे’, उनले भने । उनले भन्सार जाचँपासका क्रममा कर्मचारीले बोलीचालीदेखि उनीहरुले व्यवहार सैर्य नभएर आफूले विरोध गरेको बताए । ‘भन्सार जाँचपासको क्रममा त्यहाँका कर्मचारीले गरेको व्यवहारको मैले विरोध गरेको हो । भन्सारका कर्मचारीले गरेको व्यवहार राम्रो थिएन । उनीहरुको व्यवहारको मैले विरोध गरेको हुँ । कर्मचारीका हाकिमहरु काम नै नगरी बसेका थिए । अरु कसैले केही भनेनन् मैले कर्मचारीको व्यवहारको विरोध गर्दा धकेलाधकेल भएको हो । उनीहरु आफू काम गर्दैनन् विरोध गर्दा उल्टै मेरो बदनाम गराए’, उनले भने, ‘कर्मचारीहरुले भन्सार जाचँपासको क्रममा राम्रो व्यवस्थापन नहुँदा धकेलाधकेल गरिरहेका थिए । मेरो ठुलो जिउँ कर्मचारीसँग ठोकिएको हो, मैले बाहिर आएजस्तो झापड्ड हानेको हैन् ।’ भन्सार ऐन २०६४ मा विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, डा. रेग्मीले ६ बोतल ल्याएपछि उक्त मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले बताएको छ । सीईओ डा. कार्तिक १५ गते (नोभेम्बर १) देखि लण्डनमा सुरु भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए ।

चार वर्षदेखि गोकर्णेश्वरमा सुनको छाना लेपन अलपत्र

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न सुरु भएको काम चार वर्षदेखि अलपत्र छ । विसं २०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी सुरु भएको काम अझै पूरा हुन सकेको छैन । विसं २०७४ फागुन २३ देखि चैत दुई गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ गरिएको थियो । महायज्ञबाट खर्च कटाएर रु तीन करोड बचेको थियो । झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमासमेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान सुरु भएको हो । प्यागोडा शैलीको तीनतले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरि सकिएको छ । माथिका दुई तला सानो छ । सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर दुई वर्षअघिदेखि अलपत्र छ । काम अघि बढ्न सकेको छैन । गोकर्णेश्वर नगरपालिका–४ को अध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ पहिले बजेट अभाव भएर काम रोकिएको स्वीकार गर्छन् । अहिले बजेट व्यवस्थापन भए पनि जनशक्तिका कारण काम ढिलाइ भएको छ । ‘हालसम्म पौने नौ किलो सुन छानामा लेपन भइसकेको छ, अझै करिब सात किलो सुन लाग्ने अनुमान गरिएको छ, पहिलो चरणमा जम्मा २१ किलो सुन लाग्ने प्रारम्भिक अनुमान गरिए पनि करिब १६ किलो सुनले पुग्ने देखिएको छ, त्यसकै लागि पनि सहयोग जुटाउन नसकेर केही ढिलाइ भएको हो, अब बजेट व्यवस्थापन भएकाले काम हुन्छ’, उनले भने । अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि गत आर्थिक वर्षका लािग नगरपालिकाले तीन करोड विनियोजन गरे पनि काम हुन सकेन । नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ मा पनि एक करोड बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६/२०७७ मा विनियोजन गरेको तीन करोड परिषद् बसेन भन्ने बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्ट बताउनुहुन्छ । महायज्ञकै क्रममा २२ तोला सुन सहयोगस्वरुप सङ्कलन भएको थियो । महायज्ञमै प्राप्त भाँडा बेचेर ३९ लाख आम्दानी भएको पनि समितिले जनाएको छ । विसं २०७५ असार २२ गते नै झल्लर, कुटा, ख्वापालगायत मन्दिरका संरचना बनाउन सुरु गरिएको थियो । त्यसै वर्ष पुसबाट सुनको लेपन गरिएको छाना राख्न नै सुरु भएको थियो । काम सुरु भएको चार वर्ष हुन लाग्दासमेत सुनको लेपन गरिएको पाता राख्न भत्काइएको छाना अलपत्र छ । कोरोनाको महामारी सुरु भएदेखि राम्रोसँग काम अघि बढ्न सकेको छैन । केही दिन काम भए पनि फेरि रोकिने गरेको छ । कोरोनाकै कारण नगरपालिकाको बजेट नआउँदासमेत काम प्रभावित भएको हो । संवेदनशील काम भएकाले ढिलाइ: नगरप्रमुख चालिसे नगरपालिकाका प्रमुख सन्तोष चालिसे भने बजेट अभावका कारण नभई तामाको पातामा सुनको लेप लगाउने काम संवेदनशील भएकाले ढिला भएको बताउँछन् । पाटनका कामदारले मात्र यो काम गर्ने भएकाले उनीहरुको समय नमिलेर पनि काममा ढिलाइ भएको उहाँको भनाइ छ । मन्दिर व्यवस्थापन समितिले रु एक करोड थप बजेट नगरपालिकासँग माग गरेकामा रु डेढ करोड दिएर छिटो काम सक्न निर्देशन दिएको छ । मूल सडकसँगै रहेको मन्दिरमा काम अलपत्र भएको देखिन्छ । मुख्य मन्दिरमा सुनको छाना, मूर्तिलगायत संरचना स्वर्णजडित बनाउने लहर नै चलेको देखिन्छ । गुह्येश्वरीको गर्भगृहमा रहेको अष्टदल र भैरवको मूर्ति सुनको बनाएर राखिएको १८ वर्षपछि करिब दुई किलो सुन गायब भएको समाचार गत वर्ष सार्वजनिक भएको थियो । पशुपतिनाथमा सुनको जलहरी राखेको विषय पनि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेको छ । मन्दिर क्षेत्रमा सुनका संरचना बनाइए पनि त्यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पुरातत्व विभागका अधिकारीहरु बताउँछन् । रासस

लुम्बिनी क्षेत्रको पर्यटकलाई रोक्यो सडकले

बुटवल । कोरोना संक्रमणको जोखिम कम भएसँगै लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमन बढ्ने अनुमानलाई सडकको अवस्थाले बिथोलेको छ । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र विस्तारको काम चलिरहेकोले लुम्बिनी क्षेत्रमा आन्तरिक/बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको विस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ । सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन् । काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्यमै रहेको छ । लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताए । विगतमा दशैँ र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको महासचिव अर्यालले बताए । लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सिधा जोड्दै छ र आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ । यस्तो अवस्थामा अविलम्व सडक सुधार गर्नु पर्ने आवश्यक्ता रहेको व्यवसायीहरुले बताएका छन् । यसकासाथै लुम्बिनीलाई कोरोना मुक्त क्षेत्र भनेर विश्वभर सन्देश दिनसके पर्यटक बढ्ने निश्चित छ ।