युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन् । आईतबार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताएका हुन् । उनले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको जानकारी दिए । ‘सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको छ, त्यसपछि नेपाल कालोसूचीबाट हट्छ,’ उनले भने उनले भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि नयाँ विमानहरुलाई आकर्षित गर्ने र सुविधाहरु दिइने बताए । त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरु बढाएर पूर्ण रुपमा सञ्चालन गरिने उनले जानकारी दिए ।
नेपालको हवाई क्षेत्रमा वार्षिक १० लाखको दरले ट्राफिक वृद्धि, विमानस्थलको स्तर बढाउँदै प्राधिकरण
काठमाडौं । नेपालको हवाई क्षेत्रमा वार्षिक १० लाखको दरले ट्राफिक वृद्धि भएको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले आइतबार आयोजित प्राधिकरणको चालु आवको बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । ‘नेपालको हवाई क्षेत्रमा वार्षिक रुपमा १० लाखका दरले ट्राफिकको वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले फुल फेजमा सञ्चालन भएको छ,’ उनले भने । नेपालको हवाई क्षेत्रमा आगामी दिनमा वृद्धि हुने ट्राफिक व्यवस्थापनको लागि निजगढमा विमानस्थल निर्माण गर्ने कुरा निर्विवाद र निर्विकल्प भएको महानिर्देशक अधिकारीको भनाई थियो । फास्ट ट्रयाक र रेलमार्गसँग जोडिएको क्षेत्रको हिसाबले पनि निजगढ विमानस्थल ट्रान्सपाेर्ट नेटवर्कको हबको रुपमा विकास हुने उनको भनाई छ । चालु आवमा ५ वटा आन्तरिक विमानस्थलका टर्मिनल भवनहरुको नयाँ निर्माण गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । सो योजना कार्यान्वयनका लागि चालु आवको कार्यक्रममा शमावेश गरिएको महानिर्देशक अधिकारीले बताए । उनका अनुसार बिराटनगर, नेपालगञ्ज, जुम्ला, भरतपुर र रामेछाप विमानस्थलको टर्मिनल भवन यही आर्थिक वर्षमा निर्माण गर्ने योजना प्राधिकरणले अगाडि बढाएको छ । त्यस्तै प्राधिकरणले चितवनको भरतपुर विमानस्थलको विस्तारको लागि आवश्यक पहल महानिर्देशक अधिकारीले बताए । चालु आवमा गर्ने विभिन्न कार्यक्रमहरुको लागि प्राधिकरणले ४१ अर्ब ८५ करोड ४२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । चालु आवमा विमानस्थलहरुको स्तरोन्नतीका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चालु आवमा आफ्नो केन्द्रीय कार्यालयको निर्माण कार्य सम्पन्न गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन हलको निर्माण गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ तथा टर्मिनल भवनको मास्टर प्लान गर्ने र अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण गर्ने कार्यक्रमलाई समावेश गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक बनाउनका लागि पनि धेरै कामहरु अगाडि बढाउने प्राधिकरणका महानिर्देशक अधिकारीले बताएका छन् । त्यसका लागि प्राधिकरणले वहुवर्षे कार्यक्रम अन्तर्गत नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण टी २ प्याकेज १ अगाडि बढाउने भएको छ । साथै, विमानस्थल परिसरमा सञ्चालन हुने सार्वजनिक ट्याक्सीमा जिपिएस जडान गर्ने र ट्याक्सी चालकले लगाउने पोशाकलाई व्यवस्थित गर्ने लगायतका कार्यक्रम अगाडि बढाउने छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिलन टी को मास्टर प्लान निर्माण गर्ने काम चालु आवबाट नै शुरु गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विमानस्थलहरुमा एटिएम, २४ सै मनी एक्सचेन्जको सुविधालाई व्यवस्थित गर्ने जनाएको छ । २२ वर्षपछि पहिलोपटक प्राधिकरणको सेवा शुल्क नियमावली पारित भएको र सोसँगै आम्दानी पनि बढेको जनाइएको छ । बढेको आम्दानीलाई कर्मचारीको बोनसका निम्ति प्रयोग गर्ने भन्दापनि विमानस्थलहरुमा भौतिक पूर्वाधार निर्माण र विस्तारमा खर्च गरिने महानिर्देशक अधिकारीले बताए । गत आर्थिक वर्षमा प्राधिकरणले गरेको सबैभन्दा ठुलो काम भैरहमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र सञ्चालन गर्ने कुरा रहेको महानिर्देशक अधिकारीको भनाई छ । सो विमानस्थलमा निर्माण र सञ्चालन गर्ने काम समयमा नै गर्न सक्नु प्राधिकरणको लागि गौरवको विषय भएको उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डफिल्ड साइट सार्ने र रिठ्ठेपानीको डाँडा काट्ने बाहेकको काम सकिएको प्राधिकरणले जनाएको छ । सानो संगठनात्मक संरचना रहेको संस्थाले एउटै समयमा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गर्ने कुरा ठुलो भएको महानिर्देशक अधिकारीको भनाइ छ । गत अप्रिल महिनामा आइकाओले गरेको अडिटले नेपालको उड्डयन क्षेत्रलाई सकारात्मक देखाएको छ । त्यस्तै इयुले पनि नेपालको उडड्यन क्षेत्रको अडिटको लागि आफु तयार रहेको र अडिटको लागि आउने जानकारीको पत्र पठाएको प्राधिकरणले जनाएको छ ।
५० करोड लगानीमा पोखरामा खुल्यो फिस्टेल ड्रिम पार्क, २५ थरीका गतिविधिमा रमाउन सकिने
पोखरा । पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ । फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् । ‘यसअघि पोखरामा यो स्तरको पार्कहरू बनेका छैनन् । कुनै पनि व्यक्ति वा परिवार यहाँ आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने प्रकारको इभेन्ट्सहरू हामीसँग उपलब्ध छन्,’ गौतम भन्छन् । इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिने गौतमले जानकारी दिए । पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । जसमा बच्चाहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै, वाटर पार्कको प्याकेज १ हजार दुई सय र ड्राइपार्क प्याकेज ४५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सिमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्नेछ । पानीमा खेलीने वा भनौँ गर्मीमा खेलिने खेलहरू मात्र नभइ पानी नचाहिने खेलहरू पनि पार्कमा राखिएका छन् । जुनसुकै मौसममा पनि मानिसहरू आएर रमाइलो गर्न सकिने गरि व्यवस्था मिलाउने क्रममा एकै ठाउँमा वाटर र ड्राइ पार्कको परिकल्पना गरिएको ल्याइएको गौतम बताउँछन् । ‘कतिपय यस्ता पार्कहरू ६ महिना खुल्ने र ६ महिना बन्द हुने हुन्छ । त्यस्तो नहोस् भनेर हामीले बच्चाहरूका लागि छुट्टै इन्डोर गेमहरू राखेका हौँ,’ गौतम थप्छन् ‘यस पार्कमा जडान गरिएको प्रविधि एवं सामाग्री भारत र चीनबाट ल्याइएको हो । ग्राहकको सुरक्षाका लागि हामीले विशेष ध्यान दिएरै क्वालिटी प्रोडक्टहरू जडान गरेका छौँ ।’ ६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । पार्कमा जान निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ । पार्कमा हिरा केसी, नारायण खरेल, कमल बस्नेत, भरत गौतम, कदम केसी, सुशिल खरेल, नारायण पौडेल, जितेन्द्र केसी, अर्जुन खरेल, मदन कुमार श्रेष्ठ, भिम केसी लगायत १३ जनाको लगानी रहेको छ ।