चीनको छिङदाओमा हिमालय एअरलाइन्सको कूटनीतिक चार्टर्ड उडान

काठमाडौं । हिमालय एअरलाइन्सले चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान गरेको छ । अरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि मंगलबार चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर्ड उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको थियो । परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९, ९एनएजेकेको उडान नम्बर एच९ ७२२०ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११.०७ बजे प्रस्थान गरेकाे थियाे । उक्त जहाज बुधबार बिहान ७ः५५ बजे छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि बिहीबार दिउँसो ३.०० बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान एच९७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु स्वदेशका लागि प्रस्थान गर्ने र दिउँसो ४ः५० मा काठमाडौं आइपुग्नेछन् । सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात ठप्प भएको थियो। यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो । काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको हो ।  

सात महिनामा ३ लाख विदेशी पर्यटक भित्रिए

काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएका छन् । समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । कुन महिनामा कति पर्यटक भित्रिए ? बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले छिमेकी मुलुक भारत, बङ्गलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोतबजारमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको सङ्केत गरेको बताए । उनले पर्यटक बढोत्तरीमा भारत, बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे । निर्देशक लामिछानेले पछिल्लो समय भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा एसिया र युरोपियनलगायत मुलुकबाट पर्यटक आगमन बढेको जानकारी दिए । रासस

माइ होटल एण्ड होम डटकम : एक क्लिकमा ढुक्कले बास पाइने

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज गर्न देशभरका प्रमुख सहरमा यात्रामा जानुअगावै सजिलै होटल बुकिङ गर्नका लागि दुई युवाले ‘माइ होटल एण्ड होम डटकम’ बेवसाइटको विकास गरेका छन् । मोबाइल फोन वा कम्प्युटरबाट उक्त बेवसाइट लग इन गरेर आफूले चाहेको मूल्य र स्तरको होटल सहजै बुकिङ गर्न सकिनेछ । होमस्टे, होस्टेल, अपार्टमेण्ट वा घरको कोठा पनि बुकिङ गर्न सकिने सुविधा रहेको यसमा सुरुमा उच्च, मध्यम र साना खालका होटलका कोठा बुकिङ गर्न सकिने गरी सेवा सुरु गरिएको होटल एण्ड होम प्रालिका प्रबन्ध निर्देशक उत्सव पाठकले बताए । ‘पर्यटकलाई यात्रामा निस्कनु अघि ढुक्क भएर बस्ने ठाउँको सुनिश्चित गर्न यसले सहयोग गर्छ, सजिलै, बिना झण्झट र होटल नपाएर रुमल्लिनुपर्ने अवस्थाको यसले अन्त्य गर्छ’, प्रबन्ध निर्देशक पाठकले भने । यसमा होटलको बारेमा परिचय, कोठाअनुसारको मूल्य, कोठाको सजावट, ओछ्यान, फर्निचर, टेलिभिजन, वाइफाइ, कतिजना सुत्न सक्ने, सेवाका शर्त, शौचालयलगायतबारे तथा बास बस्ने स्थान वरिपरिको घुम्ने ठाउँको समेत सङ्क्षिप्त विवरण दिइएको छ । रेल, हवाई, बैंक, अस्पताललगायतका क्षेत्रमा ई बुकिङको संस्कृति मौलाइरहेको बेला डेढ वर्ष लगाएर यो वेभको विकास गरिएको होटल एण्ड होम प्रालिका अध्यक्ष सफ्टवेयर इन्जिनियर शैलेश कार्कीले बताए । सुरुमा परीक्षणका रुपमा रहेकाले अनलाइन बुकिङमा अहिले दश प्रतिशत छुट दिइएको छ । ‘धेरै प्रकारका होटल हेरेर पर्यटकले चाहेको मूल्यका होटल रोज्न सक्छन्, होटलको सेवा, शर्तबारे क्षणभरमा थाहा पाउन सकिन्छ’, अध्यक्ष कार्कीले भने । हालसम्म काठमाडौं, भक्तपुर, नगरकोट, धुलिखेल, चितवन, बन्दीपुर, घान्द्रुक, लुम्बिनी, बुटवल, पोखरा, चरीकोटलगायतका प्रमुख पर्यटकीय सहरका तीनसय होटल यसमा आबद्ध भएको र यो क्रम जारी रहेको उनले जानकारी दिए । यसको एप्स भने दशैँपछि सार्वजनिक गर्ने योजना पाठक र कार्कीको रहेको छ । खासगरी नयाँ वर्ष, क्रिसमस, मेला महोत्सव वा ठूला सम्मेलन र सभामा कोठा पाउन असजिलो र झण्झटिलो हुने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालभरिका प्रमुख पर्यटकीय गन्तव्यमा होटलमा कसरी बास पाउने भन्ने चिन्ताले पिरोल्ने गर्छ । ‘एक क्लिकमा ढुक्कले बास पाउने अवस्था होस् भनेर यो सेवा सुरु गरेका हौँ, यसबाट पर्यटकलाई सहज हुन्छ, नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गर्दैछौँ’, अध्यक्ष कार्कीले भने ।