अन्नपूर्ण पदमार्ग: यात्रा छोटियो तर सास्ती घटेन
मनाङ । नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ । यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । उनीहरु यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन् । तर अहिले भने उनीहरुको यो तालिका फरक भएको छ । तय गरिएको तालिकाभन्दा पहिले नै यात्रा सकिने गरेको छ । लमजुङको सदरमुकाम बेँसीसहरदेखि सुरु हुने पदमार्गको यात्रा छोटो समयमा पूरा गर्न सकिने भएको छ । अब बेँसीसहरबाट चामे–खाङ्सारसम्म यात्रालाई छोटो बनाउँदै जीपको माध्यममार्फत पुग्न सकिने र तोकिएको समयभन्दा छिटो नै यात्रा पूरा गर्न सकिनेगरी अन्नपूर्ण पदमार्गको यात्रा छोटिएको छ । काठमाडौँ वा पोखराबाट एकै दिनमा मनाङ पुगेर अन्नपूर्ण पदमार्गको यात्रा तय गर्न सकिने पर्यटकको भनाइ छ । विश्वका पर्यटकको रोजाइमा मनाङ ङिस्याङ गाउँपालिका–८ थोराङ्ला भञ्ज्याङ पर्दछ । विगतमा थोराङ्ला पार गर्न १८ दिन लाग्थ्यो । तर अहिले यो यात्रा सडक सञ्जाल विस्तारसँगै छोट्टिएको छ । मनाङ सडक सञ्जालसँग जोडिएसँगै पदमार्गको दूरी पनि घटेको हो । माथिल्लो मनाङ, खाङ्सारसम्म सवारीमार्फत सहजरुपमा एकै दिनमा पुग्नसक्ने भएपछि पदमार्गको यात्रा छोटिएको स्थानीय बताउँछन् । अहिले माथिल्लो मनाङसम्म सवारीमा यात्रा गरेपछि तीन दिनमा थोराङ्ला पार गर्न सकिन्छ । यसरी यात्रा गर्दा लेक लाग्ने सम्भावना भने बढी हुने गरेको उनीहरु बताउँछन् । कम उचाइबाट एकसाथ आएका पर्यटक उच्च स्थानमा अक्सिजनको अभावले लेक लाग्ने गरेको उनीहरु बताउँछन् । यात्रा सहजरुपमा सक्ने लक्ष्यसहित बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको स्थानीय बताउँछन् । लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लालाई एउटै मार्गले फूलको माला झैँ गरी जोडेको छ । यसै मार्गलाई गन्तव्य बनाएर आउने बाह्य पर्यटकले १८ दिनमा पूरा गर्ने पदमार्गको दूरी अहिले घटेको छ । सडक सञ्जालले जोडिएसँगै केही स्थानमा पर्ने यो पदमार्ग नै देखिँदैन । सडकले जोडिएकाले कतिपय मार्गमार्फत् हिँड्नुपर्ने अवस्था नै रहँदैन । कहीँ मोटरेवल सडक सञ्जालले पदमार्गमा हिँड्न अप्ठ्योरो पनि पर्ने गरेको छ । यसले गर्दा पनि पदमार्ग छोटिन थालेको हो । पदमार्गसँगै सडक सञ्जाल सञ्चालन हुँदा पदयात्रीले सास्ती भने बेहोर्नु परेको छ । यसले गर्दा पदयात्री सवारीको प्रयोग गर्न बाध्य भएका छन् । पदमार्ग र सडक सञ्जाल फरक भएमा मात्र पदयात्रीलाई सहज हुने पर्यटकको भनाइ छ । लामो तालिका बनाएर अन्नपूर्ण पदमार्गको यात्रामा आएकी फिनल्याण्डकी नागरिक निया बताउँछिन्, ‘सडक सञ्जाल विस्तार भएको राम्रो हो । पदमार्ग मासिनु हँुदैन । पदयात्रा गर्न आउने पर्यटकलाई साँघुरो सडक सञ्जाल त्यसैमाथि पदमार्ग जोडिदा यात्रा गर्न कठिन हुने रहेछ । यसलाई मनाङवासीले ध्यान पु¥याउँदै संरक्षण गर्नुपर्छ’, नियाले भनिन् । पदमार्गमार्फत् हिँड्ने क्रममा सडकमा धुलो र हिलोले गर्दा सास्ती बेहोर्नु परेको उनको अनुभव छ । सडक र पदमार्गलाई फरक तवरबाट संरक्षण गर्न सकिएमा सहज हुने र यात्रीलाई पनि आनन्दले यात्रा गर्ने वातावरण बन्ने पर्यटकको भनाइ छ । मुस्ताङ जिल्लाबाट भने थोराङ्ला जाने केही तल्लो भागसम्म सडक सञ्जाल विस्तार गरिसकिएको छ । उता मनाङपट्टिको भागमा भने पदयात्रा गर्नुपर्ने अवस्था कायमै छ । मनाङतर्फभन्दा मुस्ताङले छिटो थोराङ्ला पुग्नसक्ने बनाएको छ । पदमार्गको केही स्थानमा बाढी र पहिराले क्षति पु¥याएकाले संरक्षण, मर्मत तथा नयाँ ट्र्याक निर्माण गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्याप का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । ‘हिमपातमा पनि पर्यटक आउँछन् । पर्यटकलाई सहज बनाउन एक सय मिटर दूरीमा खम्बा राखिएको छ । सडक सञ्जालको नजिक रहेका पदमार्गलाई सहज बनाउन स्थानीय तहसँग समन्वय गरी व्यवस्थापनको तयारीमा छौँ’, गौतमले भने । पदमार्गमा फालिएका फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहहरुले ठाउँ–ठाउँमा खाल्डो बनाएको छ । यात्राका क्रममा पर्यटकलाई दिसापिसाब लाग्दा सहज होस् भनेर स्थानीय तहले मनाङका बस्तीबाहेकका क्षेत्रमा शौचालयको व्यवस्थापनसमेत गरेको छ । तिलिचो ताल, थोराङ्ला भञ्ज्याङलगायतका पर्यटकीय क्षेत्रमा शौचालयको व्यवस्थापन गरिएको छ । यस पदमार्गमा अनावश्यक फोहरमैला नहुने भएकाले त्यस क्षेत्रको जलवायु संरक्षण हुनेछ । रासस
मनकामना केबलकार भदौ २५ गतेदेखि सुचारु हुने
काठमाडौं । मनकामना केबलकारको सेवा भदौ २५ गतेदेखि पुन: सुचारु हुने भएको छ । साउन २३ गतेदेखि स्तरोन्नतिको लागि बन्द भएको केबलकार पुन: सुचारु हुने भएको हो । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने क्रममा चार सातादेखि केबलकार बन्द गरिएकाे थियाे । स्तरोन्नतिको लागि ५ देखि ६ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको थियाे । तर साेचेभन्दा १ हप्ताअघि नै केबलकार सञ्चालन हुन लागेकाे कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । एनलगबाट डिजिटल सिस्टममा स्तरउन्नति भएपछि केवलबार सेवा अझ सहज र प्रभावकारी हुने कम्पनीले जनाएकाे छ ।
दशैंका लागि अधिकांश गन्तव्यको टिकट बुक्ड, ८० प्रतिशत बुकिङ अनलाइनबाट
काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दशैंमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन् । दशैंमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ । दशैं आउन करिब तीन साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए । उनले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताए । ‘दशैंका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ ‘ट्रक रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ ।’ प्रवक्ता शर्माले दशैं लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज प्रयाप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए । सामान्यतया दशैं आउन एक महिनाअघि देखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् । उनीहरुका अनुसार दशैंलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । सङ्घका प्रवक्ता कँडेल अनलाईनबाटै अधिकांश बुकिङ भएको बताउँछन् । आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक दुई सय ६० दुईतर्फी उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेका छन् । दशैंमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने उनको अनुमान छ । ‘कोभिड–१९ महामारीमा उडानको चाप थियो, यस पटकको दसैँमा झनै यात्रुको चाप हुने देखिन्छ, यात्रुको मागअनुसार उडान थप्छौँ’, प्रवक्ता सिटौलाले भने । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दशैंका लागि अहिले धमाधम बुकिङ भइरहेको र समग्रमा ७० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको जानकारी दिए । उनका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताए । उनले भने, ‘पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ करिब फुल भइसकेको छ । यात्रुको मागअनुसार उडान सङ्ख्या थप्न गर्न सकिन्छ ।’ तुलनात्मक रुपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रतियात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालाहित हुन्छन् । नजिकिएको दसैँलाई मध्यनजर गर्दै अहिले हवाई सेवा प्रदायक कम्पनीले धमाधम अग्रिम टीकट बुकिङ गरिरहेका छन् । केही गन्तव्यमा त दसैँ आउन एक महिनाअघिनै टिकट ‘प्याक’ भइसकेको छ । दशैंमा राजधानी काठमाडौं छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टिकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायुसेवा कम्पनीका अनुसार अहिले दसैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ । तुम्लिङटार र सुर्खेत गन्तव्यको बुकिङ ‘फुल’ आन्तरिक उडानको महत्वपूर्ण स्टल रुट मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ फुल भइसकेको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एयरकोे तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ पूर्ण भइसकेको छ । बाँकी गन्तव्यमा पनि अधिकांश प्याक भइसकेको छ । विशेषगरी फुलपातिदेखि विजया दशमी टिकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ सोही अनुरुप हुने गरेको एयरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यो वर्ष असोज १० गते घटस्थापना र १९ गते विजया दशमी टिका रहेको छ । सत्तरी प्रतिशत बुकिङ दसैँलाई लक्षित गरेर एयरलाइन्सको धमाधम हवाई टिकट बिक्री भइरहेको छ । अहिले ६० देखि ७० प्रतिशत बुकिङ भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको विभिन्न गन्तव्यमा ७० प्रतिशत हाराहारी बुकिङ छ । पहिला ट्राभल एजेन्सीमार्फत टिकट होल्ड गरिन्थ्यो । उसको अनलाइन बुकिङ ८० प्रतिशत भइसकेको छ । यती एयरलाइन्सले आफ्नो ६० प्रतिशत अनलाइन बुकिङ भइसकेको जनाएको छ । श्री एयरलाइन्सको पनि सोही हाराहारी बुकिङ छ । एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले दसैँका लागि कम्पनीको विभिन्न गन्तव्यमा बुकिङ भइरहेको बताए । यती एयरलाइन्सका प्रवक्ता बर्तौलाका अनुसार ७० प्रतिशत अनलाइनबाट र बाँकी ३० प्रतिशत ट्राभल एजेन्सी तथा एयरलाइन्सको टिकट बिक्री काउन्टरमा प्रत्यक्ष गएर यात्रुले टिकन लिने गरेका छन् । सौर्य एयरलाइन्सले शुक्रबारदेखि दसैँ र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जानकारी गराएको छ । एयरलाइन्सले विभिन्न दररेटका टिकट अनलाइन बुकिङमा राख्ने भएकाले सस्तो टिकट चाँडै फुल हुन्छ । त्यसपछि महँगो टिकट खरिद गर्नुपर्ने हुन्छ । एयरलाइन्सले अनलाइनबाट वर्षभरी नै टिकट बुक गर्न सकिने गरी खुला गरेका छन् । यसले यात्रुलाई सहज रुपमा टिकट लिएर गन्तव्यमा पुग्न सहज भएको छ । रासस