‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्न गुरुङको पैँतीस दिनको पदयात्रा
बाग्लुङ । गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उनलाई एक वर्ष नपुग्दै पुनः डोर्यायो। त्यसैले यसपटकको उनको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो । अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक्नुभएका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गरे । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवद्र्धनमा ३५ दिन बिताएका हुन् । साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङबाट सुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो । उनले एकलरुपमै पैदलयात्रामा ३५ दिन बिताएका छन् । म्याग्दी जिल्लाको दरबाङबाट सुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट सुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुगेका थिए । ‘गत दसैँमा ढोरपाटन उपत्यकामा १४ दिन बिताएँ, एकल साइकल यात्रामा हिँड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यकाबाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यकासँँगै बुँकी क्षेत्रमै ११ दिन बित्यो”, गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो, “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाई नै गुरिल्ला पदमार्ग नामकरण गरिएको हो, यसको प्रवद्र्धन र विकास पछि पर्यटक ल्याउन आफू एकल यात्रामा निस्केको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माइकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।’ ढोरपाटन उपत्यकाबाट बुँकी एक दिनमै पुग्न सकिने भए पनि गुरुङले बुँकीमै केही दिन बिताएका थिए । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए । विसं २०७२ मा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो । गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रवद्र्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आएका गुरुङले बताए । ‘पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुँनुपर्दछ भन्ने मान्यता हो’, उनले भने, ‘गुरिल्ला पदमार्गको प्रवद्र्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउनसमेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।’ म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ । गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवद्र्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताए । दश वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरु पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ । गुरिल्ला पदमार्गको प्रवद्र्धन र विकासका लागि यसको स्तरोन्नति गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ उहाँले सुनाउनुभयो । यो पदमार्ग धौलागिरि चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्गभन्दा कम नभएको पनि उनले बताए । विसं २०७२ को भूकम्पको समयमा राहत र उद्धारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै बृहत् रहेछ भन्ने ठानेपछि त्यसलगत्तै पर्यटन प्रवद्र्धनसहित एकल यात्रा गर्दै आएका छन् । उनले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साइकल यात्रासमेत गर्दै आएका छन् । उनले सबैभन्दा बढी ४२ दिने एकल साइकल यात्रा २०७५ सालमा गरेका थिए। गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साइकल यात्रापछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताए ।
सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक
काठमाडौं । नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधिर श्रेष्ठले हट एयर बलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् । सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रालाइट पाइलट पनि हुन् । एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प्राविधिक र पाइलटको रुपमा काम गर्दै आएका थिए । लामिछाने सन् २०१७ देखि नेपालको पहिलो र एकमात्र जायरोकप्टर पाइलट पनि हुन् । सुधिर पनि अल्ट्रालाइटका पाइलटसमेत हुन् । उनले पाइलट कोर्स दक्षिण अफ्रिकाबाट गरेर नेपाल आएका थिए । पोखरामा हट एयर बलुन उड्ने भएपछि यही नै प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् २०१९ मा बेलायती प्रशिक्षक अलेक्जेन्डर ब्रेनकोर्टले आधारभूत तालिम दिएका थिए । एडभान्स तालिम सन् २०२२ को १० जुनदेखि १६ सम्म लिए र प्राधिकरणको परीक्षा दिएका थिए । अहिले नेपालमा हट एयर बलुनको सर्टिफाइड टेक्निकल स्टाफ सुधिर र सन्त मात्रै हुन् । सन् २०१९ मा सरकारले नेपालमै लाइसेन्स दिने नीति बनाएपछि उड्डयन प्राधिकरणले परीक्षाको मापदण्ड तयार गरेको थियो । हट एयर बलुनको प्राविधिककालागि ५ वटा पेपर पास गरेपछि मात्रै प्राधिकरणले अनुमति पत्र दिन्छ । ‘लामिछाने र श्रेष्ठ हट एयर बलुनको प्राविधिक हुनु अघि नेपाली प्राविधिक नभएका कारण सामान्य मर्मतका लागि पनि विदेशी प्राविधिक बोलाउनुपर्ने अवस्था थियो,’ बलुन नेपालका अध्यक्ष बिक्रम बाडे थप्छन्- ‘समयमै प्राविधिक उपलब्ध नहुँदा एक दुई महिना नै अपरेसन बन्द गर्नु पर्ने अवस्था थियो । अब नेपालमै प्राविधिक भएपछि यस्तो परिस्थिति सिर्जना नहुने अपेक्षा गरिएको छ ।’
पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ
गलकोट । विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसके । उनले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसकेका छन् । पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदलयात्राका लागि समेत अध्ययन भइसकेको बताँए । ‘भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अग्र्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक आउन ठिक्क परे पनि ल्याउन सकिएन’, ज्याकले भने, ‘अब भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका–७ रेशको बौरसम्म पैदल मार्गमा विदेशी पर्यटक ल्याउने योजनामा छु ।’ अहिले उक्त मार्गको अध्ययन सकिएको ज्याकको भनाइ छ । यसो त बागलुङ सदरमुकाम घुम्नका लागि आउनेहरु आन्तरिक पर्यटकको पहिलो प्रश्न हुन्छ बागलुङ बजारबाटै छोटो दूरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ बागलुङका अधिकांश होटल व्यवसायीलाई आउने प्रश्नको जवाफ हुन्छ पर्यटकीय गाउँ भकुण्डे । दश वर्षअघिसम्म गुमनाम रहेको यो गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक, संस्कृति र घरबासका कारण अहिले बागलुङ आउने पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँ । बागलुङ बजार आएका स्वदेशी तथा विदेशी पाहुनाहरु अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ जाने गर्दछन् । प्रकृतिको बरदानको रुपमै रहेको भकुण्डे गाउँमा जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएपछि पर्यटकीय रौनकता थपिएको वासिन्दा स्थानीय खिमबहादुर थापाको बताउँछन् । अतिथि सत्कार सामुदायिक घरबासको अध्यक्ष समेत रहनुभएका थापाका अनुसार भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, सङ्ग्रहालय, ताल संरक्षण र उद्यान निर्माणलगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरु समेत निर्माण भइसकेको छ । किन लोभिन्छन् भकुण्डेमा पर्यटक एउटा पर्यटकीय गन्तब्य बन्नका लागि धेरै कुराको मेल खान आवश्यक हुन्छ । सहज पहुँच, प्राकृतिक र भौतिक संरचना र दृश्यावलकन । नभन्दै यस गाउँमा तालदेखि दृश्यावलोकन स्तम्भसम्म र सङ्ग्रहालयदेखि उद्यानसम्मको पूर्वाधार निमाृण गरिएको छ । भकुण्डेको मध्यभागमा छ सुन्दर बराह ताल छ । बराह तालमा पर्यटकको माग अनुसार डुङ्गासमेत शयर गर्न सकिन्छ । यहाँको कला संस्कृतिसँगै अग्र्यानिक खानाका परिकार र न्यानो आथित्यताले यहाँ आउने पर्यटकहरु लोभिने गरेका छन् । तालको छेउबाटै बागलुङ बजारको दृश्यसमेत अवलोन गर्न सकिन्छ । भकुण्डेस्थित मुलावारीमा हिराताल भने विस्तारै सुक्दै गएको छ । सोही तालको शिरमा एक करोड लागतमा निर्माण गरिएको दृश्यावलोकन स्तम्भबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेसहित एक दर्जन हिमश्रृङ्खलाको मनोरम दृश्य आँखामा कैद गर्न पाइन्छ । समुन्द्री सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाइमा रहेको दृश्यावलोकन स्तम्भबाट देखिने सूर्योदयका दृश्यले पर्यटकहरु सम्मोहित हुने गरेका छन् । घरबासमा आएका पहुनाको स्वागत र बिदाई गर्ने संस्कारले घरबासमा आउने पर्यटकहरु लोभिन्छन् । यहाँले मगर सङ्ग्रहालयले स्थानीय जीवनशैलीलाई जीवन्त तुल्याएको छ । भकुण्डेबाट केही बेरको पदयात्रामै वलेवामा रहेको प्रसिद्ध कालभैरव मन्दिरको दर्शन समेत गर्न सकिन्छ । घरबास पर्यटनका अभियन्ता क्याप्टेन रुद्रमान गुरुङको नाममा भकुण्डेमा उहाँको शहिदसहितको उद्यान समेत निर्माण भइरहेको छ । क्याप्टेन रुद्रमानले नै नेपालको पहिलो घरबासको रुपमा स्याङजाको शिरुबारीमा घरबास सञ्चालन गरेका थिए । आन्तरिक पर्यटकको आकर्षण केन्द्रका रुपमा लिए पनि यहाँको घरबास विदेशी पर्यटकहरु हेलिकप्टरमार्फत समेत आउने गरेका छन् । भकुण्डेमा चीन, कोरिया र जापान, अमेरिकालगायतका देशबाट पर्यटकहरु आउने गर्दछन् । घरबासको प्रचार प्रसारका कारण भेगन अर्गनाइजेशनमा आबद्ध विभिन्न देशका पर्यटकहरु पदयात्रा गर्दै यहाँ आउन थालेका छन् । साहसिक पर्यटकको गन्तव्य बनेको कुस्माको बन्जी पुलमा आएका पर्यटकहरुमध्ये केही पर्यटक बागलुङ कालिका दर्शनपछि भकुण्डे पुग्ने गरेका छन् । खानेपानी र सडक सुधारको आवश्यक घरबासका कारण भकुण्डे गाउँको मुहार फेरिएको भए पनि यहाँ आउने सडक मार्ग भने सुधार गर्न आवश्यक रहेको बागलुङ नगरपालिका–१० का वडाध्यक्ष तीलबहादुर थापाले बताए । थापाका अनुसार यहाँ आउने पर्यटकलाई सडक मार्गको स्तरोन्नति नहुँदा सास्ती छ, बरु हिडेर छिटो आउन सकिन्छ तर सडक मार्गमार्फत ढिलो हुँने गरेको छ, पर्यटकको विकास भइसकेको स्थानमा पक्की सडक पु¥याउन पहल भइरहेको उनले बताए । ‘यहाँका महिलाहरु चुलाचौकामा मात्रै सीमित थिए, अहिले पर्यटकका कारण यहाँका महिलाले घरबास सञ्चालन गरी राम्रो आम्दानी समेत गर्दै आएका छन्, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण भकुण्डेमा अन्य विकासका पूर्वाधारहरु समेत निर्माणले गति लिएको छ’ थापाले भने ‘अहिले मुख्य समस्या भनेको पानी र सडकको सुधार हो । खानेपानीको चरम समस्या रहेको भकुण्डे गाउँमा प्रत्येक घरमा वर्खाको पानी संकलनका लागि घैटो निर्माण गरिएको छ । केहीवर्ष यता भकुण्डेको घरबास गाउँमा लिफ्ट मार्फत खानेपानी ल्याउनका लागि खानेपानी योजना निर्माणधीन अवस्थामा रहेको छ ।’ भकुण्डे विशेष पर्यटकीय क्षेत्र घोषणाको तयारी बागलुङ नगरपालिकाको पहलमा भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा औपचारिक घोषणा गर्ने तयारी रहेको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार बागलुङ नगरपालिकाको भकुण्डेलाई पर्यटकीय विशेष क्षेत्र घोषणा गरेर थप विकास गर्ने तयारी रहेको बताए । ‘गण्डकी प्रदेशको पर्यटन मन्त्रालयसँग मैले कुरा गरेको छु, बागलुङ नगरपालिकाले पर्यटनकै शिर्षकमा बर्षेनी बजेट हाल्ने गरी भकुण्डेलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरे अगाडि बढ्नेछ’ उपप्रमुख खड्काले भने । भकुण्डे बागलुङ जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य भइसके पनि पर्यटकीय पूर्वाधारमा जोड दिइएको उनको भनाइ छ । भकुण्डे नजिकै बलेवाको ढिकबाट प्यराग्लाइडिङ समेत गर्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले पूर्वाधार निर्माण गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन शुरु भएपछि सराङ्कोटको प्याराग्लाइडिङ गुम्ने खतरा छ । त्यसको विकल्पको रुपमा उक्त स्थानलाई लिन सकिने भन्दै प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण भइसकेको छ भने प्याराग्लाइडिकङको सफल परीक्षण समेत भइसकेको छ । पर्यटकको आकर्षण अग्र्यानिक परिकार भकुण्डे गाउँमा उत्पादन भएका अग्र्यानिक परिकारले समेत पर्यटकहरुलाई थप आकर्षण गरेको छ । अहिले यहाँका आठ घरमा घरबास सञ्चालन गरिएको छ । भकुण्डे घुम्न आएका पर्यटकहरुको बसाई लम्बाउनका लागि स्थानीय परिकारले सहयोग पु¥याएको घरबासका सञ्चालक इन्द्र कुमारी थापाले बताए । विसं २०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिक रुपमा सञ्चालनमा आएका यहाँको घरबासमा एकै रात ५० जना भन्दा बढी पहुना राख्न सकिने क्षमता रहेको घरबास सञ्चालक अप्सरा थापाले बताए । सामुदायिक घरबासमा पछिल्लो पटक पहुनाको रोजाइअनुसारको सेवा सुविधा दिँइदै आएको छ । सामुदायिक घरबासबाहेक भकुण्डेमा अन्य व्यक्तिगत रेष्टुराँ र होटल समेत सञ्चालित छन् । घरबासमा कोदोको सेल रोटी, गुन्द्रुकको अचार, आलुको परिकार, लोकल खसी तथा कुखुराको मासुको परिकारले पर्यटकहरलाई लोभ्याउने गरेको घरबास सञ्चालक इन्द्र कुमारी थापाले बताए । चिसो स्थानमा फल्ने यहाँका आलुको परिकार र भाङ्गोको अचार समेत निकै स्वादिष्ट हुने गरेको छ । घरबास सञ्चालकहरुले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, मकै, भटमास, साग, सिस्नो, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् भने बस्नका लागि आरमदायी कोठाको सुविधा दिइएको छ । शुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै लगेका छन् । घरबासमा तातो चिसोपानीको व्यवस्थापनसहितको शौचालय र स्नानघरको समेत सुविधा छ । स्थानीय उत्पादनहरुको स्वादको मज्जा लिन, हिमश्रृङखलाहरुको मनोरम दृश्य हेर्दै प्रकृतिसँग रमाउन आन्तरिक पर्यटकहरु घरबाससम्म पुग्ने गरेका छन् । कोरोनाको महामारीको समयमा थलिएको घरबास पर्यटकन अहिले पुनः फष्टाउन थालेको छ । वर्षाको समयमा समेत जिल्लाका अन्य घरबास सुनसान भइरहेको बेला यहाँका घरबासमा भने पर्यटकको चहलपहल भइरहेको अतिथि सत्कार घरबासका सञ्चालक थापाले बताए । भकुण्डे गाउँमा आउने पर्यटकको कारण यहाँको मुहारै फेरिएजस्तै जिल्लाको अन्य स्थानमा समेत ग्रामीण पर्यटनको अवधारणा ल्याउन सकिनेतर्फ ध्यान दिन थालिएको छ । रासस