पर्यटकको आकर्षणको केन्द्र बन्दै बाबाताल
बन्दीपुर । पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो । बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ भ्यूटावर समेत निर्माण गरिएको छ । नेपाल सरकारको पर्यटन बोर्डले निर्माण गरेको भ्यूटावरबाट पर्यटकले बाबातालको मनोरम दृश्यावलोकन गरेर बेग्लै सौन्दर्यको अनुभूति गरिरहेको बाबाताल घुम्न आएका पर्यटकले बताएका छन् । बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्यावलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० सम्म आन्तरिक पर्यटक आउने गरेको बाबाताल चुरे संरक्षण संवद्र्धन समितिका अध्यक्ष अञ्जनीकुमार दाहालले जानकारी दिए। अरु दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबारका दिन अलि बढी नै पर्यटक बाबातालमा घुम्न आउने गर्छन्, अध्यक्ष दाहालले भने, “विस्तारै तालमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।” उनका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मीयामभन्दा जाडोको मौसम अर्थात् कात्तिकदेखि माघसम्म बढी पर्यटक आउने गर्दछन् । बाबातालप्रति पर्यटकको थप आकर्षण बढाउन ताल क्षेत्रभित्रै फूलको बँगैचा, बालबालिकाका लागि बालपार्क निर्माण गर्नुका साथै पर्यटकका लागि तालमा बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ । “बातातालमा घुम्न आउने पर्यटकका लागि तालमा छवटा बोटिङ सञ्चालनमा ल्याएका छौँ”, समितिका सचिव उद्धव काफ्लेले भन्नुभयो, “चारवटा समितिकै बोटिङ छन्, दुईवटा अन्य व्यक्तिबाट भाडामा ल्याएर बोटिङ चलाइरहेका छौं ।” अहिलेसम्म बोटिङ्ग पनि राम्रै चलिरहेको उहाँको भनाइ छ । बर्सेनि खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेरबार गरी आर्थिक वर्ष २०६०/६१ मा भू–संरक्षण कार्यालय सिरहाबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१/७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर, बालपार्क बनाएर व्यवस्थित बनाएको थियो । अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सचिव काफ्लेको भनाइ छ । अरु बेलाभन्दा पनि नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्ने गरेको छ । अहिले ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुर चलचित्रको छायाङ्कनसमेत हुन थालेको छ । दैनिकजसो कलाकार आउने र सुटिङ गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकका लागि बाबाताल संरक्षण समितिले प्रवेश शुल्क १० रुपैयाँ, तालमा बोटिङ गर्ने पर्यटकका लागि ५० रुपैयाँ र भ्यूटावरबाट अवलोकन गर्न २० रुपैयाँको टिकटको व्यवस्था मिलाइएको छ । आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको बाबातालमा भ्यूटावर निर्माण भएपछि अब बाह्य पर्यटकसमेत आकर्षित हुने समितिका अध्यक्ष दाहालले जानकारी दिए। करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत निर्माण गरिएको छ । यसबाहेक ताल क्षेत्रभित्र स्थानीयले घरबाससमेत सञ्चालन गर्र्ने तयारी रहेकाले सोबारे पर्यटन मन्त्रालयसँग छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ छ । तालमा आन्तरिकका साथै बाह्य पर्यटकसमेत भित्र्याउन राजमार्गबाट तालसम्मको ग्राभेल बाटोलाई कालोपत्र गर्ने र निकट भविष्यमै ताल क्षेत्रमा केबुलकारसमेत सञ्चालन गर्ने ताल संरक्षण समितिको योजना रहेको अध्यक्ष दाहालको कथन छ । सरकारी निकाय तथा स्थानीयवासीको समेत गतिलो साथ पाएको बाबाताल क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा देखिन थालेको छ । पर्यटकीय क्षेत्रकै रूपमा व्यवस्थित भएको छोटो अवधिमै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्र्याउन सफल बाबाताल मुलुककै प्रसिद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयसमेत जोडतोडका साथ जुटेको स्थानीय बुद्धिजीवी राजकुमार लामाले बताए । जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको बेला पर्यटकको आकर्षकको केन्द्र बनेको बाबातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन प्रचार–प्रसार गर्नुपर्ने लामाको भनाइ छ । रासस
दोधारा–चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’
महेन्द्रनगर । दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नु प¥यो । ‘वन्यजन्तुको त्रासदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको कठिनाइ विगतमा थिए’, उनले भनिन्, ‘अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।’ कञ्चनपुरको टापुका रुपमा चिनिएको दोधारा चादँनीमा २०२२ सालको सेरोफेरोमा बसोबास थालिए पनि महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै सुखका दिन आएको जोशी बताउँछिन् । ‘२०५८ सालमा तत्कालीन जनप्रतिनिधिको विशेष पहलमा दोधारा चादँनी जोड्ने झोलुङ्गे पुल बनेपछि हामी सदरमुकाम र मूलधारसित जोडिएका हौँ,’ उनले भनिन्, ‘त्यसअघिका दोधारा चादँनीवासीको पीडा अहिले शब्दले व्यक्त गर्न सकिँदैन ।’ झोलुङ्गे पुल बन्नुअघि हिउँदमा घण्टौँ बगरमा हिँडेर महेन्द्रनगर लगायतका ठाउँमा आवातजावत गर्नुपरेको थियो । ‘वर्सातमा स्याउले हँुदै भारतको वनबासाको पुल भएर नेपाल आउनुपर्ने बाध्यता थियो’, जोशीले भनिन्, ‘वनबासा पुल पुग्नुअघि चोरी डकैतीका साथै जङ्गलमा जनावरको त्रास हुन्थ्यो ।’ महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि ढुङ्गा र भारतीय भूमिबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको छ । दोधारा चादँनीवासी अहिले ठूला सवारीसाधन लिएर निर्माणाधीन चार लेनको पक्की पुलबाट सहज रुपमा आवतजावत गरिरहेका छन् । ‘त्यो बेला यहाँ वन फाडेर खेतीपाती गर्नुपर्ने तर खाद्यान्न लिन भारतकै भर पर्नुपर्ने बाध्यता थियो ।’ दोधारा चादँनी नगरपालिका–१ का राजेन्द्र चन्दले भने, ‘न यहाँ एम्बुलेन्स थिए, न त डाक्टर नै ।’ सडक, स्वास्थ्य र शिक्षाको पहुँचबाट टाढा रहेको यहाँ २०५० साल अघि स्थानीयले धेरै समस्यासित जुध्नु परेको थियो । ‘अहिले त स्याउलेदेखि कुतियाकवरसम्म पक्की सडकदेखि हरेक खोला नालामा पक्की पुल बनिसके ।’ चन्दले भने, ‘सुक्खा बन्दरगाह र चार लेनको पक्की पुलले दोधारा चादँनी आर्थिक समृद्धिको हब भइसक्यो ।’ झोलुङ्गे पुल बनेपछि दुःख, कष्ट नै हराएको चन्द बताउँछन् । उनले भने, ‘चार लेनको पक्की पुल र सुक्खा बन्दगाहले सुदूरपश्चिमकै आर्थिक विकासमा टेवा पुग्ने छ ।’ केही वर्षअघि भारतीय रुपैयाँको कारोबार हुने दोधारा चादँनीमा अहिले त्यो विस्थापित भइसकेको छ । ‘यहाँ विकासका ठूला आयोजना आउँदा जग्गाको कारोबारसमेत ह्वात्तै बढेको छ ।’ उनले भने, ‘अब दोधारा चादँनी विकट होइन, जिल्लाकै आर्थिक गतिविधिको मुख्य स्थान बन्नेमा हामी आशावादी छौँ ।’ २६ हजारभन्दा बढी मतदाता रहेको दोधारा चादँनी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्छ । दोधारा चादँनी नगरपालिका बन्नुअघि यहाँ दुईवटा गाविस थिए । सरकारले नै वन फँडानी गरेर बस्ती बसाउन थालेपछि २०२२ सालयता विभिन्न व्यवसाय तथा रोजगारीका लागि भारत जानेहरु त्यो बेला यहाँ बस्न थालेका हुन् । महाकाली नदीमा आउने बाढी नियन्त्रणका लागि वर्षौंअघि यहाँ नदी क्षेत्रको २२ किलोमिटर तटबन्ध निर्माण भएको थियो । पछिल्ला वर्षहरुमा बाढीले कटान गर्दै बस्ती बस्ने खतरा बढ्न थालेपछि यहाँ तटबन्ध निर्माणमा जोड दिइएको छ । बाजुराबाट २०३२ सालमा दोधारा चादँनी सरेका दोधारा चादँनी नगरपालिका–४ का ७३ वर्षीय भीमबहादुर सिंह आफू यहाँ आउँदा कुवा कोरेर पानी खाएको बताउँछन् । ‘पीठो पिस्न भारतीय बजार जानुपर्ने बाध्यता थियो’, उनले भने, ‘महाकाली तरेर महेन्द्रनगर आउन जोखिम मोल्नु पथ्र्यो ।’ उहाँ २० वर्ष आफैँ डुङ्गा चलाएर वारपार गरेको सुनाउँछन् । ‘डुङ्गाको सहयोगमा नदी तर्नेहरु प्रतिव्यक्ति रु पाँच तिर्ने गर्दथे, एक पटकमा ४० क्विन्टलसम्म ढुवानी गर्दथ्यौँ’, उनले भने । पुल बनेपछिमात्र डुङ्गा बन्द भएको हो । रासस
नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा ढकाल
काठमाडौं । नेपाली होटल व्यवसायी सङ्घको अध्यक्षमा गणेश ढकाल निर्वाचित भएका छन् । सङ्घको शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभा एवं १२औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन (दीपक) लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा निर्वाचित भएका छन् । यस्तै सदस्यमा शेरबहादुर विष्ट, पुष्पराज तामाङ, शेरबहादुर कार्की, अम्बर रिजाल, यामबहादुर राना, जयलाल श्रेष्ठ, प्रेमबहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलावल्लभ पराजुली र भूपराज दाहाल भएका छन् । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विस २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी सङ्घमा चार सय व्यवसायी आवद्ध छन् ।