काठमाडाैं । पर्यटन भिसामा विदेश प्रस्थान अनुमति सम्बन्धि ल्याइएकाे कार्यविधि तत्काल खारेज गर्न नेपाल एशाेशियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) सरकारसँग माग गरकाे छ । साेमबार एक विज्ञप्ति जारी गर्दै नाट्टाले नयाँ कार्यविधीले पर्यटन व्यवसायलाई प्रत्यक्ष र गम्भिर असर पार्ने बताउँदै तत्काल खारेज गर्न माग गरेकाे हाे ।
कार्यविधीले नेपाली पर्यटकहरुको स्वतन्त्रता पुर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकार समेतलाई चुनौति दिएको नाट्टाकाे भनाइ छ ।
‘वैदेशिक रोजगार व्यवसायी, श्रम विभाग तथा अध्यागमनका कर्मचारीहरुबाट मात्र सम्भव हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्नुको साटो भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने पर्यटन व्यावसायीहरुलाई निषेध र हतोत्साहीत गर्ने नियतका साथ ल्याईएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
नाट्टाले सरोकारवाला व्यवसायी तथा संघ र संस्थासँग सामान्य छलफल समेत नगरी एकतर्फी ढङगबाट पुन: यस प्रकारको गैर जिम्मेवार काम अगाडी बढ्नु दुखद रहेको बताएकाे छ ।
नयाँ कार्यविधि अनुसार नेपाली पर्यटक गन्तव्य देश जानु पुर्व कम्तीमा २ ओटा देशको भ्रमण गरेको हुनुपर्ने, गन्तव्य मुलुकको होटलको वेबसाइटमा खुल्नेगरि होटेल बुकिङको प्रमाण पेस गर्नु पर्ने, ट्राभल एजेन्सीहरुले तोकिएको मुलुकमा पर्यटक भिसामा भ्रमणका लागि जाने नेपाली पर्यटकको टिकट व्यवस्थापन गर्नु पुर्व अध्यागमन विभागबाट स्वीकृति लिनु पर्ने, आफ्नो एजेन्सी मार्फत पर्यटन भिसामा गएका नेपाली पर्यटकलाई तोकिएको मितिमा नेपाल फर्काउने र त्यसको प्रतिवेदन अध्यागमन विभागमा पेश गर्नुपर्ने व्यवस्था छ ।