पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न यतीको तयारी, बिहीबार प्रदर्शन उडान हुने

काठमाडौं ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती एअरलायन्सले उडान शुरु गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले उडान भर्ने तयारी गरेको हो । उडान भर्ने तयारी स्वरुप एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण व्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ । सोही तयारी अनुसार (बिहीबार ७ पुष) डिसेम्बर २२ का दिन बिहान १० बजे नयाँ एअरपोर्टमा प्रशिक्षक चालकदलले एटिआर-७२ बिमान मार्फत यतीले पहिलो पटक प्रदर्शन उडान गर्न लागेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यती एअरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको हो । यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको वस्तु स्थिती जानकारी हासिल गर्न सहज हुने छ । काठमाडौ बाट पोखराका लागि यतीले दैनिक ७ वटा उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए संगै नियमित उडानहरुको संख्या थप गर्ने र पोखरा बाट अन्य विमानस्थलहरुमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ ।

सलाम एयरले टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई गर्यो सम्मान

काठमाडौं । सलाम एयरलाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो । विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्विता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएकाे छ । त्यस्तै, मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मर्स्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ भने हाइएस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ । त्यसैगरी, राइजिङ्ग स्टार अन्तर्गत कम्पनीले मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ । सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाध्य सामाग्री तथा लत्ता कपडा बितरण पनि गरेकाे थियाे । सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तब्यहरुमा सिजनल सेवा पुयाउँदै आएको छ । कम्पनीले नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ ।  

होमस्टे सञ्चालक भन्छन् : ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौँ’

वालिङ। घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित् खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् । घरबासमा गएपछि त विशुद्ध स्थानीय परिकार, अर्गानिक परिकार हुन्छन् भन्ने पाहुनाको सोंच सबै ठाउँमा मिल्दैन । गाउँमा घरबास सञ्चालन हुन्छन् तर परिकार सबै गाउँभन्दा बाहिरबाट आयात हुन्छन् । स्थानीय उत्पादन, स्थानीय परिकार देखिँदैनन् । घरबासमा आउने पाहुनालाई सकेसम्म स्थानीय परिकारका स्वाद चखाउने र सामग्रीको प्रयोग गरेर स्वागत सत्कार गर्ने तथा स्थानीयस्तरमा निर्माण भएका सामग्री उपहारस्वरुप उपलब्ध गराउने वा बिक्री गर्ने लक्ष्यसहित स्याङ्जाको वालिङ नगरपालिका– ४ सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालकलाई प्रयोगात्मक प्रशिक्षण गरिएको छ । वालिङ नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र दियालो संस्थाको सहकार्यमा सुन्तलाबारीमा हरित पुनःउत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ‘इको होमस्टे’ मा परिणत गर्न लागिएको हो । स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्नको प्रयोग गर्ने, व्यक्ति, भान्छाकोठा तथा समुदायको सरसफाइमा ध्यान दिने, स्वागत सत्कार गर्ने तरिका, कुनैपनि खाद्यान्नलाई बालीदेखि थालीसम्म पुर्याउँदा ध्यान दिनुपर्ने विषयकाबारेमा सामूहिकरुपमा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको हाईगेट कलेज पोखराका प्रशिक्षक प्रिन्स गुरुङले बताए । ‘घरबासमा आउने पाहुनालाई उनिहरुले आ–आफ्नै तरिकाले स्वागत सत्कार गर्ने, खाना बनाएर खुवाउने लगायतका कार्य पहिलैदेखि गर्दै आएका थिए’, उनले भने, ‘जसरी जानेका थिए त्यसरी नै गर्थे, पाँच दिनको प्रयोगात्मक प्रशिक्षणपश्चात थप व्यवस्थित हुने भएको छ ।’ बजारकाभन्दा स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्नको प्रयोगमा जोड दिने प्रतिबद्धता ब्यक्त भएकाले पनि अबका दिनमा स्थानीय परिकार धेरै पाउन सकिने उनको भनाइ थियो । आफ्नै खेतबारी, बन जङ्गलमा त्यसै खेर गईरहेका खाद्य वस्तुकाबारेमा ज्ञान नभएकाले पनि समस्या भएको सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष डिलबिक्रम गुरुङ बताउछन् । ‘आफ्नै खेतबारी तथा वन जङ्गलमा भएका र खान हुने वस्तुको प्रयोग कसरी गर्ने भन्ने जानेकै रैनछौं’, उनले भने, ‘पाँचदिनसम्म सामूहिकरुपमा अभ्यास गर्यौं, सिक्यौं अब जान्यौं, जानेका कुरालाई कार्यान्वयनमा उतार्छौं ।’ बजारबाट गाउँमा खाद्यान्न आयात गर्दा गाउँको रकम बजारतिर पलायन हुने र गाउँ बजारमुखी हुने भएकाले स्थानीय स्तरमा उत्पादित खाद्यान्नको परिकार खुवाउने लक्ष्यसहित काम अगाडि बढाएको उनले दावी गरे । होमस्टेलाई फरक र नौलोपन दिनुपर्छ भन्ने मुख्य उद्देश्यसहित अगाडि बढ्नेक्रममा अन्योल भएपनि अब त्यो अन्योल हटेर गएको घरबासका उपाध्यक्ष खेमराज गुरुङले बताए । ‘हाम्रै वरिपरी विभिन्न खाद्यान्न छन्, जसको प्रयोग गर्न नजान्दा त्यसै खेर गईरहेका छन्’, उनले भने, ‘प्रयोग गर्न नजान्दा खेर त गए, गए अझ त्योभन्दा महत्वपूर्ण त भएका खाद्यान्नको पकाउने, खाने, उत्पादन गर्ने विधि, व्यक्तिगत वा समुदायको सरसफाई, पाहुनालाई गाउँमा स्वागत सत्कारलाई थप ब्यवस्थित गर्न सकिने भएको छ ।’ बजारबाट खाद्यान्न आयात गर्ने र त्यही खाद्यान्न पाहुनालाई खुवाउने गरिएकोमा अब त्यसलाई निरुत्साहित गरी स्थानीय स्तरमै उत्पादन गरिएका खाद्यान्नहरुलाई बढी प्राथमिकता दिईने स्थानीय चीनमाया गुरुङले बताइन् । ‘गाउँमै उत्पादन भएको खाद्यान्न पाहुनालाई खुवाउन पाए हुन्थ्यो भन्ने त लाग्थ्यो’, उनले भनिन्, ‘तर त्यसकाबारेमा पर्याप्त जानकारी नहुँदा सकिएको थिएन, अब धेरै सिक्यौं, फरक पन पक्कै पनि आउनेमा हामी विश्वस्त छौं ।’ कोदोको ढिंडो पहिला पनि पकाएको तर अझै राम्रो तरिका अर्को पनि रैछ । यस्ता उदाहरणहरु अरु पनि धेरै भएको उनले सुनाइन् । सो तालिममा कोदो, मकै, गहुँको रोटी, ढिंडो, आलु चिप्स, सुन्तलाको जाम, मेवाका परिकार, सलाद, टिमुर, सिस्नो, मरिच लगायतको छोप, गाजरको हलुवा, साँधेको मेवा, मुला, बन्दाका परिकार, गुन्द्रुक, भटमास लगायतका धेरै परिकारहरु बनाउन सिकाइएको थियो । रासस