
काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका अध्यक्ष बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागी नेतृत्वदायी भुमिका निभाएका थिए ।
उनले नेपाल बार एसोसिएसनको संस्थापक सदस्य भएर काम गरेका थिए । सर्वोच्च अदालतको न्यायाधीश र नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त समेत भएर उनले काम गरेका थिए । वि.सं. २०२४ मा कानुन, न्याय तथा शिक्षा मन्त्री र वि.सं. २०२५ मा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन् ।
उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर हवाई सेवा सुरु गरेका हुन् । हवाई उडानलाई सहज र सरल बनाई सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ ।
उनका २ छोरा र १ छोरी रहेका छन् । हाल बुद्ध एयरलाई जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन् ।
नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बन्न सफल भएको छ । जनजनको विश्वास जितिसकेको बुद्ध एयरले वार्षिक करिब ३० लाख स्वदेशी र विदेशी यात्रुलाई सेवा दिइरहेको छ । एउटा जहाज र ९९ जना कर्मचारीबाट सुरु भएको बुद्ध एयरसँग १६ वटा जहाज र १५ सय कर्मचारी कार्यरत छन् ।
बुद्ध एयरलाई यो अवस्थासम्म ल्याउँदा विभिन्न कालखण्डमा धेरै उतारचढाब भोग्नु पर्याे । बस्नेत अप्ठेरा दिनमा कहिल्यै आत्तिएनन् । उल्टै निरन्तर सक्रिय रहँदै यात्रुको सेवा र धैर्यबाट सफलताको सिंढी चढिरहे ।
अध्यक्ष रहेका बस्नेतलाई कम्पनी स्थापना गर्दा नाम र लोगो राख्दा अलमल भएको थियो । सुरुमा हनुमान एयर राख्ने योजना बनाएका उनले घरपरिवार र साथीसँगीको सल्लाहमा ‘बद्ध एयर’ र लोगोमा बुद्धको मूर्ति राखे ।
तर, एक दिन एक जना श्रीलङ्कालीले ‘यो जहाजमा कोही चढ्दैनन्’ भन्दा उनी झसङ्ग भए । ‘टिकट र बोर्डिङ पासमा बुद्धको मूर्ति राखिएकाले बुद्ध अंकित टिकट च्यातिन्छ, कुल्चिन्छ, धार्मिक भावनामा ठेस पुग्छ भनेका थिए । तर, बस्नेत पछि हटेनन् ।
‘वीच ९०’ नयाँ जहाज माउन्टेन फ्लाइटका लागि निकै राम्रो र १८ सिट भएको थियो । वीच ‘हकर्स’ कम्पनीको जहाज अमेरिकी कम्पनीले बेलायती कम्पनी किनेर बनाएको थियो । पाँच मिलियन डरसम्ममा जहाज खरिद गर्न सकिन्थ्यो । उनलाई जुन भए पनि जहाज ल्याउनु परेको थियो । बीचक्राफ्ट जहाजको मूल्य त्यतिखेर झण्डै ३२ करोड रुपैयाँ थियो । यत्रो ठूलो रकम जोहो गर्न उनलाई बडो कष्ट भयो । बिजनेस प्लान लिएर चारैतिर भौतारिए । अन्त्यमा नेपाल बैंक अफ सिलोन र कर्मचारी सञ्चय कोषको सहवित्तयकरणबाट ऋण स्वीकृत भयो ।
बस्नेतले अहिलेको केन्द्रीय कार्यालय जावलाखेलमा ८०० वर्गफिटको घरबाट नै कार्यालयको सुरुवात गरेका थिए । साँघुरो अफिसमा सबै जना कच्याककुचुक परेर बस्थ्थे । बुद्ध एयर स्थापनासँगै झण्डै ९९ जना कर्मचारी थिए । २५ वर्ष पछि पनि ४९ जना साथीहरु त सँगै नै छन् ।
अन्ततः पुच्छारमाथि बत्ती पिलिक्क–पिलिक्क बल्दै, बुद्ध एयरको लोगो टल्काउँदै गरेको जहाँज गौचरणमा ओर्लियो । दशैं टीकाको दिन परीक्षण उडान पोखरा गर्याे । ११ अक्टोबर १९९७ का दिन पहिलो व्यावसायिक उडान सुरू गरेको थियो । माउन्टेन फ्लाइट, पोखरा र विराटनगरको उडान गरेको थियो । नेपालको हवाई इतिहासमा पहिलो पटक काठमाडौं–विराटनगर १ घण्टा लाग्ने उडान त्यसको आधा समयमा पूरा गरी नयाँ इतिहास रचेको थियो ।
ऋणमा ल्याइएको जहाज, त्यसको अपरेसन खर्च, बैंकको किस्ता र अस्वस्थ प्रतिस्पर्धाले गर्दा पैसा जोहो गर्न पनि धौधौ परेको सन् २००२ ताका । बुद्ध एयरकर्मीहरुले ‘तलबभन्दा पनि कम्पनी चल्नु पर्छ, पहिला कम्पनी हेरौं, त्यसपछि तलब हेरौंला’ भने । कोभिड कालबाहेक उडान गरेको पाँच वर्षपछि लगभग हरेक वर्ष कर्मचारीलाई बोनस बाड्न सफल भएको छ ।
ठूलो जहाजमा जानुपर्छ भन्ने आवज उठेपछि सन् २००८ मा अर्काे जहाज एटीआर–४२ भित्र्याएको थियो । सन् २००८ पछि कोसीको धार परिवर्तन हुँदा पूर्वको राजमार्ग निकै दिन अवरूद्ध भएको थियो । सर्वसाधारण राजधानीदेखि टाडिने अवस्था आएको थियो । यस्तो बेला सबै कर्मचारी मिलेर पूर्वको उडान तालिकालाई सहज बनायो । एकाबिहानैदेखि बेलुकासम्म निरन्तर उड़ान भरेपछि थप जहाज पनि भित्र्याउन सफल भयो ।
सन् २०११ सेप्टेम्बर २५ को दिन माउन्टेन फ्लाइट गरी फर्केको जहाज ललितपुरको कोटडाँडामा दुर्घटनामा पर्याे । १६ जना यात्रु तथा ३ जना चालकदल गरी १९ जना गुमाएको पीडाले उडान र जनशक्तिलाई थप सशक्त बनायो । नयाँनयाँ सुरक्षाका प्रविधि भित्र्याएर एफडीएमको मद्दतले हरेक उडानलाई सूक्ष्म निगरानी गरिरहेको छ ।
देशैभरि पखेटा फिजाइसकेपछि, अन्तर्राष्ट्रिय उडानको सपना साकारः पार्नतिर सन् २०१० को अगस्टदेखि भुटानको पारो विमानस्थलमा उडान गर्याे । यो नै पहिलो अन्तर्राष्ट्रिय उडान थियो । अर्को वर्ष सन् २०११ को जनवरीबाट भारतको उत्तरप्रदेशको राजधानी लखनउलाई पनि काठमाडौसँग जोड्यो ।
यसैगरी सन् २०१२ को मार्चबाट साताको दुई दिन सोमबार र शुक्रबार वाराणसीको उडान भरिरहेको छ । सन् २०१९ को मे देखि भारतको वेष्ट बङ्गालको राजधानी कोलकोत्ताको पनि उडान सुरु गरेको भएपनि विभिन्न कारण र परिस्थितिवश वाराणसी बाहेक अन्य गन्तव्यका उडान बन्द गरेको छ ।
सस्तो भाडादर कायम गरी सबै नेपालीलाई हवाईजहाज चढ्ने अवसर दिई वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको छ ।