काठमाडौं । सीई ग्रुपले लुम्बिनी र नगरकोट हक नामाकरण गरेर नयाँ प्रोजेक्ट अगाडि सारेको छ । सीई समूहले निर्माणअघि गर्नु पर्ने सबै काम गरिसकेको छ । अब निर्माणको तयारीमा जाने तयारी भइरहेको कम्पनीले बताएको छ ।
जुन सीई ग्रुपको अर्को पायोनियर प्रोजेक्ट हो । जुन नेपालका लागि नौलो अभ्यास पनि हो । एउटै ठाउँमा बच्चालाई मनोरञ्जन गर्न सकिने मनोरञ्जन स्थलदेखि स्वीमिङ पुल, रेष्टुराँ, सपिङ कम्प्लेक्स र इभेन्टका लागि मेगा हलहरु लगायतका सेवा सुविधाहरु ती हबभित्र हुने सीई समूहका अध्यक्ष विजयराज भण्डारीले बताए ।
पर्यटकहरुलाई चार/पाँच दिनसम्म नेपालमै बस्न सक्ने पूर्वाधार र सेवा सुविधाहरु सीई ग्रुपले निर्माण गर्दैछ । त्यसका लागि कम्पनीले तयारी थालिसकेको छ । ‘अहिले पर्यटकहरु लुम्बिनीमा आउँछन्, एक दिन ध्यान गरेर फर्किहाल्छन्, अब हामी लुम्बिनी हब निर्माण गरेर कम्तिमा चार/पाँच दिन त्यतै बस्ने सेवाहरुसहितहको हब निर्माण गर्दैछौं, जहाँ पर्यटकले सबै सुविधाहरु एउटै छानाभित्र पाउन्,’ अध्यक्ष भण्डारीले योजना सुनाए ।
जसलाई सीई समूहले पाइलट प्रोजेक्टको रुपमा काम गर्न खाजेको छ । लुम्बिनी हब निर्माणमा ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । जुन ७ बिगा जग्गामा बन्दैछ । ४२ वटा हाउजिङ इकाइ हुने बताइएको छ ।
‘हामी रणनीतिक साझेदारहरुको सहयोगमा काम गर्दैछौं, जुन क्षेत्रमा जसको विज्ञता छ, तिनीहरुसँग साझेदारी गरेर काम गरिरहेका छौं, यसले हामीलाई सफल बन्न सहयोग मिलिरहेको छ, हामी नेपालमा एक सफल कन्स्ट्रक्सन कम्पनीका रुपमा सफल बन्न चाहन्छौं,’ उनले भने ।
नगरकोट हब पर्यटन व्यवसायी तथा एनएस होटल ग्रुपका अध्यक्ष योगेन्द्र शाक्य र भण्डारीको संयुक्त लगानीमा बन्ने भएको हो । यसमा बैंकर पृथ्वीबहादुर पाँडेले पनि लगानी छ । नगरकोट हबको २ अर्ब रुपैयाँ लगानी लाग्ने बताइएको छ ।
२५ रोपनी क्षेत्रफलमा फैलिने हबमा अपार्टमेन्ट, सपिङ कम्प्लेक्स, पैदल हिँड्ने बाटो, मनोरञ्जन क्षेत्र तथा हरियाली क्षेत्र हुनेछन् । पहिलो चरणमा २४ वटा घरहरू बनाउने काम सुरू भइसकेको उनले बताए । प्रत्येक घर साढे दुईदेखि तीन तलाका हुनेछन् ।