दशैंमा भायानेटको अफर : इन्टरनेट जडान वा रिन्युमा छुट र आकर्षक उपहार
काठमाडौं । भायानेटले दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझ ठूलो आकर्षक अफर ल्याएको जनाएको छ । यस अफर अन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो सेवा नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् । कम्पनीका अनुसार ३ हजार रुपैयाँ पर्ने मेस राउटरलाई ५०० रुपैयाँ छुटसहित २ हजार ५०० रुपैयाँमा उपलब्ध गराइनेछ । त्यस्तै, १० हजार ७४९ पर्ने डूअल ब्याण्ड फोन ‘जेडटिई नुबिया ए३६’ छुटसहित ८ हजार ९९९ रुपैयाँमा पाइनेछ। साथै, ४३ इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसबाहेक, इसेवा एपमार्फत ८ हजार ४०० रुपैयाँ भन्दा माथि भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भीआइए ३०० प्रयोग गरी ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यस्तै, ग्राहकले 'स्पीन द व्हील' कार्यक्रममा भाग लिएर थप १ महिना, २ महिना वा १२ महिनासम्म निःशुल्क इन्टरनेट सेवा पाउने अवसर पनि पाउनेछन् ।
चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट
काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङले चीनमा अमेरिकी प्रविधि कम्पनीले भोगिरहेको समस्याबारे प्रतिक्रिया जनाएका छन् । बुधवार फाइनान्सियल टाइम्सले चीनको साइबरस्पेस प्रशासनले टिकटकको मालिक कम्पनी बाइटडान्स र अलीबाबालगायतलाई एनभीडीयाको RTX Pro 6000 D चीनका लागि विशेष रूपमा बनाइएको चिप किन्न आदेश नदिएको खबर प्रकाशित गरेपछि हुवाङले आफू निराश भएको बताए । फाइनान्सियल टाइम्सको रिपोर्टबारे सोधिएको प्रश्नमा हुवाङले भने, ‘हामी केवल त्यही बजारमा सेवा गर्न सक्छौं, जहाँ त्यो देशले हामीलाई चाहन्छ ।’ ‘हामीले चीन बजारका लागि धेरै योगदान दिएका छौं, धेरै देशहरूले दिएकोभन्दा बढी । मैले देखिरहेको कुराले मलाई निराश बनाएको छ । तर चीन र अमेरिकाबीच ठूलो राजनीतिक एजेन्डा छन्, जसलाई मैले बुझ्ने प्रयास गरेको छु,’ उनले थपे । यो समाचार एनभीडीयाको चीनमा भइरहेको उतार-चढावपूर्ण व्यापारिक अवस्थापछि आएको हो । लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले सबै वित्तीय विश्लेषकलाई चीनलाई वित्तीय पूर्वानुमानमा समावेश नगर्न मार्गदर्शन दिएका छौं । यसको कारण के भने यो मुख्यतया अमेरिकी र चिनियाँ सरकारबीचको छलफलमा रहने विषय हो ।’ यसअघि अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण एनभीडीयाका एआई चिप्स चीन पठाउन प्रतिबन्ध लगाएको थियो– जसमा कम शक्ति भएको सर्भर चिप H20 पनि थियो । तर, गत अगस्टमा ह्वाइट हाउसले घोषणा गरेको थियो कि राष्ट्रपति डोनाल्ड ट्रम्प र हुवाङबीच भएको सम्झौताअनुसार एनभीडीयाले निर्यात अनुमति पाउनेछ र चीनमा बिक्री भएको H20 चिप्सको १५ प्रतिशत अमेरिकी सरकारलाई जानेछ । बुधबारको यो समाचारले फेरि एकपटक एनभीडीयाको चीन व्यवसायमा ठुलो धक्का दिएको छ । यसअघि चीनको राज्य बजार नियामक प्रशासनले एनभीडीयाले इजरायली प्रविधि कम्पनी मेलानक्स (डेटा सेन्टर र सर्भरका लागि नेटवर्क समाधान बनाउने कम्पनी) खरिद गरेको विषयमा एक एन्टिट्रस्ट (एकाधिकार विरोधी) छानबिन सुरु गरेको थियो । मंगलबार एनभीडीयाले बेलायतमा ११ अर्ब पाउण्ड (१५ अर्ब डलर) को लगानी गर्दै एआई पूर्वाधार विकास गर्ने घोषणा गर्यो । माइक्रोसफ्ट, गूगल र सेल्सफोर्सलगायत अन्य अमेरिकी प्रविधि कम्पनीहरूले पनि बेलायतमा बहुअर्ब डलरको एआई लगानी गर्ने घोषणा गरेका छन् । भू–राजनीतिक परिस्थितिका बाबजुद हुवाङले चीनको एआई बजारको महत्त्वलाई जोड दिए। ‘चिनियाँ बजार महत्त्वपूर्ण छ। यो ठूलो छ। प्रविधि उद्योग धेरै सक्रिय छ । हामी ३० वर्षदेखि यसको सेवा गर्दै आएका छौं,’ उनले भने । ‘एनभीडीयाले चिनियाँ सरकार र चिनियाँ कम्पनीलाई उनीहरूलाई चाहिने रूपमै समर्थन गर्न जारी राख्नेछ र हामी अमेरिकी सरकारलाई पनि निरन्तर समर्थन गर्नेछौं, जबसम्म यी भू-राजनीतिक नीतिहरू समाधान हुँदैनन्,’उनले थपे । एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ? चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा
संविधान दिवसमा टेलिकमको अफर, ७८९ रुपैयाँमा ‘फेस्टिभ कम्बो प्याक’
काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ । यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जिबी, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जिबी, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जिबी र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । टेलिकमले यही अफरअन्तर्गत ७८९ रुपैयाँमा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।