हामी फेरि उठ्ने छौं, तपाईंहरूसँगै : एनसेल

काठमाडौं । गत हप्ताको तोडफोडका घटनामा एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको एनसेलले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा यी घटनाले भौतिक सम्पत्तिसँगै कर्मचारीहरूको सुरक्षा र सेवामा निरन्तरतामा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ । एनसेलका अनुसार चुनौतीपूर्ण परिस्थितिमा पनि सेवाको सहज पहुँच सुनिश्चित गर्न तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराइएको थियो । कम्पनीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउँदै आएको र ग्राहकप्रतिको प्रतिबद्धता अझै अटल रहेको स्पष्ट पारेको छ । नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय प्रारम्भ भएको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । कम्पनीले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यसले मुलुकमा एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने आशा व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रुपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा योगदान गर्दै आएको छ । आगामी दिनमा पनि देश र जनताको सेवामा अडिग रहन्छौं ।' एनसेलले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

अदानचुली । टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा आएको छ । यहाँका गाउँगाउँमा फोरजी सेवा सञ्चालन आएपछि धेरै सहयोग पुर्याएको स्थानीयवासीले बताएका छन् । मेल्छाम स्वास्थ्य चौकीमा कार्यरत स्वथ्यकर्मी हर्क बुढाले फोरजी सेवा सञ्चालनमा आएपछि सहयोग पुर्याएको बताए । नेपाल टेलिकमले विसं २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको थियो । व्यवसायी दीपक थापाले फोरजी सेवा सञ्चालनमा आएपछि व्यवसाय गर्न सहयोग पु¥याएको बताए। हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ । चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले भने, 'हुम्ला जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमासमेत आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्न गाउपालिकाको अथक पहल र निरन्तर प्रयत्नले फेरजी टावर सञ्चालनमा आएको छ । स्थानीयवासीलाई शिक्षा, स्वास्थ्य, सञ्चार तथा रोजगारीका नयाँ अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विश्वाससमेत लिएको छु ।' उनले फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन तथा सूचना आदानप्रदानको कामसमेत सहज हुने बताए । चङ्खेली–३ को लामाकाँधमा राखिएको टावरले चङ्खेली गाउँपालिकाका केही बस्ती सर्केगाड र मुगुको सोरु गाउँपालिकाका केही बस्तीमासमेत सेवा पुर्याउने जनाइएको छ । वडा नं ६ को मासीधारमा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीमा ‘फोरजी’ सेवा सञ्चालन हुने छ । महतारा चौरमा निर्माणधीन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचारु हुनेछ । जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थाले पनि आफूलाई कार्यालयमा काम गर्नसमेत सहज हुने भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीको भनाइ छ । उनका अनुसार यस अघि इन्टरनेट नहुँदा स्वास्थ्यसम्बन्धी डेटा भर्नासमेत मुस्किल भएको थियो । गाउँमा फोरजीसम्मको सेवा पुर्याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला चङ्खेली गाउँपालिकाका अध्यक्ष शाहीले बताए । फोरजी सेवा सुरु भएसँगै यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ । रासस

टेलिकममा क्रान्ति ल्याएको एनसेलमाथि अन्याय, आफू जलेर पनि निःशुल्क सेवामा दैनिक १० करोड खर्च

काठमाडौं । ‘एनसेलले नेपालको टेलिकम क्षेत्रमा कायापलट गरेको छ, जनतालाई सस्तो, सहुलियत र सहज सेवा प्रदान गर्न महत्वपूर्ण योगदान गरेको छ । तर, यही एनसेल प्रदर्शनकारीको निशाना पर्यो । जुन नेपाल र नेपालीका लागि दुःखद विषय हो,’ एनसेलमा आवद्ध एक उच्च अधिकारीले गुनासो गर्दै भने ।  दुई दशकअघि सर्वसाधारणका लागि सिम पाउन पनि ठूलो शक्ति संघर्ष प्रयोग गर्नुपर्थ्यो । सहजै सिम पाउनु सर्वसाधारणका लागि कठिन विषय थियो । दुई दिन लाइन लागेर बल्लतल्ल सिम पाउने अवस्था दुई दशकअघि थियो, त्यो पनि हुनेखानेहरूका लागि ।  तर, जब सन् २००४ मा स्थापना भएर सन् २००५ बाट एनसेलले आफ्नो सेवा सुरु गर्यो, सिम चाहने नागरिकको बाटो सहज बन्यो । त्यतिखेर ६ प्रतिशत नेपालीसँग मात्रै भएको सिम अहिले सबैको हातहातमा पुगिसकेको छ । एनसेलका अनुसार अहिले डेढ करोडभन्दा बढी सो कम्पनीका ग्राहक छन् । नेपालमा मोबाइल प्रयोगकर्ता ११५ प्रतिशत पुगेका छन् । यो क्रान्ति ल्याउन एनसेलको ठूलो भूमिका र योगदान छ । कम्पनीले एकै आर्थिक वर्षमा ४० अर्ब रुपैयाँसम्म कारोबार गरेको वित्तीय विवरणमा उल्लेख छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको छ । स्थापनादेखि हालसम्म ३४० अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको कम्पनीको दाबी छ ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उदाहरणीय कामहरू गर्दै आएको छ । कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ ।  उच्चस्तरको कमाइ हुने भएकाले जागिर खान जेनजी पुस्ताले रोज्ने कम्पनीमा पर्छ एनसेल । गुणस्तरीय सेवाको लागि पनि जेनजी पुस्ताले रोजेको कम्पनी हो एनसेल । तर दुर्भाग्य, यही जेनजीको नाममा अराजकवादीहरूले एनसेलमा आगो लगाए । एनसेल आवद्ध ती कर्मचारीका अनुसार तत्काल एनसेलले मुख्यालयमा बसेर काम गर्न सकिने अवस्था छैन । भवनको ग्राउन्ड र पहिलो तलामा आगजनी भएको छ । भवनको १०औं तलासम्मको ल्यापटप, टीभी लगायत सबै सामानहरु लुटपाट भएका छन् ।  ‘देशको ठूलो करदाता भनेर सरकारले पटक-पटक सम्मान गरेको छ, विभिन्न समयमा निःशुल्क सेवा पनि दिँदै आएको छ, टेलिकम क्षेत्रमा एनसेलले कायापलट नै ल्याएको छ । तर, यही कम्पनीको विरोध गरेर आगजनी गर्नु, कसैका लागि पनि राम्रो होइन,’ एनसेल आवद्ध ती कर्मचारीले भने ।  एनसेल परिसरमा जलेर नष्ट भएका सवारीसाधन । २१ वटा गाडी जले  २४ गते भएको जेनजीको आन्दोलनपछि हामी एनसेलको मुख्यालय लैनचौरमा पुगेका थियौं । विगतमा महँगा–महँगा गाडीले सजिएर आकर्षक देखिने एनसेल अहिले मरुभूमिजस्तै देखिएको छ ।  घटनास्थलमा भेटिएका एनसेलका एक अधिकारीले कम्पनीको परिसरभित्र रहेका २१ वटा गाडीहरू जलेर पूर्णरूपमा ध्वस्त भएको जानकारी दिए ।  ‘पार्किङभित्र रहेका र बाहिर रहेका २१ वटा गाडी नष्ट भएका छन्, भवनभित्रको सबै सामान लुटपाट भएको छ, पहिलो तलामा आगजनी भएपनि १०औं तलासम्मको सबै सामान लुटपाट हुँदा अहिले कार्यालयबाटै काम गर्न सकिने अवस्था छैन,’ ती अधिकारीले भने ।  अहिले एनसेलले घरबाटै सेवा दिइरहेको जानकारी दिएको छ । अफिस जाने माहोल नभएर अहिले सबै कर्मचारीले ‘वर्क फ्रम होम’ गरिरहेको एक कर्मचारीले बताए ।  ‘यो आगजनी जेनजीले गरेको होइन, आन्दोलनको नाममा विध्वंशकारीहरूको निजी कम्पनी ध्वस्त पार्ने नियत देखियो,’ ती अधिकारीले भने, ‘एनसेलकै डेटा प्रयोग गरेर एनसेलकै आगजनीको फोटो/भिडिओ सामाजिक सञ्जालमा राखेको देखियो ।’ दैनिक १० करोडको निःशुल्क सेवा आफ्नै मुख्यालयमा आगजनी भएर करोडौंको क्षति बेहोरे पनि एनसेल भने विचलित भएको छैन । कम्पनीले बरु यो संकटमा निःशुल्क सेवा दिने काम गर्यो ।  एनसेलले गत साताको मंगलबारदेखि शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवा दिएको छ । उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनसँग सम्पर्क कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क सेवा दिएको बताएको छ । जसका लागि कम्पनीले दैनिक १० करोड रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।  एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरूले एनसेल र एनटीसी दुवै नेटवर्कमा बिना कुनै शुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा पाएका छन् ।  ‘हाम्रो भवनमा आगजनी भए पनि हामीले हाम्रा उपभोक्ता र सर्वसाधारणप्रतिको धर्म बिर्सेनौं, दैनिक १० करोड खर्च गरेर निःशुल्क सेवा दियौं,’ ती अधिकारीले विकासन्युजसँग भने ।  ती अधिकारीका अनुसार एनसेलको मुख्यालयसँगै धनगढी, महेन्द्रनगर र पोखराको कार्यालयमा पनि आगजनी भएको छ । देशको सबैभन्दा ठूलो करदाता, रोजगारीका लागि आकर्षण केन्द्र र सूचना प्रविधि क्षेत्रमा नयाँ आयाम थपेको एनसेलमाथि भएको यो आक्रमणले देशमा लगानीमैत्री वातावरण बिथोलिएको चिन्ता धेरैको छ । लगानीकर्तालाई यस्ता घटनाले निरुत्साहित र उनीहरुको आत्मबल कमजोर पार्ने काम भएको बुझाइ अधिकांशको छ ।