अत्यधिक हाइपले एआई बजार अस्थिर बन्दै

काठमाडौं । पूर्व मेटा कार्यकारी तथा बेलायती राजनीतिज्ञ निक क्लेगले बुधबार कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बजार समायोजन (मार्केट करेक्सन) हुने सम्भावना ‘धेरै उच्च’  रहेको चेतावनी दिएका छन् । उनले कृत्रिम सुपर–इन्टेलिजेन्सको अवधारणामा पनि आपत्ति जनाएका छन् । बेलायतका पूर्व उपप्रधानमन्त्री रहेका क्लेगले पछि अमेरिकाको प्रविधि कम्पनी मेटामा नीति निर्माणको जिम्मेवारी सम्हालेका थिए । उनले भने, ‘एआईको बूमका कारण अहिले ‘क्रेजी भेलुएसन’ देखिएका छन् ।’ सीएनबीसीको अन्तर्वार्ताका क्रममा उनले भने, ‘अहिले लगभग दैनिक वा घण्टैपिच्छे सम्झौता हुने अति तीव्र लहर चलेको छ । तपाईंले सोच्नैपर्छ — यो बजार अब कुनै न कुनै समय समायोजनतर्फ जाँदैछ ।’ उनका अनुसार यस्तो बजार सुधार हुने सम्भावना ‘धेरै उच्च’ छ । सामान्यतया बजारमा ‘बबल’ भन्नाले कम्पनीको वास्तविक आर्थिक आधार (फण्डामेन्टल) भन्दा धेरै बढेर मूल्याङ्कन हुने अवस्थालाई जनाइन्छ । क्लेगका अनुसार बजार सुधार यस कुरामाथि निर्भर गर्छ — ठूला टेक कम्पनीहरू जसले सयौं अर्ब डलर लगानी गरेर विशाल डेटा सेन्टरहरू बनाइरहेका छन्, ती लगानीहरू फिर्ता गर्न र आफ्नो व्यापार मोडललाई दिगो सावित गर्न सक्षम हुनेछन् कि हुँदैनन् । ‘यसले केही चुनौतीहरू अवश्य ल्याउनेछ,’ क्लेगले भने, ‘विशेषगरी त्यो आधारभूत ढाँचा जसमा यो सम्पूर्ण उद्योग आधारित छ — अर्थात् ठूला भाषा मोडेलमा आधारित एआई प्रणालीहरू ।’ क्लेगका अनुसार यो ‘प्याराडाइम’ भनेको कृत्रिम सुपर–इन्टेलिजेन्स हो — जसमा एआईले मानव बौद्धिकताभन्दा माथि पुग्ने अवस्था जनाइन्छ । यसलाई प्रायः ‘पवित्र लक्ष्य’ का रूपमा हेरिन्छ । यसको विपरीत, कृत्रिम साधारण बौद्धिकता (एजीआई) ले मानव–स्तरको क्षमतासम्म सीमित रहने बुझिन्छ । धेरै ठूला प्रविधि नेताहरू र लगानीकर्ताहरू जस्तै सोफ्टबैंकका संस्थापक मासायोसी सोन र मेटाका सीइओ मार्क जुकरबर्ग, सुपर–इन्टेलिजेन्सको पक्षमा छन् । जुकरबर्गले यस वर्षकै सुरुमा सो प्रविधिको विकासका लागि विशेष एआई प्रयोगशाला पनि स्थापना गरेका छन् । तर क्लेग भन्छन्, ‘मलाई लाग्छ एआई प्रविधिको केही सीमाहरू छन् जसकारण यो सबैले सोचेजस्तो अद्भूत वा सर्वशक्तिशाली हुन सक्दैन । तर यसको अर्थ यो होइन कि यो प्रविधि हराउनेछ, यो अझै बढ्नेछ र संसारमा ठूलो प्रभाव पार्नेछ ।’ क्लेगले भनेजस्तै मेटा स्वयं ‘डटकम बबल’ फुटेपछि पनि जीवित रह्यो र अहिले विश्वकै ठूला कम्पनीहरूमध्ये एक बनेको छ । अमेजन र गुगल पनि त्यस्तै यात्राबाट गुज्रिएका थिए — जसले देखाउँछ, बजार बबल फुट्दा पनि सबै कम्पनीहरूको अन्त्य हुँदैन । भेन्चर क्यापिटल क्षेत्रमा प्रायः भनिन्छ, ‘सबैभन्दा सफल कम्पनीहरू कठिन आर्थिक अवस्थामा जन्मिन्छन् ।’ किनभने त्यतिबेला लगानीकर्ताहरूले नाफा–नोक्सानीमा बढी ध्यान दिन्छन् र विवेकपूर्ण लगानी मात्र गर्छन् । यसले व्यवसायीहरूलाई कम स्रोतमै दक्षतापूर्वक काम गर्न बाध्य बनाउँछ जसले दीर्घकालमा तिनै कम्पनीहरूलाई जीवित राख्छ । क्लेगको धारणा अरू धेरै लगानीकर्ता र प्रविधि नेताहरूसँग मिल्दोजुल्दो छ — उनीहरू मान्छन् कि एआई क्षेत्रमा बबल बनेको छ, तर यसको अर्थ एआई हराउँदैछ भन्ने होइन । अमेजनका संस्थापक जेफ बेजोसले समेत केही हप्ता अघि इटालियन टेक वीकमा भनेका थिए, ‘अहिले एउटा औद्योगिक बबल बनेको छ, तर एआई साँच्चिकै वास्तविक हो — यसले प्रत्येक उद्योग परिवर्तन गर्नेछ ।’ क्लेगका अनुसार एआई तत्काल लागू गर्न सकिने धेरै क्षेत्र छन्, तर समग्र समाजले यो प्रविधि विस्तारमा अपनाउन केही समय लाग्नेछ । ‘सिलिकन भ्यालीमा धेरै हाइप छ,’ उनले भने, ‘त्यहाँका मानिसहरू भन्छन्, मंगलबार प्रविधि बनायौं भने बिहीबार सबैले प्रयोग गर्छन् । तर वास्तविकता त्यस्तो होइन ।’ ‘डेस्कटप कम्प्युटिङ प्राविधिक रूपमा सम्भव भएपछि हामी सबैले त्यसमा पुग्न २० वर्ष लाग्यो,’ उनले थपे । त्यसैले यहाँ गति (पेस) नै मुख्य कुरा हो । यो क्षेत्रअनुसार देशअनुसार फरक पर्न सक्छ, तर अहिलेका प्रविधिविद्हरूले अनुमान गरेजस्तो तीव्र गतिमा एआई फैलिने सम्भावना त्यति धेरै नरहेको उनको निष्कर्ष छ । ट्रम्पको बयानले ऊर्जा बजारमा हलचलल, भारतले अब रूसको तेल नकिन्ने ! टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो  

हलेसी डेकोरले सुरु गर्‍यो डिजिटल बिलिङ प्रणाली

काठमाडौं । हलेसी डेकोरले आफ्नो व्यापारिक यात्राको १५औं वर्ष पूरा गर्दै अब डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको छ । कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका सामग्री ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको हलेसी डेकोरले निरन्तर १५ वर्षको सफल सेवालाई पारदर्शी र विश्वसनीय कारोबारतर्फ रूपान्तरण गर्ने उद्देश्यसहित यो प्रणाली सुरु गरेको हो । ‘व्यापारमा इमान्दारिता, हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारासहित सुरु गरिएको नयाँ अभियानअन्तर्गत अबदेखि कम्पनीका सबै कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछन् ।  साथै प्रत्येक सामानमा एमआरपी (अधिकतम खुद्रा मूल्य) स्पष्ट रूपमा उल्लेख गरिनेछ। यसले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने कम्पनीको दाबी छ । हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहकअनुकूल सेवा र ‘बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी’  भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

भारतमा एआई केन्द्र बनाउने गुगलको घोषणा : १५ अर्ब डलर लगानी, १ लाख ८८ हजारलाई रोजगार

काठमाडौं । भारतमा दक्षिण एसियाको सबैभन्दा ठूलो कृत्रिम बौद्धिकता (एआई) केन्द्र बन्ने भएको छ । गुगलले आन्ध्र प्रदेशको विशाखापत्तनममा एआई हब निर्माण गर्ने घोषणा गरेको हो । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर (करिब २.१२८ लाख करोड रुपैयाँ) लगानी गर्ने भएको हो।  यो घोषणा आज नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका क्रममा गरिएको हो । यो नयाँ गुगल एआई हब अडानी इन्टरप्राइजेजको डेटा सेन्टर संयुक्त उद्यम अडानीकनेक्स  र एयरटेलको सहकार्यमा स्थापना गरिन लागिएको हो । उक्त लगानीलाई समुद्र मुनिको केबल सञ्जाल र स्वच्छ ऊर्जाको आधारमा अघि बढाइनेछ । गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थोमस कुरियनले नयाँ दिल्लीमा आयोजित एआई कार्यक्रममा बताएअनुसार यस डेटा सेन्टर क्याम्पसको प्रारम्भिक क्षमता १ गिगावाट हुनेछ, जसलाई पछि धेरै गिगावाटसम्म विस्तार गरिनेछ ।  अडानी इन्टरप्राइजेजले यो परियोजनाअन्तर्गत आन्ध्र प्रदेशमा नयाँ ट्रान्समिसन लाइन, स्वच्छ ऊर्जा उत्पादन र ऊर्जा भण्डारण प्रणालीमा पनि संयुक्त लगानी गरिने जनाएको छ । कुरियनले भने, ‘यो अमेरिका पछिको विश्वकै सबैभन्दा ठूलो एआई हब हो, जसमा हामी लगानी गर्न गइरहेका छौं । यो १२ विभिन्न देशमा बन्ने एआई केन्द्रहरूको विश्वव्यापी सञ्जालको हिस्सा हुनेछ ।’  यसअघि राज्य अधिकारीहरूले यस परियोजनाका लागि करिब १० अर्ब डलरको लगानी अनुमान गरेका थिए । राज्य सरकारको भनाइ अनुसार यसबाट करिब १ लाख ८८ हजार नयाँ रोजगारी अवसरहरू सिर्जना हुनेछन् । वास्तवमा एआई प्रविधीका लागि अत्यधिक कम्प्युटिङ शक्ति आवश्यक पर्छ । त्यसका लागि विशेष प्रकारका डेटा सेन्टरहरू चाहिन्छ, जसले प्रविधि कम्पनीहरूलाई हजारौं चिपहरू एउटै प्रणालीमा जोड्ने सुविधा प्रदान गर्न सक्छन् । माइक्रोसफ्ट र अमेजनजस्ता ठूला कम्पनीहरूले पहिले नै भारतमा डेटा सेन्टर स्थापनाका लागि अर्बौं डलर लगानी गरिसकेका छन् । करिब एक अर्ब इन्टरनेट प्रयोगकर्तासहित भारत विश्वकै एक महत्त्वपूर्ण उदयोन्मुख बजार बनेको छ । भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानीले पनि देशमा डेटा सेन्टर क्षमता विस्तारका लागि ठूलो लगानी घोषणा गरिसकेका छन् । गुगलकी मातृ कम्पनी अल्फाबेट इन्कले भारतलाई आफ्नो प्रमुख विकास बजारका रूपमा हेर्छ । भारतमा गुगलको युट्युब सेवा सबैभन्दा बढी प्रयोग हुने देश हो र एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या पनि विश्वमै अग्रस्थानमा छ ।