दरबारमार्गमा खुल्याे एन्फा सोरुम, राष्ट्रिय टिमको आधिकारिक जर्सी र खेल सामाग्री बेचिने
काठमाडाैं । राष्ट्रिय फुटबल टिमको मुख्य प्रायाेजक संस्था केटीएम सिटीले एन्फा सोरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटिका अध्यक्ष उपेन्द्र मान सिंहले आइतबार एक कार्यक्रमका बीच सोरुमको उद्घाटन गरे । सोरुममा राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी तथा खेल सामाग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ । पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टिमको जर्सी र खेल सामाग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौता पश्चात केटीएम सिटीले पहिलो पटक एन्फा सोरुम सञ्चालनमा ल्याएको हो । उद्घाटन पछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबलको व्यवसायिक हिसाबमा अगाडि बढ्ने बताए । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्राण्ड राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक बन्न पाउनु र सोरुमा सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । केटीएम सिटीले राष्ट्रिय फुटबल टिमको स्पोर्ट्स किट्सको अलावा सहिद स्मारक ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकको रुपमा सहकार्य गरिसकेको छ ।
‘ला लिगा’ डिशहोमबाटै प्रशारण हुने, सिजन हेर्न टिकट किन्नु पर्ने
काठमाडौं । ला लिगा फुटवल लिग सिजन २०२१-२२ नेपाली टेलिभिजनको इतिहासमानै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा ला लिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ । डिशहोमका ग्राहकले दुई हजार रुपैयाँको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिग अवधिभर संचालन हुने खेलहरु हेर्न सक्नेछन् । डिशहोमका मल्टि टिभीका ग्राहकहरुले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप दुई हजार रुपैयाँको सिजन टिकट खरिद गर्नु पर्ने हुन्छ । डिशहोमको ग्राहकहरुले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताहरुले टोल फ्रि नम्वर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरुले ९८०११५५००० वा ०१ ४२१७६६६ मा आजैदेखि सम्पर्क गर्न सक्नेछन् । हाल डिशहोमको ग्राहकलाई उपलव्ध रहेको ला लिगाको सिजन टिकट छिटै सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत पनि उपलब्ध हुनेछ । बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, भ्यालेन्सीया जस्ता संसारकै उत्कृष्ट क्लवहरु खेल्ने र सबै भन्दा लोकप्रिय पेशागत फुटबल लिग मध्येको एक ला लिगाको चर्चा तथा लोकप्रियता नेपालमा पनि रामै्र रहेको छ । नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस्ले यस अघि पनि फिफा वल्र्डकप २०१८, युरो २०२० र कोपा अमेरिका २०२१ जस्ता लोकप्रिय तथा विश्वस्तरिय प्रतियोगीताहरु सफलता पुर्वक प्रशारण गरिसकेको छ । नेपाली टेलिभिजनका दर्शक तथा फुटबलप्रेमीहरुले उत्कृष्ट प्रतियोगीताको मनोरञ्जन लिन सक्ने अपेक्षा डिशहोमले लिएको छ ।
टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने
काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना महामारीकै बीच ३२औँ गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । टोकियो ओलम्पिकमा कोरोनाका कारण मैदानमा दर्शकलाई अवलोकनको अनुमति दिइएको थिएन । टोकियो ओलम्पिकमा कूल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए । खेलाडीले कूल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले बोकेका थिए भने समापनमा स्वयंसेवकले बोकेका थिए । टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे । नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे । टोकियो ओलम्पिकमा ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए । टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो भने चीन दोस्रो तथा आयोजक जापान तेस्रो स्थानमा रहन पुग्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल भयो । यस्तै चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक तथा आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक प्राप्त गरेको छ । यसैगरी पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौँ, अस्टे«लिया १७ स्वर्ण, सात रजत र २२ कास्यका साथ छैटौँ, नेदरल्याण्डस् १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौँ, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौँ, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौँ तथा इटली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औँ स्थानमा रहे । दक्षिण एशियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुई रजत तथा चार वटा कास्य पदक जित्यो । दक्षिण एशियाका अन्य कुनै पनि देशले पदक प्राप्त गर्न सकेनन् । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अरु ओलम्पिकजस्तै टोकियोमा पनि नेपाली खेलाडी सहभागितामै सीमित रह्याे । पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाइन् । जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन भने सामान्य रह्यो । सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल स्पर्धामा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियारले त्यसअघि नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएकी थिइन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । पौडी खेलाडी एलेक्स शाहले टोकियोमा आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा उनले निर्धारित दूरी ५३ दशमलव ४१ सेकेण्डमा पूरा गरे । त्यसअघि उनको नाममा ५४ दशमलव १३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । शाहले सो कीर्तिमान नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए । यसैगरी पौडीकै गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा आफ्नो कीर्तिमानमा सुधार गरिन् । उनले महिला १०० मिटर फ्रिस्टाइलमा एक मिनेट ११ सेकेण्डको कीर्तिमान बनाइन् । त्यसअघि सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा एक मिनेट ५६ सेकेण्डको कीर्तिमान बनाएका थिए । टोकियो ओलम्पिकमा उनी अर्को चरणमा भने पुग्नसकिनन् । यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी थिइन् । महिला १०० मिटर दौड उनले १२ दशमलव ९१ सकेण्डमा पूरा गरेकी थिइन् । उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्नसकिनन् । त्यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएकी थिइन् । यस्तै जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसँग पराजित भइन् । यही साउन ८ गतेदेखि शुरु भएको टोकियो ओलम्पिक १९ दिनसम्म सञ्चालन भएको थियो । सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो । रासस