३२ वर्ष पहिले निर्माण भएको डडेल्धुराको सेमी कभर्ड हल अलपत्र
डडेल्धुरा । अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो । एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो । पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास गरे । कभर्ड हल शिलान्यासका क्रममा स्वयं जैरु, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा र तत्कालीन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले तत्काल कभर्ड हल निर्माण हुने बताएका थिए तर शिलान्यास भएको २१ महिनाभन्दा बढी हुँदासमेत कभर्ड हल अलपत्र परेको छ । उक्त कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिटको हुने डडेल्धुरा जिल्ला खेलकूद विकास समितिले जनाएको छ । आर्थिक अभावले गर्दा ‘डडेल्धुरा सेमी कभर्ड हल’ अलपत्र परेको जिल्ला खेलकूद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिनुभयो । डेढ वर्षभित्र उक्त कभर्ड हल निर्माण गरिसक्ने लक्ष्यका साथ अगाडि बढेको भए पनि आर्थिक अभावले थप काम अगाडि बढ्न नसकेको भण्डारीको भनाइ छ । पिलर निर्माण राष्ट्रिय खेलकूद परिषद्बाट उक्त कभर्ड हलका लागि तत्काल १० लाख निकासा गरिएको थियो तर उक्त रकमले कभर्ड हल निर्माणका लागि आठ वटा पिलर मात्रै ठडिएका छन् । राष्ट्रिय खेलकूद परिषद्बाट आएको रकमले जीर्ण कभर्ड हलको सामग्री सार्न र पिलर मात्रै ठडिएको खेलकूद विकास समिति डडेल्धुराले जनाएको छ । पुनः निर्माण शुरु गर्न क्रमागतरूपमा बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण बजेट निकासा नहुँदा निर्माण गर्न समस्या भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । “राखेपबाट बजेट निकासा भएको छैन । गत वर्ष राखेपबाट नै स्वीकृत भएर बजेट निकासा भएको थियो तर अहिले निकासा भएको छैन । त्यसैले भएर निर्माण अलपत्र छ”, उनले भने, “दुई रोपनी जग्गामा आठ पिलरसहितको फाउन्डेसन भएको छ । बजेट नभएर निर्माण ठप्प छ ।” के गर्दै छ नगरपालिका रु देश सङ्घीयतामा गएपश्चात् स्थानीय तहमा बजेट जाने भएकाले स्थानीय सरकारले खेलकूद गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ तर कभर्ड हल भत्किएको महिनौँ हुँदासमेत अमरगढी नगरपालिकाको भने यतातिर ध्यान पुग्न सकेको छैन । नगरपालिकाले खेलकूद गतिविधि सञ्चालन गर्न ध्यान नदिएको यहाँका खेलप्रेमी युवाको गुनासो छ तर उता नगरपालिकाले आर्थिक अभावको कारण सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको जनाएको छ । कभर्ड हल अहिले नै बन्न सक्छ भनेर भन्न सक्ने अवस्था नभएको नगरप्रमुख ओझाको भनाइ छ । पेश गरिएको प्रस्ताव स्वीकृत भएपछि कभर्ड हल निर्माण हुने उनले बताए । “जनताका आवश्यकता असीमित छन् । स्रोत साधनको कमी छ । सङ्घीय सरकाले केही बजेट विनियोजन गरेको थियो र हामीले काम अगाडि बढाएका थियौँ”, उनले भने, “यो वर्ष पनि कभर्ड हल निर्माणका लागि सङ्घीय सरकारलाई नै हामीले प्रस्ताव पेश गरेका छौँ ।” जिल्लाको महत्वपूर्ण र एकमात्र कर्भड हल भत्किँदा जिल्लाका ‘इनडोर’ खेलकूदका कार्यक्रमसमेत प्रभावित बनेका छन् । इनडोर खेल खेल्नका लागि हलको प्रयोग हुने हुँदा हाल जिल्लामा खेलकूद गतिविधि शून्य प्रायः बनेको छ । ब्याडमिन्टन, टेबलटेनिस, कराँते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कर्भड हलको आवश्यकता पर्ने गरेको कराँते सङ्घ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए । रासस
खेल क्षेत्रको विकासमा खोटाङकाे दशवटै स्थानीय तहको सक्रियता
खोटाङ । खोटेहाङ गाउँपालिकाका नौमध्ये सात वडामा खेल मैदान निर्माण गरिएको छ । हरेक वडामा एउटा खेलमैदान निर्माण अभियान थालेको गाउँपालिकाले हालसम्म वडा नं १ लिकुवापोखरी, वडा नं २ वाप्लुखा, वडा नं ३ सावाकटहरे, वडा नं ५ चिप्रिङ, वडा नं ६ इन्द्रेणीपोखरी, वडा नं ८ सिम्पानी र वडा नं ९ लिच्कीराम्चेमा खेलमैदान निर्माण गरेको हो । सात वडामा २०७५/०७६ मा खेलमैदान निर्माणको काम पुरा गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । यस्तै, वडा नं ७ खोटाङबजारमा चालु आर्थिक वर्ष खेलमैदान निर्माणको काम गरिने जनाइएको छ । खोटाङ बजारमा खेलमैदान निर्माणका लागि पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । जग्गा अभावमा खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा भने हालसम्म खेलमैदान निर्माणको काम अघि बढाउन सकिएको छैन । बड्कादियालेमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको गाउँपालिका प्रमुख राईले बताए । “खेलकुद क्षेत्रको वृत्ति र विकासका लागि गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७४/०७५ देखि हरेक वडामा उपयुक्त खेलमैदान निर्माण अभियान शुरु गरिएको छ”, उनले भने, “आगामी दुई वर्षभित्र सबै वडा तथा पालिकास्तरीय खेलमैदान निर्माण सम्पन्न गरेर खेल गतिविधि अगाडि बढाइनेछ ।” गाउँपालिकाका अनुसार इन्द्रेणीपोखरीमा भने वडास्तरीय बाहेक गाउँपालिकास्तरीय खेलमैदान निर्माणको काम भइरहेको छ । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माणको काम शुरु गरिएको हो । यसैबीच, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हरेक वडामा एकै साइजका खेलमैदान निर्माण गरेको छ । समग्र खेलकुदको विकासका लागि गाउँपालिकाले सातवटै वडामा १०० मिटर लम्बाइ र ६० मिटर चौडाइको खेलमैदान निर्माण गरेको हो । आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाबाट प्रतिवडा १०/१० लाख बजेट विनियोजन गरेर ‘एक वडा एक खेलमैदान’ निर्माण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताए । फुटबल, भलिबल, टेबलटेनिसलगायत सबै प्रकारका खेलको विकासका लागि एकै मापदण्ड र आकारका खेलमैदान निर्माण गरिएको हो । गाउँपालिकाको लगानीमा हरेक वडामा खेलमैदान बनेपछि खेलकूदसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज भएको खेलाडीले बताएका छन् । गाउँपालिकाले हरेक वडामा उपयुक्त खेलमैदान निर्माण गरेर सञ्चालनमा ल्याएपछि खेलाडीले खेलकूदसम्बन्धी गतिविधिसमेत अगाडि बढाएका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबै वडामा निर्माणाधीन खेलमैदानको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकाको वडा नं २ सोल्मा, वडा नं ११ खार्मी र वडा नं १४ बुइपामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण भइरहेको छ । नगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा खार्मीमा १२० मिटर लम्बाइ र ९० मिटर चौडाइको खेलमैदान गत वर्ष नै निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताए । खार्मीमा निर्माण गरिएको खेलमैदानलाई स्तरोन्नति गर्ने पहल भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । उता, हलेसी तुवाचुुङ नगरपालिकामा पनि सबै वडामा खेलमैदान निर्माणको काम भइरहेको जनाइएको छ । एघार वडा रहेको उक्त नगरपालिकामा निर्माणाधीन खेलमैदान निर्माणको काम पनि अन्तिम चरणमा पुगेको नगरप्रमुख ईवन राईले बताए । उक्त नगरपालिकाले विभिन्न विधाका खेल प्रशिक्षकसमेत नियुक्त गरेर खेलाडीलाई प्रशिक्षण दिइरहेको छ । खेलकूद क्षेत्रको समग्र विकासका लागि खेलमैदान निर्माणका साथै सितोरियो कराँते र फुटबल खेलका लागि प्रशिक्षकसमेत नियुक्त गरेर गतिविधि अगाडि बढाइएको नगरप्रमुख राईको भनाइ छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा खेलमैदान निर्माण गरिरहेका छन् । स्थानीय तहले खेल क्षेत्रको विकासका लागि क्रियाकलाप अगाडि बढाएपछि खेलाडीसमेत उत्साहित भएका छन् । खेलमैदान निर्माण भइसकेका ठाउँमा पछिल्लो समय खेलकूद गतिविधिसमेत हुन थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सबै स्थानीय तहमा खेलमैदानका साथै भौतिक निर्माणको काम धमाधम भइरहेको छ । रासस
आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी
काठमाडाैं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसकेका छन् । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपीएलका लागि दर्ता गराएका हुन् । आइपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ । उक्त छनोट भारतको चेन्नइमा हुनेछ । आइपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन् । आइपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडीले नाम दर्ता गराएका छन् ।