नवौँ राष्ट्रिय खेलको लागि ६० करोड बजेट
काठमाडौं । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताए । उनले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिए । पहिलो चरणमा १० करोड, दोस्रो चरणमा २३ करोड र तेस्रो चरणमा २७ करोड लिने बताए । सरकारले पहिलो चरणको लागि १० करोड रकम भने विनियोजन गरिसकेको छ । उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिए । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ । प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा तीन सय ९३ स्वर्ण तीन सय ९३ रजत र छ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुङ्गो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताए ।
नवौँ राष्ट्रिय खेलकुदमा पूर्वाधारको समस्या
कास्की । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक पटक प्रभावित बन्यो । पछिल्लो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ । तरपनि खेल पूर्वाधारकै चिन्ता कायमै छ । गण्डकीमा प्रतियोगिता तय भएको तीन वर्षभन्दा बढी समय भयो । तर, अहिलेपनि कतिपय खेलका पूर्वाधारनै छैनन् । गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन । खेल पूर्वाधारमा वर्षेनी बजेट विनियोजन गरिएपनि स्वीमिङ (पौडी पोखरी), सुटिङ, हक्की र रग्वी खेलका पूर्वाधार बन्न सकेनन् । प्रतियोगिताको मिति नजिकिदै जाँदा पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता खेल पदाधिकारी र खेलाडीमा कायम छ । पोखरा रङ्गशालाभित्र पौडी पोखरी र सुटिङको पूर्वाधार बनाउन जमिन व्यवस्था गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले बजेट व्यवस्था गरेको हो । तर यी खेलका पूर्वाधार बनाउन पर्याप्त समय भएपनि कामनै सुरु हुन सकेन । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न उपसमिति गठन गरी तयारीका काम अघि बढाएको छ । खेलस्थल व्यवस्थापन उपसमितिले अहिले प्रदेशका अधिकांश जिल्लामा पुगेर खेल पूर्वाधार अवलोकन गरेको छ । यहाँ अधिकांश खेलका पूर्धाधार तयारी अवस्थामै छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरु रहेको बताए । सो समिति पौडीका लागि पोखरामा रहेका निजी विद्यालय र होटलका पौडी पोखरीलाई प्रतियोगिताका लागि प्रयोगमा ल्याउने योजनामा छ । आठौँ राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौँमा खेलाउने योजना रहेपनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् । ‘राष्ट्रिय खेलकुदका लागि मुख्य गरी पौडी र सुटिङको पूर्वाधार हामीसँग छैन । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता रहेपनि यसलाई हामी व्यवस्थापन गछौं,’ खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले भने,‘राखेपका सदस्य सचिव र पौडी सङ्घको अध्यक्ष सहितको प्राविधिक टोली पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुसँग छलफल गरेर हामी विकल्प तयार गर्छौं । पोखरा रङ्गशालामा नभएका खेलका पूर्वाधार निर्माण गर्न पर्याप्त समय छ । तर आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम सुरु नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । पोखरा रङ्गशालाभित्र पौडी र सुटिङका लागि यसअघिका दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिएपनि सो पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान लगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । ‘पौडी पोखरीलाई ३५ करोड हाराहारीमा लागत स्टीमेट तयार गरिएकोमा सरकारले अघिल्लो वर्ष पाँच करोड छुट्टाएको थियो । योगीले भने, ‘विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा टेण्डर आह्वानलगायतका काम अघि बढाउन सकिएन ।’ पोखरा रङ्गशालाभित्र सबै खेलको पूर्वाधार अटाउन सक्ने अवस्था नभएकाले रङ्गशाला बाहिर व्यवस्थापन गरेर सुटिङ बाहेकका नवौँका सबै खेल पोखरा र गण्डकी प्रदेशमै गर्ने योजना रहेको समितिले जनाएको छ । सुटिङलाई भने गण्डकीमा सम्भव नदेखिएको र काठमाडौँमै गर्नुपर्ने बाध्ता रहेको बताइन्छ । रग्वी र हक्कीलाई प्रशिक्षणस्थल तय भएकाले समस्या नहुने समितिले जनाएको छ । नवौँलाई गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताको खेलस्थल तय गर्ने योजनामा छ । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय गरिने गुरुङले बताए। उनले भने, ‘प्रदेशका अधिकांश जिल्लाहरुमा रहेका खेल पूर्वाधारहरुको निरीक्षण गरेका छौँ । खेल सञ्चालन गर्न आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुङ्गो लगाउने तयारीमा छौँ ।’ नवौँ राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलमध्येमा अधिकांश प्रदेशको राजधानी र पूर्वाधार भएका हिसाबले पोखरामानै हुनेछन् । राष्ट्रिय खेलकुदको अपनत्व सबैलाई दिलाउन प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक÷एक खेल खेलाउने योजना आयोजकको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ । प्रतियोगितामा चार सय सात स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ । कुनै टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा सात सय आठ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कूल सात हजार सात सय ८८ खेलाडीमात्र सहभागी हुने सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए। खेलाडी बाहेक प्रशिक्षक, टोलीका व्यवस्थापक, रेफ्री गरी नौ हजार हाराहारीमा खेलकुदकर्मीको सहभागिता प्रतियोगितामा हुने बताइन्छ ।
नवौं राष्ट्रिय खेलकुदको तयारीमा म्याग्दी
म्याग्दी । जिल्ला खेलकुद विकास समिति म्याग्दी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तयारीमा जुटेको छ । प्रदेश खेलकुद परिषद्को खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीलाई आगामी भदौ ३ गतेसम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल सङ्घले आह्वान गरेको छ । त्यस्तै भलिबल सङ्घमा आवद्ध म्याग्दी जिल्लाका सम्पूर्ण आधिकारिक रेफ्रीलाई भदौ ३ गतेभित्र बेनीको शिक्षामार्गस्थित सङ्घको कार्यालयमा सम्पर्क गरी लाइसेन्स नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नवीकरण दर्ता शुल्क नबुझाउने रेफ्रीलाई सङ्घले कुनै पनि मान्यता नदिने निर्णय गरिएको सङ्घका महासचिव कुमार किसानले जानकारी दिएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनोट समिति पनि गठन भएको छ । समितिको संयोजकमा सङ्घका उपाध्यक्ष खड्क केसी र सदस्यमा सङ्घका उपाध्यक्ष राजकुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गङ्गा तिलिजा रहेका छन् । जिल्ला छनोट प्रतियोगितालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमितिसमेत गठन गरिएको छ । उपसमितिका संयोजकमा अशोक शाही र सदस्यमा रामबहादुर गुरुङ, अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेका सङ्घले जनाएको छ । जिल्लामा विभिन्न सङ्घसंस्था तथा क्लबले भलिबल प्रतियोगिता सञ्चालन गर्न अनिवार्यरूपमा सङ्घको कार्यालयमा सम्पर्क तथा समन्वय गर्न आह्वान गरेको छ । साथै रेफ्री, अफिसियल शीर्षकमा बजेट व्यवस्थापन गरी प्रतियोगितालाई थप व्यवस्थित र नीति–नियममा रहेर सञ्चालन गर्न सुझावस्वरुप पत्रचार गर्ने निर्णय गरिएको सङ्घका महासचिव किसानले बताए। सदरमुकाम बेनीमा भलिबल सङ्घको आफ्नै कोर्ट नभएको, विगतदेखि हालसम्म खेलमैदानको अभावमा तालिम वा खेल सञ्चालन गर्न निजी विद्यालयको खेलमैदान प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । खुलामञ्चबाहेक अरु विकल्प नरहेको परिस्थितिमा तत्कालका लागि अस्थायीरूपमा भए पनि कुनै व्यक्तिको जग्गा भाडामा लिएर खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको सङ्घले यस कार्यमा आवश्यक सहयोगका लागि सबै पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । गाउँ–गाउँमा माटोको भलिबल कोर्टलाई प्लास्टर तथा ढलान गरी पक्की बनाउने कार्य भइरहकाले यसबाट भलिबल खेल क्षेत्रलाई भविष्यमा ठूलो असर पु¥याउने खतरा देखिएकाले यसको विकल्पमा छुट्टै खेलमैदान बनाउनका लागि सबै क्लबलाई सचेत गराउने गरी जिल्लाभर अभियान सञ्चालन गरिने सङ्घले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई म्याग्दीमा सञ्चालन गर्नका लागि पहल गरिरहेको सङ्घले खेलतालिका जिल्लामा परेको खण्डमा उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्ने बताएको छ ।