स्थगित तेस्रो आइएमई टेनिस प्रतियोगिता शुरू, एक सय बढी खेलाडीले लिए भाग
काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता- २०२१ मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सबैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आइएमई ग्रुपलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलप्रेमि खेलाडीहरूको उपस्थिती रहेको थियो । यही चैत १७ गतेदेखि २२ गतेसम्म (इस्वी संवत् २०२१ मार्च ३० देखि-अप्रील ४ सम्म) आयोजना हुने उक्त प्रतियोगितामा यू ८-यू १६ उमेर समुहका १ सय ५ जना खेलाडीहरूले भाग लिनेछन् । टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । गत वर्ष कोभिड-१९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
मेयरकप हेर्न नगरले दियो सार्वजनिक बिदा
फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए । आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले बताए । मेयरकपको पहिलो दिन उद्घाटन सत्रमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नारपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगारपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ । संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकूद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करण मेयर रनिङ कप भलिबको आयोजना गरिएको नगरप्रमुख प्याकुरेलले बताए । पर्यटन विकास र प्रवद्र्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख बद्रीकुमार कार्कीले बताए । मेयर कपमा सहभागी हुन ताप्लेजुङका नौ पालिकाले पालिकास्तरीय अध्यक्ष कप विजेताले मेयरकप प्रतियोगितामा भाग लिन पाउनेछ । यसअघि नै अध्यक्ष कप सञ्चालन भइसकेको छ । मेयर कपमा विजेताले दुई लाख २१ हजार १०० रुपैयाँ र रनिङ कप पाउनेछ । उपविजेता टोलीले एक लाख ११ हजार १०० रुपैयाँ र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजार रुपैयाँसहित कप प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट सात खेलाडीलाई समेत नगद प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनको कुर्सी अभियानमा मेधावी कलेजकाे १ लाख सहयाेग
काठमाडाैं । धुर्मुस सुन्तली फाउण्डेसनले अपनाएको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ । काठमाडौंको शङ्खमूलमा रहेको सो कलेजले १ लाख रुपैयाँ सहयोग प्रदान गरी कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको छ । कलेजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सहयोग गरी रङ्गशाला निर्माण अभियानमा जोडिएकोमा मेधावी कलेज परिवारलाई धन्यवाद ज्ञापन गरेको छ । फाउण्डेसनले कुर्सी अभियानमार्फत जोडिन चाहनेले ३० हजार कुर्सीमा आफ्नो नाम लेख्न सक्ने बताएको छ । फाउण्डेसनकाे अनुसार कुर्सी अब आफ्नै नाममा, पितृको नाममा, आमा समूहको नाममा, महिला समूहको नाममा, टोल विकास संस्थाको नाममा, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाको नाममा, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी समूहको नाममा समेत सुरक्षित गर्न सकिनेछ ।