एन्फा कार्यसमितिको आकस्मिक बैठक चल्दै, यस्तो छ एजेण्डा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक अहिले ललितपुर स्थित एन्फा मुख्यालयमा बसिरहेको छ । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि मुख्य प्रशिक्षकले लगाएको आरोपबारे छलफल हुने बताइएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गर्ने जनाएका थिए । राजीनामाका कारण उपाध्यक्ष पंकजविक्रम नेम्वाङ भएको बताएका थिए । नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उनले छानबिन गर्न एन्फालाई निवेदन समेत बुझाएका थिए । यस्तै अलमुताइरीले पनि बिहीबार छानबिनको लागि निवेदन दर्ता गरेका थिए । यस्तै बैठकमा नेपालमा १३औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो ।
टोकियो ओलम्पिक: छ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै
काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ । यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ । यसैगरी इटाली, अस्टे«लिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्बेकिस्तानले एक एक स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ४२ देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेकी छिन् । दुवै जना पराजित भइसकेकी छिन् । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले करिब तीन हप्तादेखि उनलाई नाटक देखाइरहेकाे कारण राजीनामा दिन लागेकाे फेसबुक स्ट्याट्समार्फत जनाएका छन् । उनलाई गत चैतमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।