अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । खड्काले सामाजिक संजाल मार्फत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००२ देखि क्रिकेट यात्राको सुरवात गरेका थिए । उनले सन् २००९ देखि २०१९ सम्म कप्तानकाे रुपमा नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।

डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने

काठमाडौं । असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो । यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्ग गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै, एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग शुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । सोही छलफलबाट सहभागि क्लब लिग खेल्न सहमति भएको जनाएको हो । यस अघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडी सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ ।

टोकियो ओलम्पिक: ४० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, चार रजत र सात कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसिया ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । यसैगरी अस्ट्रेलिया नौ स्वर्ण, दुई रजत र ११ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत सात स्वर्ण, नौ रजत र नौ कास्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कास्यका साथ सातौँ, नेदरल्याण्डस् तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, पाँच रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गरेकी थिइन् । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।