क्यानको कदमप्रति ईपिएलका टिम मालिकहरु असन्तुष्टि

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले एउटै मात्र टी–२० लिग आयोजना गर्ने घोषणा गरेसँगै फ्रेन्चाईज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल) का टिम मालिकहरुले क्यानको कदमलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । एउटै फ्रेन्चाईज प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाईज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन् । उनीहरुले फ्रेन्चाईज क्रिकेटमा ठूलो लगानी गरिसकेको बताउँदै कर्पोरेट क्षेत्रका लगानीकर्ताले प्रतियोगिताको निरन्तरताको माग गरेका हुन् । क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौ संस्करणको इपिएलले मान्यता नपाउने देखिएको थियो । यसै सन्दर्भमा सोमबार पत्रकारसम्मेलन मार्फत नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपिएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए । क्यानले गरेको निर्णय सही नभएको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताए । उनले क्यान निलम्बित हुँदासमेत ईपीएलले नेपाली क्रिकेटमा सहयोग गरेको भन्दै उनले क्यानको यो निर्णयबाट सम्बन्धित सबै निकायहरु निराश भएको बताए । ‘क्यानले गरेको घोषणाबाट ईपीएल र यससँग सम्बन्धित सबै सरोकारवालाहरु पूर्ण रुपमा निराश र स्तब्ध छौं, ईपीएलले क्यान निलम्बित हुँदा वा कोभिड-१९ का कारण सम्पूर्ण कार्य ठप्प हुँदाको कठिन समयमा पनि क्षमताले सकेसम्म नेपाली क्रिकेटलाई सहयोग गरेको थियाैं, यदी क्यानले हालै जारी गरेको निर्णय कार्यान्वायन गर्ने हाम्रो लागि वागमतीमा बग्ने भयो, त्यसबारेमा क्यानको ध्यान जानुपर्छ,’ उनले भने । क्यानको पछिल्लो कदमबाट यसअघि हुँदै आएको फ्रेन्चाईज क्रिकेट ईपीएलको भविष्य शंकटमा देखिएको छ । जसमा कर्पोरेट क्षेत्रले लगानी गरेको करोडौं रकमसमेत जोखिममा परेको छ । ईपीएलका धेरैजसो टिम मालिकको जमघट भएको पत्रकार सम्मेलनमा कर्पोरेट क्षेत्रको लगानीमा धक्का लाग्ने बताएका हुन् । उनीहरुसँग सहमत हुँदै इपीएलका सञ्चालक आमिर अख्तरले आफूहरुलाई पनि काम गर्ने ठाउँ चाहिएको धारणा राखे । ‘क्यान आईसीसीको प्रतिवन्धमा भएका बेला हामीले सहजीकरण नगरेर ईपीएल नगरेको भए नेपाली क्रिकेट, खेलाडी कहाँ हुन्थ्यो ? कुनै नयाँ विदेश कम्पनीलाई विश्वास गर्दा, नेपालको क्रिकेट विकासका लागि लागेको कम्पनीलाई किन हेला ? क्यानको यो निर्णयमा हामी निकै स्तब्ध भएका छौं,’ उनले भने । अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको बताए । उनले सञ्चालकहरु पीडा र अन्यायमा परेको बताउँदै ईपीएलसँग जोडिएको कम्पनीले क्यानको लिगमा प्रायोजन नगर्ने चेतावनी समेत दिए ।

एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए । उनले यसअघि कोभिडका कारण सोचेअनुरुप काम गर्न नसके पनि आगामी दिनमा नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने बताए । वर्तमान अध्यक्ष शेर्पाले पहिलो कार्यकालमा धेरै काम सुरु भएको र ती कामलाई पूर्णता दिन तथा नेपाली फुटबललाई अझै माथि उठाउनका लागि पनि आफूले फेरि उम्मेदवारी दिएको बताए । शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा विज्ञानराज शर्मा, कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ हुन् । त्यसैगरी सदस्यमा दीपक थापा, प्रदीप यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीकाराम लामा, प्रदेशसिंह राठोर, भरतगुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशी हुन् । महिला सदस्यमा भने उम्मेदवारी घोषणा गरिएको छैन । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसअघि पङ्कज नेम्वाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन् ।

सोमबारदेखि सूर्य नेपाल गल्फ टूर सिजनको अन्तिम प्रतियोगिता हुँदै

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्यामिपयनसिप सोमबारदेखि हुने भएको छ । गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि विहीबारसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । प्रतियोगितामा एमेच्योर र व्यवसायिक गरी ४० जना खेलाडीको सहभागिता रहनेछ र हरेक दिन १८ होलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख ५५ हजार, तेस्रो हुनेले १ लाख १० हजार, चौथो हुनेले ९५ हजार, पाँचौं हुनेले ८७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियाेगिताकाे कुल पुरस्कार राशी १४ लाख ६१ हजार रुपैयाँ रहेकाे छ ।