क्रिकेट एक्सेलेन्स सेन्टर र बजाज माेटरसाइकलकाे सहकार्य सुरु

काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने भएकाे छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराजले बुधबार क्रिकेट एक्सिलेन्स सेन्टरसँग यसबारे सम्झाैता गरेकाे हाे । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । सम्झाैता समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आवद्ध हुन पाउँदा अत्यन्त खुसी भएकाे बताए । ‘बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ । तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ,’ उनले भने । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख दिने निर्णय

काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा पेश गरेका थिए । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि युवा तथा खेलकुद मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई समेत दिएका छन् । उपाधि विजेता नेपाली टिम भोली (बिहिबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

क्यान पदाधिकारीलाई बोलाएर खेलकुदमन्त्रीले भने–खेलाडीमाथिको कारबाहीबारे पुनर्विचार गर्नुहोस्

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीमाथी पुनः बिचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनबिचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरीएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत ब्यक्त गरे । उनले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन दिए । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको बर्गिकरण प्रक्रियाका बिषयमा समेत चासो राखेका थिए । गत मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथी पुनविचार गर्न आग्रह गरेका हुन् ।