विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३(० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३(० ले जित्यो । इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २ (१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ । यसअघि आजै भएको अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

यु–१९ क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौं । मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो । शनिवार लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए । तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो । त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गरे । यस्तै आकाश त्रिपाठीले २३ रन, विशाल भुषाल र निर्मल गुरुङले समान १३/१३ रन बनाए भने देव खनाल ११ रनमा आउट भए । यस्तै नर सार्की २६ रनमा अविजित रहे । बलिङतर्फ मधेसका लागि निकेश गुप्ता ३ विकेट, अभिषेक तिवारी र नितेश यादवले समान २/२ विकेट लिए । जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब सोमवार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । यस्तै लिगको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुखद् अन्त्य गरेको छ । कर्णालीले दिएको १५२ रनको लक्ष्य कर्णालीले ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । प्रदेश १ का सोनु अनसारीले सर्वाधिक ४५ रन जोड्दा भुपाल दंगला र कप्तान दिपेश कँडेलले ४२ तथा २९ रनको अविजित पारी खेले । प्रदेश १ को ३ विकेट निकाल्दा कर्णालीका युनिस सिंह र मोहन बिकले समान १–१ निकाल्दा एक खेलाडी रन आउट भए । यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५२ रन बनाउन सक्यो । सुवास ऐरले सर्वाधिक ४७ रन जोड्दा मेहन बिक २९ रनमा अविजित रहे । ओपनर मनिष थापा २६ रन जोड्दा युनिस सिंहले १३ तथा कप्तान विपिन रावलले ११ रनको व्यक्तिगत स्कोर बनाउनु बाहेक अन्यले राम्रो अंक जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का दिपेश कँडेल र अनिस ओझाले ३/३ विकेट लिए । फाइनल खेल सोमवार हुनेछ ।