धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई
नेपालगञ्ज । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गरे । यसअघि सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए । उपाधि विजेता खड्काले एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार पुरस्कार प्राप्त गरे । यस्तै आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन् । उनी सातौँ संस्करणकी समेत च्याम्पियन हुन् । उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै ६० हजार पुरस्कार प्राप्त गरिन् । यस्तै सो म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गरिन् भने तेस्रो भएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् । दुवैजनाले क्रमशः ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिए । हरेक वर्ष मङ्सिर पाँच गते आयोजना गरिँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।
भुवनलाई सुर्य नेपाल काठमाडौं ओपनको उपाधि
काठमाडौं । गल्फर भुवन नगरकोटी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । भुवनले आज ४-अन्डर ६४ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन् । उपाधि सहित भुवनले १ लाख १६ हजार प्राप्त गरे । उनको यो खेल करियरको दशौं उपाधि हो । यस्तै, ६-अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५-अन्डर २ सय ६७ सहित दोस्रो भए । उनले ७८ हजार प्राप्त गरे । इभन-पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १-अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए । पहिलो दुई दिनका लिडर रबि खड्काले ४-ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३-ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे । तेस्रो र चौंथो भएका शुक्र र रबिले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे । समग्रमा ५-ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौ, ६-ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैटौं र ७-ओभर २ सय ७९ को स्कोरमा सुर्य प्रसाद शर्मा सातौं भए । अन्तिम दिन रमेशले १-ओभर ६९, कृष्णमानले ५-ओभर ७३ र सुर्यले ३-ओभर ७१ स्कोर बनाए । अन्तिम १८ होलको सुरुवात गर्दा भुवनसँग नौ स्ट्रोकको अग्रता थियो । बिना दबाब सहजै अन्तिम दिनको खेल ४-अन्डर ६४ मा सकाउने क्रममा फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे । दोश्रो होलमा बोगी प्रहार गरेपनि तेस्रो र पाँचौ होलमा एक-एक सट बचाए । यसपछि ११औं, १३औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे । सहजै भुवनले उपाधि जित्दा दोस्रो स्थानको लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चल्यो । अन्तिम दिनको खेल सुरू गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए । तर, शुक्रलाई चार स्ट्रोकले माथ दिदै दिनेश दोस्रो भए । दिनेशले ६-अन्डरको सानदार नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा नवौ होलमा एक सट गुमाए । यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ४-अन्डर ३० मा पुरा गरे । प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजिटिआई) खेलिरहेको शुक्रले अपेक्षा अनुरुप खेल्न सकेनन् । अन्तिम दिन इभन-पार ६८ मा सकाए। उनले आठौ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए । यसपछि ११औं, १३औं र १६औं होलमा एक-एक सट बचाए । तर १५औं र १७औं होलमा बोगी र १८औं होलको डबल बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे । प्रतियोगिताको एमेच्योरतर्फको उपाधि अजित बिकेले जिते । उनले ६-ओभर ७४ सहित समग्रमा १७-ओभर २८९ स्कोर जोडे। समग्रमा ३ सय ११ स्कोरसहित सुरेश तामाङ दोस्रो भए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
कोका–कोलाले ७ जना नेपालीहरूलाई कतार रंगशालामा विश्वकप हेर्ने मौका प्रदान गर्यो
काठमाडौं । वल्र्डकप २०२२ को लागि कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासीहरुलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ । आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोका–कोला नेपालले जनाएको छ । फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वल्र्डकप हेर्न पाउनु आफुहरुको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका–कोला प्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् । कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं ।’ कोका–कोलाले यो भन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरुलाई कतार–नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तराल पछि आफ्नो परिवारसँग बसेर दसैंँ तिहार मनाउने अवसर पाएका थिए ।