ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं ।  ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि (क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४ (१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४(० ले अग्रता लियो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४(१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो । यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

‘विश्वकपको उपाधि जित्ने आफ्नो सपनामा केन्द्रित भएको छु’ एमबाप्पे

एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ । २३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ । ‘म विश्वकपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन’, पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले भने । उनले भने, ‘मेरो एकमात्र उद्देश्य विश्वकप जित्नु हो । अहिले क्वार्टरफाइनल सबैभन्दा महत्वपूर्ण कुरा हो । यो एक मात्र चीज हो जसले मेरो विश्वकप जित्ने सपना साकार पार्न सक्नेछ । म यहाँ विश्वकप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरु केही होइन ।’ एमबाप्पेले आइतबारसम्म आफूले सञ्चारमाध्यमसँग कुरा नगर्नुको कारण पनि स्पष्ट पारेका छन् । उनले भने, ‘पत्रकारप्रति मेरो व्यक्तिगत कुनै आपत्ति छैन । मैले फुटबल र प्रतियोगितामा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ । म कुनै कुरामा ध्यान केन्द्रित गर्नका लागि अपनाउने तरिका मात्र हो ।’ उनले भने, ‘म यो प्रतियोगिताका लागि तयार हुन चाहन्थें र अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ । तर हामी अझै पनि हाम्रो लक्ष्यबाट धेरै टाढा छौं र अब हामीले क्वार्टरफाइनलमा ध्यान केन्द्रित गर्नु पर्दछ’, उनले भने, ‘क्वाटरफाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौं । पोल्याण्डको विरूद्धमा खेल्नु एक कठिन क्षण थियो ।’ ‘हामीले कडा टोलीसँग खेल्यौं र खेलको समयमा महत्वपूर्ण समयमा गोल गर्न सफल भयौं । यद्यपि, अझैपनि हामीले राम्रो खेल्न सकेनौं, हामीले जित्यौं र हामी खुसी छौं’, उनले भने ।

विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३(० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३(० ले जित्यो । इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।