फुटबलको फाइनल गेममा नाइक र एडिडास कम्पनीको जर्सी लगाएर प्रतिस्पर्धा हुँदै
काठमाडौं । कतारको लुसेल रंगशालामा आइतबार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा विश्वका दुई ठूला स्पोर्ट्सवेयर कम्पनीहरुको ठूलो प्रचारात्मक पदर्शनी पनि हुनेछ। एडिडास लामो समयदेखि अर्जेन्टिना राष्ट्रिय टोलीको प्रायोजक रहेको छ भने फ्रान्सलाई नाइक कम्पनीले प्रायोजन गरेको छ । यसवर्षको विश्वकप फुटवल प्रतियोगितामा १३ टोलीलाई नाइक र ७ टोलीलाई एडिडासले जर्सी उपलब्ध गराएका थिए । जर्सीको स्पोन्सरमा नाइकले एडिडासलाई उछिनेको यो तेस्रो पटक हो । दशकौंदेखि एडिडास विश्वकप प्रतियोगितामा पहिलो स्पोन्सरको रुपमा रहँदै आएको थियो । एडिडासले जर्मनीमा भएको १९७४ फिफा विश्वकपमा १६ मध्ये ९ टोलीलाई प्रायोजित गरेको थियो । अहिलेसम्म विश्वकपमा धेरै जर्सीको प्रायोजन गर्नेमा एडिडास कम्पनी अगाडि रहेको छ भने नाइक दोस्रो स्थानमा रहेको छ ।
तेक्वान्दोको इतिहास झल्काउने ‘रूट अफ तेक्वान्दो नेपाल’ सार्वजनिक, शिनको योगदान अविस्मरणीय
काठमाडौं । तेक्वान्दोको इतिहास झल्काउने ‘रूट अफ तेक्वान्दो नेपाल’ नामक संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ । नेपाल तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित उक्त पुस्तक शनिबार एक कार्यक्रमबीच सार्वजनिक भएको हो । सो पुस्तकले नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जे. के. शिनको योगदान र यस कार्यमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरुको भूमिका उर्जागार गरेको छ । पुस्तकमा तत्कालिन तेक्वान्दो सम्बन्धित दुर्लभ तस्बिर समावेश गरिएका छन् । नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने रोचक सन्दर्भबाट लेखकले यो पुस्तकको लेखन प्रारम्भ गरेका छन् । जे. के. शिनको अभिभावक्तवमा तेक्वान्दोलाई देशव्यापी रुपमा विस्तार तथा नेपालले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा गरेका उपलब्धीहरुको सचित्र वर्णनले पाठकहरुलाई तत्कालिन समयको स्मृतिमा लग्दछ । चिफ ग्रान्ड मास्टर जे. के. शिनका शिष्यहरु क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगडीयर जनरल डा. सुधासेन मल्ल, लेफ्टीनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र ईन्द्र गुरुङद्वारा आयोजित कार्यक्रममा नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडीयर जनरल डा. सुधा सेन मल्लले कार्यक्रमको सुरुवात गरेकी थिइन् । प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवंम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जे. के. शिनले गरेका योगदान अविस्मरणीय रहने बताए । ‘ओलम्पिकमा हाम्रो नेपालपछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ, तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरुको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उनले भने । विशेष अतिथि पूर्व शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर बिष्टले नेपालमा तेक्वान्दोको स्थापनाकालका रोचक प्रसँग बताउँदै उनले भने, ‘विगतमा यस खेल प्रहरी र सेनालाई तालिमका क्रममा खेलाइन्थ्यो । तर पछि यस खेलमार्फत अनुशासन पनि हुने हुनाले आम जनतालाई खेलाउन लागिएको हो ।’ उनले जे.के शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताए । त्यस्तै, नेपाल तेक्वान्दो एशोसिएसनका उपाध्यक्ष एवंम पूर्व मन्त्री किसान श्रेष्ठले यस खेलको विकासको लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे । ‘बिमोचित पुस्तकमा रहेका ऐतिहासिक तस्वीरहरुले जे के शिन फादर अफ तेकवान्दो रहेको तथ्यलाई सबैको सामु उर्जागर गरेको छ । नेपाल खेलकुद परिषदका तत्कालिन कोषाध्यक्ष विष्णु गोपाल श्रेष्ठले जे. के शिनले नै तेक्वान्दो खेलको सुरुवात मात्र नभइ, उक्त खेल विधामा छोटो समयमानै नेपाललाई अन्तर्राष्ट्रियस्तरका पदक दिलाउन सफल भएको दावी गरे । यस्तै, कार्यक्रममा बोल्दै गुरु चिफ ग्रान्ड मास्टर जे.के शिनले नेपालमा मार्सल आट्रसले जीवनलाई सँधै ताजा र जीवन्त राख्ने सन्देश दिए । उनले तत्कालिन समयमा जुनस्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो त्यसमा आएको ह्रासप्रति चिन्ता गरे । र, आफु जहिले पनि नेपालमा तेक्वान्दो खेलको विकासको लागि योगदान गर्न तत्पर रहेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, प्रशिक्षक, खेलाडी लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट चन्द्र गुरुङले कार्यक्रमको सम्पूर्ण संयोजनका लागि डा. रबि मल्ललाई बिशेष दिए ।
पर्वतमा खेल मैदानको अभाव
पर्वत। पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । ‘२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गथ्र्यो’, पूर्वफुटबल खेलाडी राजन गुरुङले भने, ‘अहिले टोलस्तरीय खेलसमेत हुन छाडिसकेको अवस्था छ । मापदण्डअनुसारको खेल मैदान नहुँदा एन्फाले दिने विभिन्न सेवासुविधाबाट फुटबल खेलाडी वञ्चितीमा पर्दै आएका छन् ।’ अहिले सशस्त्र प्रहरीको ब्यारेक रहेको ८४ रोपनीको बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबल टेनिस, तेक्वान्दो, कराँते, हाइजम्प, लङजम्प, दौडलगायत खेलका खेलाडी दिनरात खेल मैदानमा भेटिन्थे । ‘विसं २०५४ तिर हुनुपर्छ, यही बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भएको थियो, मैले गोल्ड मेडल जितेको थिएँ ।”’४५ वर्षका खेलाडी नरेश श्रेष्ठले भने, ‘अन्य जिल्ला पुग्दा पर्वतको खेलाडी भनेपछि बेग्लै सम्मानले हेर्ने गरिन्थ्यो । अहिले खेलाडी पाउनै मुस्लि देखिएको छ ।’ अर्का कराँते प्रशिक्षक तथा कराँते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले द्वन्द्वकालीन अवस्था र खेल मैदानको अभावले गर्दा पर्वत खेलकुदमा २० वर्ष पछाडि परेको बताए । ‘सदरमुकाम कुश्मा खेलाडीको केन्द्र जस्तै थियो, फरक खेलका खेलाडी जम्काभेट हुन्थ्यो’, उनले पुरानो दिन सम्झँदै भने, ‘हामीले पनि बडगाउँ खेल मैदानमा कराँते सिकेका हौँ, त्योबेला बेग्लै जोश थियो, राष्ट्रका लागि खेल्नुपर्छ भन्ने हुटहुटी थियो । पछिल्ला दिनमा खेलाडीको खेलप्रति खासै उत्साह र चासो देख्दिन ।’ सशस्त्रको छेउमै खेलकुदलाई भनेर जग्गा छुट्याइएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताए । उनका अनुसार खेलकुदलाई भनेर दिइएको जग्गा पनि विभिन्न सङ्घसंस्थाको नाममा रहेको छ । ‘हाम्रो खेल मैदान सानो र बर्खामा हिलाम्मे हुँदा खेलकुद प्रतियोगिता गर्न समस्या हुने भएकाले केही महिनाअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सशस्त्र प्रहरीको गण भित्रै सम्पन्न गर्यौँ’, अध्यक्ष गुरुङले भने, ‘जग्गा पनि हाम्रो नाममा छैन भोलि निकलेर जा भन्यो भने हट्नुपर्ने अवस्था छ ।’ पर्वतको खेल क्षेत्र सुस्ताउँदा युवा लागुऔषधको कूलततर्फ फसिरहेको स्थानीय युवा नरेन्द्र केसीले बताए । ‘कुश्माका युवा पनि लागुऔषधमा फसिरहेका छन्, उनीहरुलाई खेलकुदमा जोड्न सकिएको छैन’, उनले भने, ‘खेलकुदले नै युवालाई सही बाटो हिँड्न सघाउने भएको हुँदा अब राज्यले सशस्त्रलाई दिएको खेल मैदान फिर्ता गर्नुपर्छ । युवाले आफ्नै खेल मैदानमा खेल खेल्न पाउनुपर्छ ।’ खेल मैदानको अभावमा धेरै युवा कोठाभित्रै मोबाइलमा गेम खेलेर बस्ने अवस्था रहेको क्रिकेट खेलाडी सुरेन श्रेष्ठले बताए । उनले भने, ‘खेल मैदान त छ, तर सानो । सेभेन ए साइड फुटबल खेल्न पनि नमिल्ने खालको । क्रिकेट खेल्नका लागि छिमेकी जिल्ला बागलुङ जानुपर्छ ।’ उनले सशस्त्र बसेको खेलकुद मैदानमा आफूहरुलाई जतिबेला पनि निर्धक्कले खेल्न दिने वातावरण मिलाइदिन माग गरे । सो खेल मैदान २०६१ सालमा आफूहरुले खेलकुद विकास समितिमार्फत रु २५ लाखमा खरिद गरेको सशस्त्र प्रहरीको भनाइ छ । ‘मन्त्रिपरिषद्को निर्णय भएर जग्गा हाम्रो नाममा आएको हो’, सशस्त्र प्रहरी बल चण्डिका गण पर्वतका गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र बमले भने, ‘खेल खेल्नका लागि हामीले रोकेका छैनौँ, अनुशासित भएर खेल खेल्दा हुन्छ । विगतमा पनि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न दिएका थियौँ, रोकावट गरेका छैनौँ ।’ रासस