मेक्सिकोलाई २–० गोलले पराजित अर्जेन्टिना विजयी
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ । आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जित सुनिश्चित गरे ।
डेनमार्कलाई २–१ गोलले पराजित गर्दै फ्रान्स बिजयी
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १(१ गोलको बराबरीमा ल्याए । खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अष्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान १(१ अंक छ ।
विश्वकप फुटबलमा आज चार खेल हुँदै
एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अङ्क जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अङ्क जोडेको छ ।