उद्यमी कपिल न्यौपानेले दिए खेलकुद महासंघको उपाध्यक्षमा उम्मेदवारी
काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको उपाध्यक्षमा युवा उद्यमी कपिल न्यौपानेले उम्मेदवारी दिएका छन् । आइतबारदेखि विराटनगरमा भएको महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा न्यौपानेले उम्मेदवारी दिएका हुन् । न्यौपानेको उम्मेदवारीमा राजन सुवेदी प्रस्तावक र विकास कुमार केसी समर्थकको रुपमा रहेका छन् । जलविद्युत, घरजग्गा लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका न्यौपाने यसअघि खेलकुद महासंघको सचिवको जिम्मेवारीमा रहेका थिए । नेपालको खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउँदै अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् । महासंघको महाधिवेशनले पदाधिकारी सहित दुईसय ९९ केन्द्रीय समितिको निर्वाचित गर्ने जनाइएको छ ।
आइसिसी लिग–२ : नेपालसामु २१३ रनको चुनौती
काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २१३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो । स्कटल्याण्डको लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रनको योगदान गरेका हुन । त्यस्तै स्कटल्याण्डका अन्य खेलाडी म्याथ्यु क्रसले ४२ रनको योगदान गरे । ब्रेन्डन म्याकुलमले ३१ रन बनाउँदा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२/२२ रन जोडे । मार्क वाट्ले ८ रन बनाए भने शफ्यान शरिफले अविजित ८ रन जोडे । क्रिस ग्रेभ्ब्सले ७ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार विकेट लिए भने करण केसीले तीन विकेट झारे । त्यसैगरी ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट हात पारे । यस सिरिजमा नेपाल लगातार चौँथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेलमा नेपालले विजय हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा तीन विकेटको जित हासिल गरेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैँटौँ स्थानमा छ । त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारसहित ५० अङ्कका साथ शीर्षस्थानमा छ ।
नेपाल एपीएफ स्कुलको सेमिफाईनल यात्रा सुनिश्चित
काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुलले सैनिक आवासीय महाविद्यालयलाई १-० गोलले पराजित गरी आफ्नो सेमिफाईनलको यात्रा सुनिश्चित गरेको छ । आज भएको खेलमा नेपाल एपीएफ स्कुलको तर्फबाट डम्बर वि.क.ले १ गोल गरेका थिए । त्यसैगरी आज सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा लिटल एन्जल्स स्कुल, लतितपुरले ब्लुम नेपाल स्कुललाई ३-२ को गोल अन्तरले पराजित गर्यो । लिटल एन्जल्स स्कुलको तर्फबाट आयुष माझी, सुमन वि.क. र प्रज्जवल गुरुङ्गले १-१ गोल गरेका थिए भने ब्लुम नेपाल स्कुलको तर्फबाट राजकुमार रावलले २ गोल गरेका थिए । भाेली ९ गते हुने क्वाटर फाईनल चरणका खेलहरुमा ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ब राराहिल मेमोरियल स्कुल, कीर्तिपुर र नेपाल पुलिस स्कुल, साँगा विरुद्ब ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ खेल्ने अायाेजकले जनाएकाे छ ।