फ्रान्स विश्वकपको सेमिफाइनलमा
काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २(१ गोल अन्तरले पराजित गर्यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । रासस
विश्वकप फुटबल : रङ्गशालाको प्यारापिटमा पत्रकारको मृत्यु
एजेन्सी । प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको त्यहाँस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा रङ्गशालाको पत्रकार दिर्घामा मृत्यु भएको हो । अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको रोमञ्चक खेलको अतिरिक्त समयमा पत्रकार दिर्घामा ढलेका ग्रान्टलाई उनीसँगै बसेका पत्रकारहरूले सहयोगका लागि आह्वान गरेका थिए । आपतकालीन सेवाका कर्मचारीले तत्काल उनलाई अस्पताल पुर्याए पनि त्यसअघि नै उनको मृत्यु भएको सञ्चारर्मीलाई बताइएको थियो । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिता आयोजक समितिले पत्रकार ग्रान्टलाई तत्काल एम्बुलेन्समा हालेर हमाद जनरल अस्पताल लगिएको तथा त्यहाँ उनको आपत्कालीन उपचार गरिएको जनाउँदै उनको परिवारको इच्छाअनुसार शव फिर्ता गर्ने प्रक्रिया सुनिश्चित गर्न अमेरिकी दूतावास र सम्बन्धित स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएको छ । यद्यपि फिफाले उनको मृत्युको कारण सार्वजनिक गरेको छैन । गत बुधबार उनले ट्वीट गर्दै त्यो दिन आफ्नो ४८ औँ जन्मदिन मनाएको बताएका थिए । अमेरिकी फुटबल महासङ्घले एक विज्ञप्तिमा निकालेर मानव अधिकार प्रवद्र्धनलाई अगाडि बढाउन खेलकुद क्षेत्र शक्तिशाली हुनेमा उनी विश्वस्त रहेको बताउँदै फुटबल खेलाडी र प्रेमीका निम्ति उनी प्रेरणाका स्रोत थिए भनेको छ । उनको निधनबाट महासङ्घ निराश भएको वक्तव्यमा उल्लेख छ । ग्रान्ट आफ्नो खेलपत्रकारिता ‘करिअर’को आठौं विश्वकपको समाचार सङ्कलनमा व्यस्त थिए । अघिल्लो सोमबार उनले आफ्नो वेबसाइटमा अस्वस्थताका कारण चिकित्सकहाँ गएको लेखेका थिए । निद्रा नपुगेको र धेरै कामले तनाव भएको उल्लेख गर्दै उनले संयुक्त राज्य अमेरिका र नेदरल्याण्ड्सबीचको खेल भएको दिन आफ्नो छातीको माथिल्लो भागमा असहज भएको बताएका थिए । केही दिनअघि मात्र ग्रान्टलाई फिफा र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले लगातार आठटा विश्वकप खेलको समाचार सङ्कलन एवम् सम्प्रेषण गरेकामा सम्मान गरिएको थियो । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उनको निधनबाट विश्वभरका खेलपत्रकार मर्माहत भएका र उनको योगदान संसारले सम्झइरहने बताएका छन् । यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ग्रान्ट वाहलको मृत्युको खबरले अमेरिकी सरकार मर्माहत भएको बताउँदै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रवक्ता प्राइसले ग्रान्टको परिवारको चाहना यथाशीघ्र पूरा गर्न कतारका वरिष्ठ अधिकारीहरूसँग निकट सम्पर्कमा रहेको जनाएका छन् । पत्रकार ग्रान्टकी श्रीमती डा। सेलिन गाउन्डर न्यूयोर्क युनिभर्सिटी स्कूल अफ मेडिसिनमा अध्यापन गर्छिन । बेलेभ्यु अस्पताल केन्द्रमा चिकित्सक र सिबीएस न्युजमा पनि उनी कार्यरत छन् । उनले आफ्ना पतिको असामयिक निधनमा समवेदना एवम् सहानुभूति प्रकट गर्ने ‘फुटबल परिवार’ का साथै सबैप्रति आभार व्यक्त गर्दै आफूमाथि ठूलो बज्रपात भएको बताएकी छन् ।
धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई
नेपालगञ्ज । आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् । म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सकेन्डमा पूरा गरे । यसअघि सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए । उपाधि विजेता खड्काले एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार पुरस्कार प्राप्त गरे । यस्तै आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन् । उनी सातौँ संस्करणकी समेत च्याम्पियन हुन् । उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै ६० हजार पुरस्कार प्राप्त गरिन् । यस्तै सो म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गरिन् भने तेस्रो भएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् । दुवैजनाले क्रमशः ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरीले जानकारी दिए । हरेक वर्ष मङ्सिर पाँच गते आयोजना गरिँदै आएको म्याराथन यसवर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।