नेपाल टि–२० लिग क्रिकेट : काठमाडौंले जनकपुरलाई हरायो

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौँ नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । जनकपुरका लागि अरफुदिन असरफले सर्वाधिक ३३ रनको योगदान दिए भने सोमापाल कामीले २१ रन बनाए । त्यस्तै खड्क बोहोराले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । काठमाडौंका अभिनास बोहोरा एक्लैले चार विकेट लिए भने अजमतुल्लाह उमरजाईले दुई विकेट लिए । त्यसैगरी कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले समान एक/एक विकेट झारे । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८० रनको योगफाल बनाएको थियो । काठमाडौँका लागि सुनाम गौतमले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । त्यस्तै रायन बर्लले ६१ रन जोडे भने एलेक्स ब्लेकले २०, अजमतुल्लाह उमजाईले १० तथा लोकेश बमले सात रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए भने शरफुदिन असरफ र कप्तान ट्राभोल ग्रिफिथले समान एक/एक विकेट लिए । यससँगै पाँच खेलको काठमाडौं तीन जितसँगै छ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यसैगरी छ खेल खेलेको जनकपुर चार खेलमा जित हात पार्दै आठ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी अल स्टार छ खेलमा पाँच जित हात पार्दै १० अङ्कका साथ अङ्कताकिलाको शीर्ष स्थानमा छ । यही पुस २७ गते हुने फाइनल खेलको विजेताले ५५ लाख रुपैयाँ तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । रासस

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लव गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ । ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिष्पर्धा गराइनेछ । विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्स वुम्यानलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिन आयोजकको भनाइ छ । साथै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिनेछ । प्रतियोगितामा कुल १ करोड १३ लाख रुपैयाँ बजेट लाग्ने अनुमान आायेजकको छ । राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने सहमति भएको छ । ‘खेलकुद पर्यटन नै विकास समृद्धिको आधार’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ क्लबको आयोजनामा २२ औँ संस्करणको सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम (सुरज) गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोट्र्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता हुनेछ । आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि गरेको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताए । प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ बालकले आवासिय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् । सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अनन्तलाई सहारा क्लबले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार प्रदान गर्ने भएको छ । यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्न लागिएको क्लबले जनाएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कार प्रदान गरिने क्लबका महासचिव अधिकारीले बताए । पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ रहेको छ । गत वर्षका तुलनामा पुरस्कार राशिमा १५ हजार ५ रुपैयाँ थप गरिएको हो । यसअघि यस पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट पुरस्कृत भइसक्नुभएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा सो पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।