युएईलाई नेपालले ४२ रनले हरायो
काठमाडौं ।घरेलु टोली यूएईमाथि नेपालले ४२ रनको जित निकालेको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।
नेपालद्वारा पपुवा न्युगिनी पराजित
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक अविजित ८६ रनको योगदान दिए । उनले एक सय ३० बलमा दुई चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । त्यसैगरी सन्दीप लामिछानेले अविजित ३५ रन बनाए । कुशल मल्लले २६ बलमा २३ रन बनाए । पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई छ रनमा गुमायो । त्यस्तै भीम सार्कीले आठ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान एक र एक रन बनाए । दीपेन्द्रसिंह ऐरीले आठ रन बनाए भने कुशल मल्लले २३ रनमा बनाए । एक छेउबाट शीर्ष ब्याटरहरू एकपछि अर्को आउट हुँदै गर्दा आसिफ शेखलाई बलर सन्दीपले भरपर्दो साथ दिएका हुन् । यो जोडीले ३२ ओभरमा ७ विकेटको क्षतिमा १०७ रनको अवस्थाबाट नेपाललाई विजयी बनाएको हो । आसिफ र सन्दीपले १६ ओभरमा महत्त्वपूर्ण ७७ रन जोडे । पपुवा न्युगिनीका कप्तान असाद भाला, सेमो कमिया र सेसे बाउले समान २/२ विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल बनाएको थियो । पपुवा न्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११/११ बनाए । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट झारे । यस जितसँगै नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित छैटौँ स्थानमा छ । पपुवा न्यूगिनी ३१ खेलमा ७ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।
मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार
ब्यूनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ । मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा ‘मेस्सी १ हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन,’ भनिएको छ । रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् । मेस्सीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्टेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ । मेस्सी हाल पेरिस सेन्ट–जर्मेनबाट खेलिरहेका छन् । धेरै समय उनी विदेशमा नै बिताउँछन् । यद्यपि उनी रोजारियो पनि जाने गर्छन् । फ्युनेसको उपनगरमा उनो घर छ । फ्रान्सेली टोलीले बिहीबार बिहान मेस्सीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले पनि यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् । सान्ता फे प्रान्तका न्याय मन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएका छन् । उनले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेखेका छन् । रासस/ एपी